मलाई पातमा बेरेर
धुवाँ उडाउदै
भित्रदेखि बाहिरसम्म सल्काउने
बूढी आमाहरूको
माया लाग्छ
किनभने छोरी बुहारीहरू
सहरिया छन्
छोराज्वाईंहरू विदेश छन्
जम्मै नातिनातिना पढ्न बाहिरै जान्छन्
तसर्थ मलाई पातमा बेरेर
धुवाँ उडाउँदै
भित्रदेखि बाहिरसम्म सल्काउने
झुलो, चकमकको माया लाग्छ
जब म चकमकको
उद्योग खोल्न खोज्छु
सरकार
दर्छिन् ढुंगामा कर लगाउन थाल्छ
जब म सियोको कारखानामा लगानी गर्न खोज्छु
सरकार सोधपुछको नाममा
मलाई धरपकड गर्छ
अनि कहाँको उद्योग चल्नु
कारखाना त देश
युवकयुवतीलाई बेचेर
रेमिटेन्स भित्र्याउने बनिरहेछ
यसर्थ, मलाई कागजमा बेरेर
धुवाँ उडाउँदै
भित्रदेखि बाहिरसम्म
सल्काउने लाइटरहरूको माया लाग्छ
मेरो देश जम्मै थोकमा
विदेशीको निर्भर छ
मेरो देश निर्यातमा भन्दा
आयातमा रम्छ
मेरो देशको इन्धन निःशुल्क बगिरहेछ
सम्पदा रोइरहेछ
चोरी सिकारीबाट बच्न जनावर
र, उनै आयातीत आयातनले मेरो देश बेरिएको छ
यसकारण
मलाई पातमा बेरेर
धुवाँ उडाउँदै
भित्रदेखि बाहिरसम्म
सल्काएर बल्ने बाआमाको माया लाग्छ
उनै छोरा कमाएर फर्कन्छ
उनै ज्वाईं डाक्टर भएर आउँछ
जसको कमाई र ओखती छ
त्यसले मलाई केही गर्न सक्दैन
किनभने मुटु, कलेजो, फोक्सो इत्यादि त
मसँगै उडेर छुट्टिसकेका हुन्छन्
र, म डाक्टरको उपचारले लट्ठिएर
रोगको नाममा बेहोश भैदिन्छु
यही कुरा थाहा पाएर
नातिनातिनाहरू ‘नो स्मकिङ’ भन्छन्
र, मलाई कहिल्यै बारीमा रोप्ने छैनन्
यसैले त परनिर्भरतामा उभिरहेछ
बाँझो खेतबारी
र, अब फुटाऊ भष्मे–खोरियाको योवन
अनि कपासहरू छरेर
ऊन, खाँडी र मखमलको वस्त्र
र, बस्तीमै हुर्काऊ स्वदेशी अर्थतन्त्रको रुख
तब त म
कसैलाई पनि माया गरेर
बाँचिरहनुपर्ने छैन ।