कविता : उज्यालोको पतन



हरेक निर्देशन
मलाई कोठे लाग्न थालेको छ अचेल
म हो कि ऊ अचेत
माथि बसेर
जो पनि
दौरासुरुवाल भिर्छ
र तमासाको भीरमा लगेर
जनतादेखि सडक
सिंहदरबारदेखि शीतलनिवासको
सेता भित्ताहरू सम्मले
जनताको हार लेखिसकेको छ

हो, यसर्थ म
हरेक निर्देशन
झुटा गन्तव्यहीन लागेको छ

हाम्रो सर्वहारा चिन्तन मरिसकेको छ
हाम्रो प्रजातान्त्रिक अभ्यास
रुखमै झुन्डिएर मृत छ
राजतन्त्र त गाईको पिसाबमा बगेर
काशीमा डुबुल्किँदै छ
यस्ता बेथिति बोक्ने प्रणेताहरूले
के प्रणाली दिन्छन्
के राजनीति सफा गर्छन्
बागमतीलाई स्वच्छ बनाउन नसक्ने पाजी नेतृत्व

तिमीले नै होइन
टाउकाको मूल्य तोकेर
जनताको खुसी उमार्छु भनेको
तिमीले नै होइन
आतंककारी भनेर
आफ्नै वंश मासेको
के पाए जनताले
जनवाद दिन्छु भन्नेबाट

अहिले समृद्धि समाजवादको कर्कस स्वर
तिनै नामर्द नेताहरूवाट सुनिन्छ
के दिन्छौ
प्रजातन्त्र सर्वहाराहरूको भविष्य
भत्किँदै गएको पहिरोबाहेक

अब रोकेर नरोकिने गरी
भत्किरहेछ
तिम्रा क्रान्तिका चर्खा
म उत्पादन गरौंला कपास
र बुनौंला खाँडीको कपडा भनेर
बसिरहेको थिएँ
वैभव सबै असम्भव भएको छ

यसर्थ तिम्रा कोठे निर्देशन
धिक्कार छ
बेकार छ

होइन भने
चल्लाजस्तै बढ्दै जानुपर्छ नि त
रेलजस्तै गन्तव्य पुग्नुपर्छ नि त
प्रकाशजस्तै एकढिक्का उज्यालो
बाँड्नुपर्छ नि त
आफूसँग भएको स्रोत फैलाउनुपर्छ नि त

र, सबै–सबैलाई अटाउने
यो गोलाद्र्र्धमा समानताको घर
बनाउनुपर्छ नि त
अनि पो तिमीलाई अनिवार्य
लिडर मान्छ
तिम्रो नीतिको खातिर
जस्तै भुँइचालो पनि थामिदिनेछ ।

प्रतिक्रिया दिनुहोस्