समयको परिवर्तनसँगै नेपाली समाज पनि फेरिँदै छ । आधुनिकताको नाममा धर्म, संस्कृति, परम्परागत चालचलन र रीतिरिवाज हराउँदै गएका छन् । त्यसको प्रत्यक्ष असर जनसंख्याको हिसाबले तेस्रो अनि आदिवासी जनजातिमध्ये ठूलो जातिमा पर्ने मगर समुदायमा पनि परेको छ । मगरका भाषा, संस्कृति, रहनसहन र संस्कारजन्य क्रियाकलापमा कमी आउँदै छन् । पहिचान बोकेका तिनै भाषा र धर्म, संस्कृति लोप हुँदै जानु दुःखद कुरा हो । नेपाली समाजका विविधता, इतिहास, पहिचान र पछाडि परेका क्षेत्र र वर्गका आवाजलाई स्थान दिनु आमसञ्चार जगत्को कर्तव्य पनि हो । तर, आवाजविहीनहरूको आवाज उठाउने नेपाली सञ्चार क्षेत्र मगरलगायत समग्र आदिवासी जनजाति र पछाडि पारिएकाहरूको पहुँचमा छैन ।
मूलधारका मिडियाहरूमा हाम्रो उपस्थिति छैन । नगन्य रूपमा केही व्यक्ति रहे पनि उनीहरू निर्णायक तहमाभन्दा आदेश मान्नुपर्ने स्थानमा मात्रै छन् । जसले गर्दा ती पत्रिका, टीभी र रेडियोहरूमा मगरलगायत आदिवासी जनजातिका मुद्दा उठाउन, हाम्रा कार्यक्रमका समाचार छाप्ने, देखाउने र भन्ने अवस्था छैन । केही गरी पत्रिकामा हाम्रा कुरा आए पनि कार्यक्रममा उठेका गहन विषयवस्तु, बोलेका भाषण आउँदैन, आउँछ त मात्रै हाम्रा चेलीबेटी नाचेका तस्बिरमात्रै । जनजाति पत्रकारले अधिकारको कुरा उठाइहाले जातिवादी पत्रकारको बिल्ला भिराएर सञ्चारगृहबाटै निष्कासन गर्ने अवस्था छ । त्यसैले सञ्चार क्षेत्रमा हाम्रा आवाज आएनन् भनेर चिन्ता गर्नुभन्दा अब आफ्नै पहुँचमा मिडिया चलाउनुपर्छ ।
भूमिपुत्र आदिवासी जनजातिभित्र पर्ने मगरहरू आज पनि दोस्रो दर्जाको नागरिक हुनुपरेको छ । हरेक परिवर्तनका लागि आन्दोलनको अग्रपंक्तिमा रहेर बलिदानी दिए पनि उपलब्धि प्राप्तिपछि जस लिने ठाउँबाट वञ्चित हुनुपरेको छ । अहिले पनि सरकारले मगरको जनसंख्या धेरै रहेका भू–भागलाई टुक्र्याएर संघीय प्रदेश निर्माण गरेको छ । मगर बसोवास क्षेत्रलाई चिरा पारेर मगर एकता, भाषा, संस्कृति र रहनसहनलाई गुमनाम पार्ने दुष्प्रयास गरेको छ । यस्तोबेला सबै मगरहरूलाई सचेत र सजक बनाउँदै आफ्ना हक–अधिकारलाई सुनिश्चित पार्न र मगरात क्षेत्रको संरक्षणका लागि राजनीतिक दल र नेताहरूलाई पनि घचघच्याउन पनि आमसञ्चारको साथ आवश्यक छ । मगर बाहुल्य क्षेत्रलाई विभाजित गर्दा कुनै पनि निर्वाचनमा मगरलाई अल्पमतमा पार्ने र माथि उठ्न नदिने प्रपन्चबाट सचेत गराउन पनि मिडिया आवश्यक छ । हामीभित्रका कुसंस्कार र कुरीति हटाउँदै राम्रो पक्षको वकालत गर्न पनि सञ्चार क्षेत्र रोज्नैपर्छ ।
अधिकारबाट वञ्चित हँुदा, विभेद र अन्यायमा पर्दा मिडियाको साथ आवश्यक छ । तर, पहुँचमै मिडिया नभएपछि कसरी सहयोग पाइन्छ ? मगर पछि पर्नुका कारण, माथि उठ्ने उपायलगायत शिक्षाको महत्व दर्शाउन पनि स्थानीयतहमै रेडियो, पत्रिका र टेलिभिजन चाहिन्छ । लोकसेवामा भर्ना हुने उपाय, खुल्ने समय, तयारी गर्नुपर्ने विषयसँगै सेना प्रहरीमा छानिने तौरतरिकालगायतका बारेमा मगरलगायत आदिवासी जनजाति युवाहरूमा सचेतता जगाउनु छ । व्यवसायमा हात हालेका, समाजसेवी, राजनीतिक दलमा लागेका हाम्रा मान्छेलाई प्रोत्साहन गर्न पनि मिडिया आवश्यक छ । हामीलाई थाहा छ, हार्नेको होइन, जित्नेको मात्रै इतिहास लेखिन्छ । हरेक क्षेत्रमा जालझेल गरेर हराइएका मगरहरूको कहीं कतै योगदान र बहादुरीको उल्लेख गरिएको छैन । संसार थर्काउने मगरहरू आज आफ्नै देशमा अल्मलिनुपरेको छ, हराउनुपरेको छ । त्यसैले इतिहासको रक्षा, बलिदानीको उपलब्धि, भावी पुस्ताको भविष्य र पहिचान र अधिकारको रक्षाका लागि पनि हामीले मडियामा लगानी गर्नुपर्छ ।