पिल्मो राईहरू भ्रममा नपरौं, अरूले पनि यथार्थ स्वीकारौं


नेपालका राई जातिभित्रको एउटा अलग्गै वंश हो– पिल्मो (पिल्मोङ) राई । यद्यपि, पिल्मो राईबारे केही अस्पष्टता पनि बाँकी छन् । त्यही कारणले ’पिल्मो भनेको नाछिरिङको हाँगो हो’ भनिदियो भने नाछिरिङ बन्न पुग्छन् । ’पिल्मो त कुलुङको हाँगो हो’ भनिदियो भने होमा हो जोडेर कुलुङ बन्न पुग्छन् । वास्तवमा पिल्मो कसैको हाँगो हो कि कुलुङ र नाछिरिङ राईजस्तै धेरै पाछा (थर) मिलेर बनेको छुट्टै समुदाय हो ?

पिल्मो राई पनि धेरै पाछामा विभाजित समुदाय हो । कुलुङ, नाछिरिङ र पिल्मो समुदायमा देखिएको सांस्कृतिक भिन्नताले पिल्मोहरू समानान्तर समुदाय हुन् भन्ने देखिएको छ । पिल्मो समुदायको आफ्नै थर छन् । र, दुवै समुदायभन्दा फरक इतिहास र भूगोल पनि छ ।

ऐतिहासिक प्रमाण अभावमा पिल्मो समुदायमध्ये कोही कुलुङ र कोही नाछिरिङ बन्नु ठीक होइन । बाँचे एकै डाँडा र मरे एकै खाडल भनेझैं इतिहासको आधारमा नाछिरिङ बन्नु परे पनि, कुलुङ बन्नु परे पनि वा पृथक् बस्नुपरे पनि सम्पूर्ण पिल्मो समुदाय एकढिक्का हुनुपर्छ । यो गम्भीर रूपमा सोच्नुपर्ने विषय हो । कसैले कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने कि आफ्नो कान छाम्ने हो ? त्यसकारण नाछिरिङ वा कुलुङतर्फ ढल्कनुभन्दा पहिले पिल्मोले आफ्नो इतिहास के हो भन्ने अध्ययन गर्न आवश्यक छ ।

कसैले पिल्मो भनेको नाछिरिङको हाँगो हो भनेर हल्ला फिँजाएको भरमा अन्धाधुन्ध नाछिरिङसँग जोडिन खोजिरहेको देखिन्छ भने कसैले पिल्मो भनेको कुलुङको शाखा हो भनेका आधारमा आँखा चिम्लेर कुलुङसँग जोडिन प्रयत्नशील रहेको देखिन्छ । तर, ऐतिहासिक प्रमाण खोज्ने अग्रसरता भने कमैले देखाइरहेका छन् । ऐतिहासिक अज्ञानताले पिल्मो समुदायमा यो परिस्थिति सिर्जना गरेको देखिन्छ ।

पिल्मो समुदायको इतिहासको मूल स्रोत मुन्दुम हो । मुन्दुममा उल्लिखित मार्गदर्शनभन्दा बाहिर जानु भनेको आफ्नो इतिहासलाई माटोले पुर्नु हो । अब मुन्दुममा उल्लिखित ऐतिहासिक तथ्यलाई व्यापक प्रचार–प्रसारमा ल्याउन राष्ट्रिय, अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर यथार्थ छर्लंग बनाउनुपर्ने बेला भएको छ ।

लेख तथा पुस्तकले भन्छ– अलग–अलग हुन्– पिल्मो, कुलुङ र नाछिरिङ

त्यसो त पिल्मो राई जातिको विषयमा विस्तृत अध्ययन गरिएको पुस्तकको पनि अभाव रहेको छ । केही अध्येताले पिल्मो राईसम्बन्धी छिटपुट लेख प्रकाशित भएको देखिन्छ–

एक

डा. बीबी लोवात्ती पिल्मो राईको ’पिल्मो जाति’ शीर्षकमा एउटा लेख ’तुवाचुङ डटकम’मा (२०७८ असोज ३१) मा प्रकाशित भएको छ । लेखमा पिल्मो समुदायको छुट्टै उद्गम भूगोल, संस्कृति र जाति विकाससम्बन्धी इतिहास रहेको उल्लेख छ ।

