दिक्तेल (खोटाङ) । भवनगैरा । अर्थात् सदरमुकामभित्रको मुकाम । यो आफैंमा विचित्रको ठाउँ हो । खोटाङ सदरमुकाम दिक्तेलमा रहेको भवनगैरा जिल्ला प्रशासन कार्यालय नजिकै पश्चिमपट्टि रहेको छ । भवनगैरानजिक जिल्ला समन्वय समिति, दिक्तेल रूपाकोट मझुवागढी नगर कार्यपालिकाको कार्यालय, मालपोत, जिल्ला शिक्षा समन्वय, जिल्ला कृषि विकास कार्यालयलगायत छन् ।
त्यतिबेला जिल्लाको पश्चिम र पूर्वबाट दिक्तेल पुग्न १४ देखि १९ कोससम्म पैदल हिँड्नुपथ्र्यो । उल्लिखित ठाउँबाट व्यक्तिगत वा संस्थागत कामका लागि दिक्तेल पुग्दा भवनगैरामा असाध्यै होसियारीसाथ कागजात मिलाउनुपथ्र्यो । नत्र १४ को साटो २८ र १९ को ३८ कोष हिँडाइमा परिन्थ्यो ।
सदरमुकाम पुगेका जोकोहीले झन्झट भोग्न नपरोस् भनेर तात्कालिक नेकपा माओवादीले सरकारी कामकाजका निम्ति केही नयाँ विधि स्थापित गरेको थियो । त्यसमध्ये सहज तरिकाबाट नागरिकता लिन सकिने विधिबारे धेरै सेवाग्राही जानकार छन् । हिजोआज पनि बुवाको नामबाट नागरिकता लिनुपर्छ । तर, बुवाको अनुपस्थितिमा सनाखत अनिवार्य छ ।
संवत् २०६३ देखि संविधान जारी नभइन्जेल जिल्लाका विभिन्न राजनीतिक दलसम्बद्ध नेताले टाढा–टाढाबाट जिल्ला प्रशासन कार्यालय पुगेका नयाँ तथा पुराना नागरिकता लिन चाहने सेवाग्राहीलाई तीन दलसम्बद्ध प्रतिनिधिले मैले चिनेको÷जानेको व्यक्ति हुन् भनी हस्ताक्षर गरिदिएपछि सिडिओ कार्यालयले सेवाग्राहीलाई नागरिकता सहजै नागरिकता दिने व्यवस्था गरेको थियोे । कतिपय दलका नेताहरू भने नागरिकताको काम लिएर जिप्रका पुगेका सेवाग्राहीलाई पुरानो भत्किएको स्मारकमुनि बसेर सोधी–सोधी सनाखत गरिदिन्थे ।
त्यो त भयो नागरिकताको प्रसंग । त्यसबाहेक थुप्रै काम लिएर दिक्तेल पुगेका सेवाग्राहीलाई भवनगैराले तर्साएको हुनुपर्छ । भवनगैराले लोभीपापीलाई उँभो लगाउन छाडेको छैन । भवनगैरा टेक्ने दिक्तेल बजारका जोकोहीको प्रगति कहाँबाट कहाँ पुगिहाल्छ । भवनगैराले उनीहरूलाई धेरै कुरा दिएको छ । भवनगैराले धेरैलाई कतिपयलाई काठमाडौं, ललितपुर र भक्तपुरमा जग्गा जोड्न सघाएको छ ।
उल्लिखित ठाउँमा टोपी खस्ने महल बनाउन सक्षम बनाएको छ । भवनगैराबाट आश्रित पंक्तिकारका कतिपय साथीभाइले काठमाडौं उपत्यकामा घर तथा महल बनाई राजधानीका स्थायी बासिन्दा भइसकेका छन् । साथीहरूले लोभलाग्दो प्रगति गर्दा पंक्तिकार दुई छाकको जोहो गर्न इँटा बोक्छन्, फलामका डन्डी मर्काउँछन्, मार्बल तथा टायल काट्छन् ।
तर, कामविशेषले जिल्लाका विभिन्न ठाउँबाट दिक्तेल पुगेपछि कर्मचारीमात्रै होइनन्, सेवाग्राहीका सेवामा समर्पित हुँ भन्ने भवनगैराले विभिन्न शीर्षकमा चिया, खाजा र अन्य शुभलाभको ‘अफर’ गर्छन् । त्यतिमात्रै होइन, दिने र लिनेबीच सहमति भएपछि टेबलमुनि कारोबार गर्न कुनै आइतबार कुर्नै पर्दैन । माछाले पानी र कर्मचारीले घुस कति बेला खान्छन्, भेउ पाउन कठिन हुन्छ । त्यहाँका व्यवसायी फस्टाउन जिप्रका र आसपासका कार्यालय पुगेकालाई सहयोग गर्दा चिया, खाजा र खाना खर्चमात्रै होइन, अन्य शुभलाभ गर्न पछि पर्दैनन् ।
यद्यपि भवनगैराआसपास पंक्तिकारले १४ वटा वर्ष हिउँद, बर्खा बिताए । सात वर्ष दिक्तेल रहँदा उसले धेर–थोर दिक्क बनाएकै थियो । मलाई दिक्तेल बसेर हलेसी, गाईघाट (उदयपुर), धरान (सुनसरी, विराटनगर (मोरङ) र काठमाडौं, ललितपुर र भक्तपुरमा वा घरघडेरी जोड्नु थिएन । उल्लिखित ठाउँको घरधनी बन्ने इन्द्रेणी सपना देखिनँ ।