सोनाम सज्जन किरातीका चार कविता


सोनाम सज्जन किराती

१. म्याडम

कोही म्याडम कुकुर्नी
कोही म्याडम डक्टर्नी
कोही म्याडम मास्टर्नी
कोही म्याडम नोकर्नी
तर हाम्रो देश
नोकर्नीलाई भन्दा प्यारो
कुकुर्नीलाई मान्छ

किनभने कुकुर्नी म्याडम
भक्कु भुक्छ
प्रेमले रुक्छ
अनि कुकुरजनहरूमाझ
लोकप्रिय बन्छ
शालीन भएर मुस्कान दिन्छ
सायद यसमै त
मख्ख भएर उसकै मायामा देश अल्झिन्छ

कुकुर्नी म्याडम
खोल्सामा भेटिन्छ
दोबाटो, चौबाटामा देखिन्छ
उनीसँग लुकामारी गर्न खप्पीस
समुदाय एक भीड बनेर
कुकुर्नी म्याडमको पुच्छर पछि
नाक चढाउँछ

र, मानिसको मृत्युमा रम्छिन्
कुकुर्नी म्याडम
आफू अमरकृतजस्तै ठानेर
यसर्थ कुकुर्नी म्यामहरूदेखि होसियार
डक्टर्नी, मास्टर्नी म्याभन्दा
नोकर्नी म्याडमप्रति उच्च सम्मान छ
किनभने ऊ महान् मिहिनेतकी खानी
अस्तित्वको मालिक हुन् ।

२. उत्तानो सर, म्याम

घोप्टिनुको त
धेरै अनर्थ लाग्छ
त्यसो त
ठिकै छ त
उत्तानो सर, म्याम
त्यो पनि
माइतीघर सडक छोपेर

डोकोमा दूध थापेर
अडिँदैन सर, म्याम
अब आन्दोलन त्यस्तै बनाउनेछन्
तर ढुक्क हुनूस्
डोको लिनूस्
र, दुहुना थप्नूस्

यसो हरियोपरियो घाँस बोकेर
ल्याउन खुवाउन मिल्छ
र, सिकाउनूस्
दूध धुनेरीमा दुहिन्छ भनेर
त्यो डोको बाँड्ने
पाजी सरकारलाई
सरकार बाँड्न जान्दैन
सर, म्याम अब साबित हुनूस्
उत्तानोको अर्थ लाचार सरकारलाई
सडकमै पल्टाएर बुझाइदिनूस्
सडक घोप्टियो भने
तिम्रो पद उत्तानो रहिरहँदैन भनेर ।

३. किन हल्लाको
हल्लाको छ
हल्लाको
कति हल्लाको ए माओवादी
प्रधानमन्त्री पाएर
नौ रेक्टर माथि गएर अब नहल्लाऊ

किनभने भ्रष्टाचारको पृथ्वी त
ध्वस्त हुन्छ
फेरि पलाउन सक्दैन
उनको श्रीमती गर्भवती छ, तुहिन सक्छ
ए माओवादी विचार गर

बरु तान
तिनको कठालो समातेर
न हल्लिन्छ
न ध्वस्त हुन्छ
संविधानकै पटुकाले
फेदको घाँटीमा बाँध
र, झुन्ड्याऊ कालो झ्यालखानाभित्र

कम्तीमा अरूलाई
कहिल्यै डिस्टर्ब हुँदैन ।

४. उज्यालो
उज्यालोसँग टक्राइरहने
रातले पनि बिर्सन्छ
हिजोको हिसाब
जो घाउ बोकेर उसको घमण्ड
दिनहरूलाई छाडिरहेकै हुन्छ
तिमीलाई के थाहा उज्यालो त झन्
अर्कोतिर रातलाई रातमै रम्न दिएर
अर्को पाटामा मात्र सीमित
त्यो चोट चानचुने छैन

रात बल्दैन
उज्यालो एकपाटो पुग्दा
अर्को पक्षमा अँध्यारो उभिन्छ
बिस्तारै फेरि उज्यालो घुम्दै पुग्छ
र, रातको राज एक दिनलाई उखेलिन्छ

छिन्दै उन्दै रात आफूलाई
रातकै रूपमा जीवित राख्छ
जीवित रहनुमै ऊ गर्व गर्छ
सायद
त्यसैले त रात अन्धकार भएर एकछत्र
उज्यालोको पुच्छर भएर आइरहन्छ
उज्यालो स्थानान्तरणपश्चात्

जब उज्यालोको अवशेषमा सूर्य डौडन्छ
तब अन्धकारले गाँजेको प्रकृति
आफूलाई देख्न, रमाउन
काफी ठान्छ अँध्यारोविरुद्ध
अनि उज्यालो तापमानकै आडमा
अनेक ऊर्जा लिन्छ

सायद त्यसकै परिणती हुन
जीवकोष अनेक विज्ञान
समाजको चरणबद्ध विकास
र, सफल कृषियुग
यसरी नै जीवित रहन्छ

अन्धकारमात्रै थियो भने
अनेक विनाश
खप्नुपर्थ्यो प्रकृतिले
कोषहरू समाप्त हुन्थ्यो
विनाशको सिकार भएर
यसर्थ त उज्यालोको जरुरत छ

उज्यालो अन्धकारको शत्रुमात्रै होइन
सम्भावनाको जननी पनि हुन्
जब जन्म उज्यालोले लिएर आउँछ
मृत्यु अन्धकारले पिउँछ
यसकारण
उज्यालो अँध्यारो
आ–आफ्नो कित्तामा उभिन्छन्

सायद अँध्यारो नपिए
उज्यालो बाँच्दैन
उज्यालोले अध्यारो नउधारे प्रकृति चल्दैन
सायद गर्भ पनि अँध्यारैमा हुन्छ
र मृत्यु पनि अँध्यारैमा विलीन हुन्छ
यसर्थ, उज्यालो उपभोगका निम्ति मात्र रहेछ ।

प्रतिक्रिया दिनुहोस्