दुई

तिलकशङ्खर कुलुङको ’किराँत कुलुङ (राईको) वंशावली तथा संस्कार–संस्कृति’ (संवत् २०४९) पुस्तकअनुसार कुलुङको चेली खप्दुछेमसँग पिल्मो पुर्खा छाम्पानामले प्रेमविवाह गरेको उल्लेख छ । यसबाट कुलुङ र पिल्मो एउटै वंश नभएको पुष्टि हुन्छ ।

तीन

त्यस्तै, रत्नबहादुर कुलुङ राईद्वारा लिखित ’किराँत कुलुङ वंशावली कथा’ (संवत् २०५९) मा पनि पिल्मोलाई कुलुङको भान्जो भनिएको छ । यसले पिल्मोहरू कुलुङको हाँगो नभएको पुष्टि गर्छ ।

चार

अमेरिकी नागरिक चाल्र्स माइक डुगालको पुस्तक ’द कुलुङ्गे’मा पनि कुलुङ, पिल्मोङ, सोताङ र नाम्लुङ समुदायको आ–आफ्नो भौगोलिक सीमा भएको उल्लेख गरिएको छ । यसले पनि पिल्मोलाई कुलुङ र नाछिरिङको पहिचानसँग जोडिएको देखाउँदैन ।

जनसंख्याले भन्छ– अलग–अलग हुन्– पिल्मो र नाछिरिङ

केही प्रकाशित वंशावलीबारे पनि छलफल गरौं । भूपध्वज थोमरोसद्वारा सम्पादित ‘कुलुङ वंशावली–२०५४’ र ‘सोताङ–कुलुङ वंशावली–२०६४’ अनुसार नाछिरिङ पुर्खाको काइँला छोरा खप्दुलु भए । खप्दुलुका सन्तान पिल्मो भएको उल्लेख छ ।

त्यस्तै, टंकबहादुर राईद्वारा सम्पादित ’पारुहाङ’ पत्रिकामा प्रकाशित हस्तधन कुबितीको भनाइअनुसार नाछिरिङको काइँला छोरा खप्दुलु थिए । खप्दुलुका सन्तान पिल्मो हुन पुग्यो ।

यसैगरी, पारानिवासी राजमान नाछिरिङको भनाइअनुसार नाछिरिङको सन्तान जेठा थुक्सु (राखावासी), माइला रचो (बाङ्देलवासी), साइँला खेवाबु (पारावासी) र कान्छा राताप्खु (सोत्तोवासी) रहेका छन् । खेवाबुको छोरा रामलै भए । रामलैका साइँलो छोरा खप्दुलु हो । खप्दुलुका सन्तान पिल्मो हो ।

उल्लिखित वंशावली तथा राजमान नाछिरिङको भनाइ कति तथ्यमा आधारित छ ? यो अध्ययनको विषय हो । किनभने नाछिरिङ वंशावलीमा पिल्मोका तीन दाजुको बसोपासस्थान राखा, पारा र बाङ्देल उल्लेख छ । छुट्टिएपश्चात् तीन दाजुको बसोवास खोटाङमा भएको देखिन्छ भने भाइको बसोवास सोलुखुम्बुमा भएको देखिन्छ ।

खोटाङमा बसोवास गर्ने तीन भाइको सन्तान नाछिरिङ र सोलुखुम्बुमा बसोवास गर्ने एक भाइको सन्तान पिल्मो हुन पुगेको देखिन्छ ।

किरात राई समुदायमा वैवाहिक कर्म गर्दा जेठा वा जेठीबाट सुरुवात गरेर कान्छा र कान्छीको पालोमा टुंग्याउने संस्कृति अद्यावधि कायम रहेको पाइन्छ । कान्छो भाइको छोराछोरी जन्मिँदा दाजुहरूको नातिनातिना भइसकेको हुन्छ । कतिपय भतिजाभतिजी काकाभन्दा उमेरमा जेठो भएको पाइन्छ । त्यसैले अगाडि विवाह हुनेको जनसंख्या धेरै र पछाडि विवाह हुनेको स्वाभाविक रूपमा थोरै हुन्छ । त्यस हिसाबले खोटाङका नाछिरिङको सन्तान पिल्मोको भन्दा निकै धेरै हुनुपर्ने हो । तर, त्यस्तो देखिँदैन । बरु खोटाङमा बसोवास गर्ने तीन भाइको सन्तान र सोलुखुम्बुमा बसोवास गर्ने एक भाइको सन्तानको जनसंख्या भने लगभग बराबरी देखिएको छ । जनसंख्याको यो बनावटले पिल्मो राईहरू नाछिरिङको साइँला भाइ नभएकै देखाउँछ ।

