अन्तिम निर्णय



‘खै ! १० वर्ष पर्खिसकेँ, तपाईंबाट मेरो चाहना कहिल्यै पूरा हुन सकेन,’ बेलुका सुत्नेबेला श्रीमान्को खुट्टामा तोरीको तेलले मालिस गर्दै श्रीमती शकुन्तलाले दुःखेसो पोखिन् ।

‘खै ! मेरो भाग्य नै यस्तो हो कि ?,’ श्रीमान्ले निराश हुँदै भने, ‘मेरा सबै प्रयास असफल भए ।’

सम्पन्न परिवारका खड्गेश्वर अमात्य केही वर्षदेखि बच्चा जन्माउने कसरतमा थिए । तर, सफल हुन सकिरहेका थिएनन् । डाक्टरले श्रीमान्को शारीरिक समस्याले गर्दा बच्चा नहुने बताइसकेका थिए । तर पनि उनले प्रयास जारी राखेका थिए । ‘कतै भगवान्को कृपाले सन्तान भैहाल्छ कि’ उनले यस्तै सोच्थे ।

राजधानीमा भएको करोडौँको कारोबार, मुख्य चोकको सुविधासम्पन्न भवन र ठाउँ–ठाउँका बहुमूल्य घडेरी आफ्नो सेखापछि अर्कैले खाने देखेर उनीहरूलाई साह्रै चिन्ता लागेको थियो । ‘एउटामात्रै सन्तान भैदिए हुन्थ्यो,’ शकुन्तलाले कहिलेकाहीँ यसो भन्दै भगवान् पुकार्दा खड्गेश्वरको मन साह्रै रून्थ्यो ।

मर्नुभन्दा बौलाउनु निको भनिन्छ । कि एउटा उपाय गर्ने हो ? अन्तिम विकल्पका रूपमा श्रीमतीले एउटा उपाय मनमनै सोच्दै थिइन् । श्रीमान्लाई भनौँ कि नभनौँ भनेर उनी दोधारमा थिइन् । उनले त्यो उपाय सुनाउने साहस गर्दै थिइन् । तर, श्रीमान् रिसाउने पो हुन् कि भनेर उनलाई मनमा कताकता डर लागिरहेको थियो । उनका श्रीमान् साह्रै सोझा थिए । उनी कहिल्यै रिसाउँदैनथे ।

‘कस्तो उपाय प्रिय ?,’ श्रीमान्ले मायालु स्वरमा सोधे ।

‘रिसाउनुहुन्न होला नि ?,’ उनी सशङ्कित भइन् ।

‘भन न, म कहिले पो रिसाएको छु र,’ श्रीमान्ले भने ।

‘तल कोठा भाडामा बस्ने युवकसँग शारीरिक सम्बन्ध राखेर म गर्भवती हुन चाहन्छु । अनुमति दिनुहुन्छ ?,’ श्रीमतीले ठूलो साहस गरेर श्रीमान्लाई सुनाइन् ।

श्रीमतीको कुरा सुनेर खड्गेश्वर एकछिन भावुक भए । सन्तान नभई अपुताली हुनुभन्दा यस्तै उपाय गरेर भए पनि एक सन्तान जन्माउनैपर्छ। उनले मनमनै सोचे– श्रीमतीको उपाय एककिसिमले राम्रै हो ।

‘शकुन्तला, सन्तानसुख चाहनाको बाधक मै हुँ । मेरै कारणले तिम्रो र मेरो सन्तानको चाहना अधुरै छ,’ उनले भने, ‘ठिकै छ, तिम्रो चाहना त्यस्तो छ भने उनलाई आफ्नो मुठ्ठीमा ल्याएर मेरो र आफ्नो सन्तानको चाहना पूरा गरिदेऊ । म स्वीकार्न तयार छु ।’
श्रीमान्को क्रान्तिकारी निर्णय सुनेर उनी मख्ख परिन् ।

एक दिन उनको व्यवसायको सिलसिलामा पोखरा जाने काम पर्यो । ‘भाइ म कामविशेषले हप्ता दिनका लागि पोखरा जाँदै छु, मेरो घर र परिवारको राम्रो रेखदेख गर्नुहोला है,’ कोठाभाडामा बस्ने युवकलाई खड्गेश्वरले सुनाए ।
‘हवस हजुर,’ युवकले भन्यो ।

हप्ता दिनको पोखरा बसाइ पूरा गरेर उनी काठमाडौँ फर्किए ।

घर फर्कंदा उनको घरको मेनगेटमा ताल्चा झुन्डिएको थियो । श्रीमतीलाई फोन गरे । फोन स्वीचअफ थियो । ताल्चा फुटाएर भित्र पसे । ढोकानेर एउटा कागजको टुक्रा ढुङ्गाले थिचिएको देखे । उनले कागजको टुक्रा उठाएर पढे । श्रीमतीले चिठ्ठी लेखेर छाडेकी रहिछन् ।
‘जिन्दगीमा सम्पत्तिमात्रै ठूलो कुरा होइन रहेछ, तपाईंबाट मैले कहिल्यै शारीरिक सन्तुष्टि र सन्तान पाउन सकिनँ । त्यसैले कोठाभाडामा बस्ने युवकसँगै बिहे गर्ने अन्तिम निर्णय गरेँ,’ चिठ्ठीको अन्त्यमा लेखिएको थियो, ‘नामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी कमारी भएर बस्नु बेस ।’

प्रतिक्रिया दिनुहोस्