यसकार चन्द्रकला देखिन्छ चन्द्रमामा



चन्द्रमाले पृथ्वीलाई घुम्न २९ दिन लगाउँछ । यसरी घुम्दा पृथ्वीबाट चन्द्रमा कहिले पूर्ण गोलाकार देखिन्छ भने कहिले देखिँदै देखिँदैन । धेरैको धारणा छ– पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रकला देखिनुका कारण हो । पृथ्वीको छायाँका कारण चन्द्र ग्रहण त हुन्छ तर यसले चन्द्रकला देखिनुमा कुनै भूमिका खेल्दैन ।

चन्द्रमा सूर्यको किरणका कारण चम्किने गर्छ भन्ने कुरा त हामी सबैलाई थाहा भएकै हो । यसको आफ्नो छुट्टै प्रकाश हुँदैन । र, के कुरा पनि सत्य हो भने ग्रहणको समयबाहेक सूर्यको प्रकाश चन्द्रमाको आधा भागमा जहिल्यै परिरहेकै हुन्छ । पृथ्वीमा जस्तै चन्द्रमामा पनि आधा भागमा दिन र आधा भागमा रात हुन्छ । यसको मतलब आधा भाग चम्किलो र आधा भाग अँध्यारो हुन्छ ।

आधा भाग जहिल्यै चम्किलो हुन्छ भने हामी चन्द्रमा पूर्ण गोलाकार जहिले पनि किन देख्दैनौं त ? त्यसको एउटा कारण पृथ्वीले सूर्यलाई, चन्द्रमाले पृथ्वीलाई सँगसँगै घुम्नु हो भने अर्को कारण चन्द्रमाले पृथ्वीलाई घुम्ने बाटो (चन्द्र कक्ष)को सतहले पृथ्वीले सूर्यलाई घुम्ने बाटो (पृथ्वी कक्ष)को सतह एउटै नहुनु हो । चन्द्र कक्ष पृथ्वी कक्षसँग नखप्टिई ती दुई सतहबीच कोण बनेको हुन्छ । तसर्थ, चन्द्रमाको चम्किलो सतह पूर्ण रूपमा सधैं पृथ्वीतिर फर्कंदैन । जुनबेला जति भाग पृथ्वीतिर फर्केको हुन्छ त्यतिबेला त्यति नै अंश चन्द्रमा पृथ्वीबाट देखिन्छ । पृथ्वीजस्तै चन्द्रमा पनि गोलाकार भएकाले चम्किलो भाग देखिँदा त्यसको आकार दुवै छेउमा वृत्तांशका रूपमा देखिन्छ । दिनैपिच्छे आकारमा परिवर्तन हुने भएकाले प्रत्येक १५/१५ दिनको अन्तरमा क्रमशः परिवर्तित हुँदै गरेका चन्द्राकारको शृंखला देखिन्छ । यसैलाई चन्द्रकला भन्ने गरिएको हो ।

औंसीको दिन वा रातमा चन्द्रमाको चम्किलो पूरै भाग पृथ्वीबाट विमुख भएको हुन्छ । अर्थात् पृथ्वीतिर चन्द्रमाको अँध्यारो सतहमात्र फर्केको हुन्छ । त्यसैले औंसीको दिन तथा रात दुवैमा चन्द्रमा देखिँदैन । औंसीको भोलिपल्टदेखि भने चन्द्रमाको चम्किलो केही भाग देखिने भएकाले आकाशमा त्यसको आकार हँसियाजस्तै देखिन्छ । औंसीको दिनमा चन्द्रमा पृथ्वी र सूर्यको बीचमा पर्न आएको हुन्छ । त्यतिखेर सूर्यसँगसँगै चन्द्रमा रहने भएकोले औंसीको भोलिपल्ट देखिने हँसिया आकारको चन्द्रमा सूर्य अस्ताउने समयमा पश्चिम आकाशमा देखिन्छ ।

त्यसपछि प्रत्येक दिन अलि–अलि गरी चन्द्रमाको आकार बढ्दै जानुका साथै चन्द्रमा र सूर्यको दूरी पनि क्रमशः बढ्दै जान्छ । पूर्णिमाको दिन चन्द्रमाको आकार पूरै गोलाकार देखिन्छ र सूर्यास्तसँगसँगै उदाउँछ ।

प्रतिक्रिया दिनुहोस्