संस्कृति र सम्बन्धले देखाउँछ– अलग–अलग हुन्– पिल्मो र नाछिरिङ

अहिलेको अवस्था हेर्दा पनि पिल्मो र नाछिरिङबीचको सम्बन्ध अन्य राईभन्दा निकट रहेको छैन । बरु पिल्मोको अरू राईहरूसँग जस्तो जति दूरीको सम्बन्ध छ, त्यस्तैमात्रै रहेको देखिन्छ । उनीहरू एउटै वंशका थिए भने त स्वाभाविक रूपमा उनीहरूबीच अरू राईहरूको भन्दा नजिकको सम्बन्ध हुन्थ्यो ।

त्यस्तै पिल्मो र नाछिरिङबीच मातृभाषामा संवाद गर्दा बुझाबुझ हुँदैन । एकै वंशका भए त एउटै भाषा बोल्नुपर्ने हो ! नाछिरिङ, सोताङ र पिल्मोले पुज्ने कुलदेवताको नाम पनि फरक रहेको पाइन्छ । कतिपय कुलदेवताको नाम फरक नभए पनि पुज्ने तरिका र फलाक्ने शैली फरक रहेको छ । पूजामा पुकार गरिने ठाउँको नाम फरक हुन्छ ।

परिचयका हिसाबले पनि नाछिरिङ, सोताङ र पिल्मोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा नाछिरिङ भनेर होइन, अलग–अलग राई जातिका रूपमा चिन्छन् ।

सोताङले मान्ने संस्कार संस्कृति राताप्खुले सृष्टि गरेको मानिन्छ । खप्दुलुले सृष्टि गरेको संस्कृतिलाई छाम्पानामले परिमार्जन गरेर प्रयोगमा ल्याएको पिल्मो समुदायमा विश्वास रहेको पाइन्छ ।

आजको यथार्थ स्वीकार गरौं !

यी कारणले गर्दा सोताङ र पिल्मोले नाछिरिङमा एकीकृत हुन सम्भावना देखिँदैन । नाछिरिङमा एकीकृत भएर बस्दा कसको भाषाको व्याकरण प्रयोग गर्ने ? आफ्नो त्यागेर अर्काको भाषा र संस्कृति अवलम्बन गर्न कोही तयार हुन्छ कि हुँदैन ? परम्परागत रूपमा प्रचलनमा रहेको संस्कार संस्कृति एकीकरण गर्न समाजका सांस्कृतिक अभ्यासकर्ता तयार हुन सम्भव देखिँदैन ।

फेरि समाजले परम्परागत अभ्यासलाई चटक्कै त्याग्नु कठिन हुन्छ । अर्को कुरा, एकीकरण गरिएको संस्कृति कृत्रिम हुन्छ । कृत्रिम संस्कृतिमा कसको मन रमाउला र ?

त्यस्तो अवस्थामा एकीकरण गरिएको संस्कृति बालुवामा पानी हालेसरह हुन्छ । त्यसकारण पिल्मो, सोताङ र नाछिरिङ तीन समुदायले युगौंयुगदेखि आ–आफ्नो भूगोलबाट संरक्षण गर्दै ल्याएको भाषा र संस्कृति आज जस्तो अवस्थामा चलिरहेको छ, त्यही अवस्थालाई संरक्षण गरेर जीवन्त राख्नु व्यावहारिक हुन्छ । त्यसो गर्दा तीनै समुदायलाई आफ्नोपनको महसुस हुन्छ ।

अन्तिममा यति भन्नैपर्छ– इतिहासमा जे–जे भए पनि अहिले पिल्मो, सोताङ र नाछिरिङ छुट्टाछुट्टै जातिका रूपमा विकास भएका छन् । यो यथार्थ स्वीकार गर्नु नै सबैभन्दा उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्