विनायक : तस्बिरमा काठमाडौं उपत्यकाका चार विनायक


काठमाडौं उपत्यकामा चार विनायक प्रसिद्ध छन् । चार विनायकमा सूर्यविनायक, चन्द्रविनायक, जलविनायक र कार्यविनायक पर्छन् ।

सूर्यविनायक भक्तपुरमा पर्छ भने चन्द्रविनायक र जलविनायक काठमाडौंमा पर्छन् । चन्द्रविनायक चाबहिल र जलविनायक कीर्तिपुरको चोभारमा रहेको छ । कार्यविनायकचाहिँ बुङ्मती ललितपुरमा पर्छ ।

सनातन धर्मअन्तर्गतका मांगलिक कार्यमा सर्वप्रथम पूजा–आराधना गर्ने चलन छ । विघ्ननाशक र सिद्धिदाताका रूपमा गणेशको पूजा–आराधना गरिन्छ । स्वस्थानी व्रतकथामा शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले माघको मंगलबार गरेको गणेशको आराधनाबाट सन्तान, श्रीसम्पत्ति प्राप्त गरेको उल्लेख छ ।

विभिन्न पुराणमा पनि माघको मंगलबार गरिने गणेश आराधनाको महत्व बताइएको छ । यसैकारण यसबेला प्रत्येक गणेश मन्दिरमा भक्तजनको घुइँचो लाग्छ । माघमा दुबो, तिलको लड्डुलगायतका पदार्थ चढाएर गणेशको आराधना गर्नाले मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ ।

काठमाडौं उपत्यकामा रहेका चार विनायकमा माघमा मेला लाग्छ । भक्तपुरमा रहेको सूर्यविनायक, काठमाडौंको चाबहिलमा रहेको चन्द्रविनायक, काठमाडौंको चोभारस्थित जलविनायक र ललितपुरको बुङ्मतीमा रहेको कार्यविनायकमा भव्य मेला लाग्छ । माघमा पर्ने मंगलबार एक–एक विनायकको दर्शन गर्ने वा एकैदिन चारै विनायकको दर्शन गर्ने पनि चलन छ ।

सूर्यविनायक
सूर्यविनायक
सूर्यविनायक
सूर्यविनायक

‘चन्द्रविनायक पशुपतिनाथको छोरा’

काठमाडौं उपत्यकाका चार विनायकमध्येको चावहिलस्थित चन्द्रविनायक मन्दिरलाई चावहिल गणेशसमेत भनिन्छ ।

बालबालिकालाई केही भएमा चन्द्रविनायकको दर्शन एवं पूजा गराएमा ठीक हुन्छ भन्ने विश्वास छ । घाउ खटिरा एवं चर्मरोग हुनेले चन्द्रविनायकका पूजा–आराधना र दर्शन गरेमा ठीक हुने धार्मिक आस्थाले हजारौं भक्तजन मन्दिर पुग्ने गर्छन् । प्रत्येक साता मंगलबार र शनिबार मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चाहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाइन्छ ।

नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले जात्रा सुरु गराएको विश्वास गरिन्छ । जात्राको पहिलो दिन ‘मलजा नकेगु’ अर्थात् कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाउने परम्परा छ । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा भन्ने धार्मिक मान्यतासमेत छ ।

कार्तिक शुक्ल पूर्णिमाका बेलुकी मन्दिर परिसरमा धुनी जगाउने विधिसमेत गरिनेछ । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ । मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन बिहान श्री चन्द्रविनायकको खट उठाइन्छ । जात्राको दोस्रो दिन गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, भटमास, सखरखण्ड, पिँडालु, लड्डु, पेडा र लावा चढाइन्छ । चढाइएका चीज प्रसादका रूपमा बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिन्छ ।

यसैगरी दोस्रो दिन श्री चन्द्रविनायकको रथलाई मन्दिर वरपर घुमाई गंगाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुवै खटलाई बेलुकी चारुमती विहारमा लगेर बिसाइन्छ । मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराएर त्यहींदेखि चुच्चेपाटीसम्मका मूल चोकहरूमा घुमाउने जात्रा विधि छ । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रूपमा वितरण गरिन्छ ।

मार्ग शीर्ष कृष्ण तृतीयाका दिन बिहान अमालकोट कचहरीका द्वारेले श्री चन्द्रविनायकलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । चारदिने जात्रा सफलतापूर्वक समापन भएको खुसियालीमा तृतीयाका दिन दिनभर चावहिल क्षेत्रमा सिन्दुर जात्रा गरिन्छ ।

चन्द्रविनायक
चन्द्रविनायक
चन्द्रविनायक
चन्द्रविनायक
जलविनायक
जलविनायक
जलविनायक
कार्यविनायक
कार्यविनायक
कार्यविनायक
कार्यविनायक
कार्यविनायक

प्रतिक्रिया दिनुहोस्