संसारकै तेस्रो पुरानो घडीमुनि उभिँदा



म चढेको रेल ‘प्राहा ह्लाभ्नी नादराजी’ रेल स्टेसनमा रोकियो । यो प्राग, चेक गणतन्त्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय रेल स्टेसन हो । मैले होटल प्राग वानको पुरानो टाउनमा अग्रिम बुकिङ गरिसकेको थिएँ । यो पर्यटकीय क्षेत्र एकदम व्यस्त हुने भएकाले होटल पाउन कठिन हुन्छ । अग्रिम मोलतोल गरेर ट्याक्सी मिलाएँ । अनि समयमै होटल पुगेर ‘चेक इन’ गरें । एकजना आधबैंसे महिला रिसेप्सनिस्ट रहिछन् । तिनले मलाई दुईप्रकारको पर्यटकीय स्थल र भूमिगत रेलको स्थानीय नक्सा उपलब्ध गराइन् । साथै भोलि बिहानको ब्रेकफास्टको समयमात्र नभएर, बेलुकी कुन स्थानमा कुन प्रकारको रेस्टुरेन्टमा खाना खाने भनेर ठाउँ पनि बताइदिइन् ।

मैले अस्ति इन्डियन खाना खान नपाएको झोंकमा आज पनि इन्डियन खाने निर्णय गरिसकेको थिएँ । होटलनजिकै इन्डियन रेस्टुरेन्टमा खाना खाएर रात्रिकालीन रमिता हेरेर रमाइलो मानें । बाटोको दायाँबायाँ थुप्रै भट्टी पसल, क्लब र डान्स बार देखिए । भोलि शुक्रबारदेखि सप्ताहान्त मनाउन आउने थुप्रै पर्यटकको बाक्लो उपस्थिति हुन थालेको थियो । मलाई जाँड, रक्सी नचल्ने भएकाले आज पनि रमितामात्रै हेरें । बाटोमा बत्तीको प्रकाश र अलि–अलि मातेकी अग्ली–अग्ली अनि पातली चेक महिला हलिउडका नायिकाभन्दा कम देखिन्नथे । ‘स्टाग डु’ मनाउन आएको बेलायती नायकहरू भने बाटोभरि होहल्ला गर्दै ‘पब क्रावल’ गर्दै थिए । म जाबो लुरुलुरु बाटोको कुनाकुना भएर होटलमा थपक्क आएर सुतें । समय त्यस्तै रातको ११ बजे हुँदो हो ।

भोलि बिहानको खाजा खाइसकेपछि भने म प्राग नजर लगाउन निस्कें । भिटभा नदीकिनारमा अवस्थित प्राग, चेक गणतन्त्रको राजधानीमात्र नभएर, बोहिमियाको पनि एक जमानामा राजधानी थियो । यहाँको जनसंख्या लगभग १२ लाखजति छ । यदि कुनै चेकवासी अहिले एक सय वर्ष बाँचेको छ भने ऊ पाँच देशको नागरिक भएर बाँचिरहेको छ– बोहिमियन, चेकोस्लाभाकियान, जर्मनी, पोलिस अनि अहिले चेक गणतन्त्र ।

होटलनजिकै रहेको ओल्ड टावन स्क्यारमा पर्यटक एकाबिहानै खचाखच भरिएका थिए । म पनि स्क्यारनजिबै रहेको एस्ट्रोनोमिकल घडी हेर्न पुगिसकेको थिएँ । यो घडी सन् १४१० मा राखिएको थियो । यो संसारको तेस्रो पुरानो एस्ट्रोनोमिकल घडी हो । यस घडीले सूर्य अनि चन्द्रमाको मात्र नभएर अन्य ग्रह एवं नक्षत्रको वर्तमान अवस्था पत्ता लगाउन सजिलो पार्छ ।

एस्ट्रोनोमिकल घडीको दर्शनपछि म ‘चाल्र्स ब्रिज’ तर्फ बढें । भिटभा नदीमा सन् १३५७ देखि राजा चाल्र्स चौथोले पुल लगाउन सुरु गरेको भए पनि यो झन्डै पन्ध्रौं शताब्दीको सुरुतिर मात्र समाप्त गरिएको थियो । यो ऐतिहासिक पुललाई ढुंगेपुल, प्रागपुल हुँदै सन् १८७० बाट मात्रै ‘चाल्र्स ब्रिज’ भन्न थालिएको थियो । १० मिटर चौडाइ अनि ६२१ मिटर लम्बाइ भएको यस पुलबाट बिस्तारै पारि प्राग क्यास्चल (दरबार) तर्फ लागें ।

सन् ८७० बाट निर्माण गर्न सुरु प्राग क्यास्चल दसौं शताब्दीको मध्यतिर मात्रै पूरा गरिएको थियो । गिनिजबुकको तथ्यांकअनुसार प्राचीन समयमा निर्माण गरिएको यो क्यास्चल संसारकै ठूलो हो । यहाँ अहिले चेक गणतन्त्रका राष्ट्रपति विराजमान छन् । १५ मार्च १९३९ को दिन नाजी जर्मनीले तत्कालीन चेक राष्ट्रपति एमिल हछालाई लखेटेर अडोल्फ हिटलरले यही दरबारमा एकरात बिताएका थिए । प्राग दरबारबाट देखिने सहरको सुन्दर दृश्य जोकोही पर्यटकले पनि भुल्न सक्दैनन् । दरबारछेउको दोकानमा कफीको चुस्की लगाउँदै दुई घन्टा समय बिताएको पत्तै पाइनँ ।

प्राग दरबारको यात्रापछि होटल फर्किएँ । यात्रा क्रमशः बर्लिन, जर्मनीतिर थियो । बर्लिन घुमिसकेको थिएँ । तर, धेरै समय भएको थियो । अचानक छोरोले फोन गरेर सप्ताहान्त मनाउन ओस्टासयरबाट लिभरपुल आउने जानकारी गराए । छोरोसँग भेट नभएको लगभग दुई महिना भइसकेको थियो । मैले यात्रा अन्त्य गर्ने निर्णय गरें । हतार–हतार प्रागबाट लिभरपुल या म्यानचेस्टर जाने जहाजको टिकट खोजें । असफल प्रयासपछि भने म बर्मिङ्घमका लागि चार बजेको टिकट मिलाएँ । अनि सिधै ट्याक्सी लिएर भाक्लब हवेल अन्तर्राष्ट्रिय विमानस्थल प्राग हुँइकिएँ ।

समयमा एयरपोर्ट पुगेर ‘चेक इन’ गरें । अध्यागमन पासपछि चेक एयरको जहाजमा चढेर प्रागलाई बिदा गरें । प्राग विमानस्थलबाट दुई घन्टाको जहाज यात्रा लगभग सकिनै आँटेको थियो । म बर्मिङ्घममा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदै थिएँ, जहाज १२ हजार फिट माथि बर्मिङ्घमको आकाशमा एयर ट्राफिक कन्ट्रोलले होल्ड गराइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्