नागा विस्थापित गर्ने त्यो ढुंगा



टेम्के मैयुङ गाउँपालिका ३ र ४ नम्बर वडा । भोजपुरको अन्नपूर्ण र नागीको सिमाना ।  उहिलेको पहाडी राजमार्ग ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै काठमाडौं जोडिने मूलबाटोमै बानदुप्खा लु अर्थात् (आरान ढुंगा) रहेको छ ।

सयौं वर्षअघि (हाल : माझकिरातको भोजपुर दिल्पा, अन्नपूर्ण क्षेत्र) मा नागाको बसोवास थियो । थोरै भएकाले नागाले खनजोत गर्ने जग्गा–जमिन पनि थोरै । अन्य सबै वन–जंगल । हिजोआज राई भनिएका छाङ्छा थरका किरात सिकारी अरुण हुँदै पिखुवाखोलाको किनारैकिनार सिकार खेल्दै त्यहाँ पुगे । त्यहाँको प्राकृतिक सौन्दर्यबाट मोहित भए । लामो समय त्यहीं अल्मलिए । रहँदै, बस्दै जाँदा नागासँग उसको सम्बन्ध विस्तार भयो । त्यहाँको प्राकृतिक सौन्दर्यबाट लठ्ठ भएर अल्मलिएका सिकारीलाई नागाले एक दिन सोधखोज गरे । नागाले सोधखोज गर्दा सिकारीले सही जवाफ दिए । त्यसपछि नागाले सिकारीलाई भने, ‘तिमी सिकारी रहेछौ । सिकार खेल्दै कति ठाउँ पुगिसक्यौ होला । तर पनि तिमीलाई यो ठाउँ साह्रै मन परेछ । के तिमी यहीं बस्छौ त ? बस्छौ भने तिमीलाई खेतीयोग्य जग्गा–जमिन र गाई, भैंसी दिन्छौं ।’ नागाको यो प्रस्ताव सिकारीले स्वीकारेपछि त्यहीं बस्न थाले ।

सुरवीर, पौरखी र चतुर भएका कारण रहँदै, बस्दै जाँदा सिकारीले नागाभन्दा धेरै अन्न उत्पादन गर्न थाले । गाई, भैंसी धेरै बनाए । उनको कामबाट नागा रुष्ट भई दुःख दिने थाले । त्यसपछि दुई पक्षबीच झगडा हुन थाल्यो ।

‘हेर, हामी दिनहुँ झगडा गरेर हुँदैन । मलाई तिमीहरूले नै यहाँ बस्न दियौ । यहाँ जे–जति गरेको छु, आफ्नै पौरखले गरेको हुँ । तर, त्यो तिमीहरूले सहेनौं,’ लामो समयसम्म झगडा भइरहेपछि एक दिन जुक्ति निकाल्दै सिकारीले नागालाई प्रस्ताव राखे, ‘अब एउटा बाजी राखौं । त्यो बाजीमा म हारें भने यो ठाउँ छाड्छु । तिमीहरू हार्यौ भने यो ठाउँ छाडेर अन्तै जानू ।’

सिकारीको सर्त नागाले मन्जुर गरे । सर्तबमोजिम भोलिपल्ट तोकिएको ठाउँमा (१) गोरु जुधाउने, (२) भाले जुधाउने र (३) लिङ्गो (योङ्वी) मालिङ्गोजस्तै बाँस हल्लाएर पानी झार्ने बाजी राखे । तीनवटै बाजीमा जो हार्छ, उसले गाउँ छाड्ने पक्कापक्की भयो ।

नागाले भएभरका गोरुमध्ये सबैभन्दा जुझारु र बलियो गोरु र भाले तयार गरे । सिकारीले आफ्नो गोरुको सिङमा रातभरि फलामको सिङ बनाएर लगाइदिए । भालेको चुच्चो र छरीमा पनि । बाजी खेल्ने पक्का गरिएको ठाउँमा राति नै लिङ्गो (योङ्वी) को टुप्पोमा सानो प्वाल बनाएर पानी हालेर गाडे ।

सर्तबमोजिम भोलिपल्ट भेला भए । बाजी खेल सुरु भयो । गोरु र भाले जुधाउँदा स्वाभाविक रूपले नागाको गोरु र भाले हार्यो । लिङ्गो हल्लाउँदा पानी झरेन । नागाको पालो सकिएपछि सिकारीले जतिपल्ट लिंगो हल्लायो उतिपटक पानी झरेछ । यसरी तीनवटै खेलमा बाजी हारेपछि समेत नागाले चित्त बुझाएनन् । त्यसपछि अर्को खेलको सर्त राखे । नागाको सर्त मन्जुर गर्दै सिकारीले भनेछन्, ‘ल तिमीहरूले बाजी हार्दा पनि चित्त बुझाएनौ, अब भोलि बिहान यसै ठाउँमा यो धरती कुटेर हेरौं । तिमीहरूको धरती हो भने धरती माता तिमीहरूकै पक्षमा बोल्छिन् । मेरो हो भने मेरै पक्षमा बोल्छिन् ।’ सर्त मन्जुर भयो । सिकारीले राति नै चपरी खनेर वाराङ्केवा (लाँचे चरा) पुरेर राखे । सर्तबमोजिम भोलिपल्ट भुइँ कुट्दा नागाको पालोमा धरती माता बोलिनन् भने सिकारीले भुइँ कुट्दा वाराङ्केवा करायो । निर्णायक बाजीमा पनि हारेपछि दिल्पाबाट नागा विस्थापित भए ।

बाजी खेल्दा गोरुको सिङ, भालेको चुच्चो र छरीमा लगाइदिएको फलामको सिङ, चुच्चो र छरी बनाउन प्रयोग गरिएको आरान ढुंगा त्यही हो भनेर स्थानीय वयोवृद्धहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्