नेपाली सेनाले बिर्सन नहुने बाजा माझवाल बाँसुरी


माझवाल बाँसुरी काठमाडौं उपत्यकाको पाँचवटै सहरमा प्रचलित छ । खयर जातको काठलाई भित्रबाट राम्रोसँग बराबर पारेर खोक्रो पारिन्छ । पहिलो प्वाल जहाँबाट ओठ राखेर फुकिन्छ, त्यहाँबाट आठ अमलमा औंला राख्ने पहिलो प्वाल पारिन्छ । पहिलो प्वालबाट आठ अमलमा ६ वटा प्वाल खोपिन्छ ।

माझवाल बाँसुरी पहिले दुई कप्टेरा बनाएर भित्री भागलाई बराबर खोपिन्थ्यो । यसलाई स्वर बाँसुरी पनि भनिन्छ । काठको बाँसुरीमा कतै–कतै चाँदी तथा पित्तलका पाताले बेरेर सुन्दर र कलात्मक बनाइन्छ । साना–सानो चाँदीका टीका तथा काठकै सानु बुट्टे मुन्द्री घन्टी पनि राखिन्छ । यसबाट शुद्ध स्वर निकाल्न सकिन्छ । उपत्यकाका चाडबाडमा यो बाजा अनिवार्य मानिन्छ ।

टिप बाँसुरी १६ वटा सतिसालको काठबाट बनाइन्छ । कतै–कतै सिपालु कालीगढले निगालोबाट पनि बनाएको पाइन्छ । फुक्दा वा बजाउँदा ज्यादै मीठो स्वर आउने यो बाँसुरी ज्यादै तीखो बज्छ । लिच्छविकालदेखि नै विभिन्न देवदेवीको रथयात्रामा यसलाई बजाइन्छ ।

हिजोआज पनि शार्दूलजंग गुल्मले काठमाडौंको तमाम देवदेवीको रथयात्रा र जात्रामा यो बाँसुरी बजाउने गरे पनि यो शुभसाइत निकाली कटान गरिएको सतिसालबाट बनेको नभई निगालो या बाकसबाट बनेको मात्रै प्रयोग भइरहेकाले यसको प्रतिस्थापन गर्नु जरुरी देखिन्छ ।

प्रस्तुति : रामप्रसाद कँडेल

प्रतिक्रिया दिनुहोस्