खुवालुङ तरेपछि



लोभ, पाप, धर्मविहीन चकमन्न धर्तीमा
निर्वस्त्र, निर्लज्ज सृष्टि भएकी नारी
रिनिक्क वैंशको रागले मस्त
थामिनसक्नुको कामुकी आवेग सहँदै
झट्ट धर्ती, आकाश नियाल्छिन्
धर्तीको नग्नतामा रमिते आकाश देख्छिन्
अचानक क्षितिजमा आँखा पुग्दा
चुम्दै चिटपोट आसनमा
धर्तीको लाज आकाशले ढाकेको
हेर्दाहेर्दै पूर्वबाट सूर्य उदाउँछ
सूर्यका किरण जन्मद्वारमै खेल्दा
चरम सुखले आमा बन्न योग्य हुन्छिन्
अनि जन्मिन्छ सूर्यवंशी
तर नीतिमा नियत मिसिएपछि
विज्ञानमा तल नपरेका सूर्य
राष्ट्रिय झन्डामा ‘अर्धचन्द्र’मुनि अंकित छ
धर्मशास्त्र, इतिहासको पाना पल्टाउँदा
मातृसृजित युग सूर्यवंशीको भस्मेमा
भाले बास्न थाल्यो, शासन चल्न थाल्यो
प्राकृतिक धर्म हराए
भावनाको भगवान्, धर्मशास्त्र बने
कैयौं श्लोकमा विभेदका पर्खाल उठे
थरीथरीका संस्कार संस्कृति बनिरहे
सृष्टि युगमा स्त्रीलाई जगत् जननी भन्थे
कालन्तरमा कला साहित्य कोरिए
चित्रमा कला उतार्दा
विष्णुको गोडा लक्ष्मीले मिचेको बनाइयो
कोर्न थाले होच्याउने साहित्य
लेखे ! हाँस्न्या महिला वेश्या हुँदै छन्
यस्तै लिंगीय दमनको साहित्य बीज
झाँगिएर सतीप्रथा भोग्नपर्यो
यसरी नै जगत्का माता चरणका दासी बने
अनि भन्न थाले पोथी बासे राम्रो हुँदैन
बासिहाले मुन्टो चुँडाई धुरी कटाउनु ।
जान्नेहरू जान्ने नै हुँदारहेछन्
कालखण्डमा धेरै पाके खिचडी
लिंगीय हेपाई भोग्दाभोग्दै बने
जातपात, छुवाछूतको कानुनी ठेली
गाडिएका व्यवहारका जरा उखेल्न
शास्त्रीय कानुनको पर्खाल भत्काउन
सांस्कृतिक क्रान्ति हो, योगमायाको जलसमाधि
हो, भिन्न युगमा भिन्न क्रान्ति भए पटक–पटक
काँक्रोलाई थाँक्रो लगायो थाँक्रै धनी
युग आफैं बदलियो कि ! मान्छेले बदले ?
पक्कै पनि मान्छेले नै बदले
मज्जाको नीति फेरियो व्यवहार फेरिएन
खुवालुङको पानी बगेर सकियो
तर हाम्रो समस्या बग्दै बगेनन् ।

प्रतिक्रिया दिनुहोस्