सन् १९६५ सालमा हाइस्कुल पास गरेर भर्ती भएँ । ब्रिटिस आर्मीमा ३७ वर्ष नोकरी गरें । मलायका लाहुरे भन्थे– त्यतिबेला लाहुरबाट आएका आफन्तहरू शानका साथ हिँड्थे । उनीहरूको ठाँट नै बेग्लै । उनीहरूलाई देखेर भर्खरका युवालाई पनि भर्ती जाने इच्छा लाग्थ्यो । भर्खर १६ पुगेको थिएँ । प्रयास गरेको पहिलोपटकमै भर्ती भएँ । सानो छँदा भोटेकुकुरको छाउरोजस्तो भक्क परेको थिएँ ।
३७ वर्षे नोकरीको दौरान (ट्रेनिङ इन्स्ट्रक्टर) गुरूजी भएर काम गर्दा थुप्रै देशको भ्रमण गरियो । विश्वको उत्तरी क्षेत्र (ग्रीनल्यान्ड) मात्र पुगिएन । त्यसबाहेक जापान, कोरिया, अमेरिका, क्यानडा, युरोपलगायत विश्वका ५८ देश पुगियो । ‘सेलेक्टेड आर्मी’हरू मात्रै ती ठाउँमा जान पाउँथे । दुःख पनि डरलाग्दै हुन्थ्यो । कुनै ठाउँबारे सुनिएकोमात्र हुन्छ तर केही कुरा थाहा हुँदैन । अचानक त्यस्तो ठाउँमा जानुपर्दा त्यहाँको भूगोल र वातावरण थाहा होस् भनेर गुरूजीहरूलाई तालिममा पठाइन्छ ।
नौलो देशको भूगोलमा गएर जंगलमै हराउने, जंगली जनावरको आक्रमणमा पर्न सक्ने खतरा सामना गर्नुपथ्र्यो । त्यस्ता धेरै खतरा सामना गर्नुपर्यो । तीमध्ये, सेन्ट्रल अमेरिकामा हुँदा मेक्सिकोनजिक पर्ने ग्वाटेमालाकोे बोर्डरमा हराएँ । मध्यरातमा जंगलबीचमा एक्लै थिएँ । कीरा कराइरहेका थिए । खानु पिउनु केही छैन । जिन्दगी अब यति नै रहेछ भनेर माया मारेको थिएँ । अन्तिम क्षण (ढल्नेबेला) सम्म साहससाथ हिँडिरहें । बिहान भएपछि मात्र साथीहरूसँगको सम्पर्कमा पुग्न सफल भएँ । रातभरि हिलो, काँडा र लहरामा हिँडें । हात सद्दे थिएनन् । मान्छेले अन्तिम समयसम्म पनि हिम्मत हार्नुहुँदैन, आशा मार्नुहुँदैन ।
‘ट्रेनिङ सेट’ गर्न खटिएको थिएँ । त्यसमा खानु पिउनु कम र ‘फिजिकल एक्सरसाइज’ बढी गर्नुपर्ने हुन्थ्यो । त्यसो गर्दा त्यस्तो हालतमा पुगेको थिएँ । यो सन् १९८४ को घटना हो । जतिबेला म अफिसर भइसकेको थिएँ । ग्वाटेमालामाको सात महिना बोर्डर ड्युटीमा जाँदा त्यस्तो घटना घटेको थियो ।
त्यस्तै घटना साउथ एसियन प्यासिफिक आइल्यान्डमा पनि घट्यो । म त्यतिबेला सिपाही थिएँ । त्यहाँचाहिँ फरक–फरकखालको तालिम गर्नुपर्ने पथ्र्याे । एक ठाउँमा एउटा तालिम, अर्काे ठाउँमा अर्कै तालिम । समुद्रको घटनाको हो, त्यो । फिजी आइल्यान्डको टापु, जहाँ दोस्रो विश्वयुद्धक्रममा छोडिएका गोर्खालीसमेत बसोबास गर्दारहेछन् । फिजीहरूले पहिले मान्छे खान्थे रे । तिनीहरू हेर्दै डरलाग्दा हुन्छन् । उनीहरू नरिवल र माछामात्रै खाएर बस्थे । समुद्रकिनार ब्यारियार (छालबाट बनेको बालुवाको अग्लो डिल) छेउमा थियौं । म र मेजर तिलकसिं लिम्बू थियौं ।
सबैभन्दा ठूलो ब्यारियर अस्ट्रेलियामा छ । दोस्रो ठूलो ब्यारियर फिजीमा पर्छ । त्यहाँको समुद्रको पानी यति सफा हुन्छ कि, हजारौं मिटर गहिराइको वस्तु छ्याङ्ङै देखिन्थ्यो । हामी चस्मा लगाएर पानीमा टाउको डुबाएर समुद्र सतहका माछा, कीरा र वनस्पति हेर्दै थियौं । पहिले घुँडाघुँडा भएको पानी कतिबेला बढेर माथि कहाँ पुगिसकेछ पत्तै पाइएन । डुंगामा रहेका हब्सीहरूले वार्निङ दिँदै थिए । तर, वास्ता गरिएन । जमिन कहाँ छ, कहाँ ? पानीले छोपिसक्यो । हामी अत्तालिएर ह्वाई कि ह्वाई भन्थ्यौं, कसैले सुनेनन् । खोलामा गीत गाएजस्तो मात्रै भयो । दुई/तीन मिटर पर रनसिं लिम्बूको बोट रहेछ । कराउँदाकराउँदा गरेर उनी बल्लबल्ल हामीकहाँ आइपुगे । नत्र हाम्रो पानीमै चिलिम हुनु लागेको थियो । १२ घन्टामा एकपटक समुद्रको पानी धेरै माथि उछालिएर आउँछ । पुनः १२ घन्टामा भासिएर जान्छ ।
सन् १९७४ मा साइप्रसमा सात महिना बसियो । त्यहाँ पनि धन्नले बाँचियो । टर्कीले हमला गरेर साइप्रस ध्वस्त बनाएको थियो । ब्रिटिसको उपनिवेश साइप्रसलाई बचाएर राख्नुपथ्र्याे । टर्कीले समुद्रमुनि पड्काएको बमले हामी सुतेको बिस्तारासमेत हल्लाउँथ्यो । यसैगरी, ६ महिना बिताइयो । त्योभन्दा अघि सन् १९६७ मा चीनले हङकङमाथि आक्रमण गर्यो। जतिबेला म भर्खर भर्ती भएर चीन गएको थिएँ । चीनमा माओ त्से तुङको बिगबिगी थियो । चाइनिज सेना र हामी आमनेसामुने भएर बस्नुपथ्र्यो । त्यसबेला पनि मुस्किलले बाँचियो ।
(मेजर विश्वनाथ राई जीवित रहँदा पत्रकार युवराज राईले गरेको कुराकानीको सम्पादित अंश ।) –सम्पादक