भोजपुरको साबिक कटुन्जे होम्तोक गाउँमा याङ्कोप्मा बोब्बी नामको एकजना किराती बस्थे । उसका छोरा सुच्चा, मेखु, राभेना र बोम्सी गरी चारजना थिए । जेठो सुच्चासँग अजम्बरी दैवीशक्ति थियो । सुच्चा धर्मात्मा, ज्ञानी र वैद्य क्षमता भएको व्यक्ति थियो । एकदिन ऊ सिकार खेल्न वैकुण्ठेगाउँको चिलाउनेटारतिर गएको थियो । उसलाई प्यास लाग्यो । वरिपरि पानी खोज्यो तर कतै पानी नपाएपछि उसले आफ्नो धनुवाणले भुइँमा हानी पानी निकालेर पियो । घर फिर्कंदा ‘यो पानी मेरो दाजुभाइले नखानू’ भनेको थियो ।
सुच्चाले इच्छा गरेबमोजिम सबै काम पूरा हुने भएकाले उसका भाइहरूमा डाहा, ईष्र्या हुनु स्वाभाविकै थियो । समय बित्दै जाँदा सुच्चाले आध्यात्मिक बाटो लागेर योगी जीवन धारण गर्यो र नागछाँगा रहेको आसपासकै ओडारमा बस्न थाल्यो । दाइ ओडारमै बस्न गएको भए पनि भाइहरूको मनमा पाप पलायो र सुच्चालाई मार्नुपर्छ भनेर बाँसका भाला तयार पारे । त्यो भालाले सुच्चालाई हान्न थाले । सुच्चा म¥यो भनेर उनीहरू फर्किए तर सुच्चासँग दैवीशक्ति भएकाले ऊ मरेनन्, उसको प्राण गएन । यस घटनापछि सुच्चा चोङचेप्खा बारीमा आएर बस्न थाल्यो ।
सुच्चाकी जहान गर्भवती थिइन् । उनी माइती गएकी थिइन् । उनले घर छोड्ने बेला सुच्चाले भनेका थिए, ‘हाम्रो बच्चा राम्ररी जोगाउनू र हुर्काउनू ।’ सुच्चाकी जहान पनि चलाख थिइन् । उनले छोरा जन्माइन् । छोरा जन्माएपछि काकाहरूले मार्ने भएकाले छोरीकै जस्तो कपडा लगाइदिएर कपाल पनि पाल्न लगाइदिएका थिए रे ।
चोङचेप्खामा बसेको सुच्चालाई भाइहरूले सुख दिएनन् । एक दिन राभेना र वोम्सीले सुच्चालाई मार्ने सल्लाह गरे । दाइलाई रक्सीमा विष मिलाएर मार्ने योजनार मेखुलाई पनि बताए । त्यसपछि उनीहरूले रक्सी बोकेर दाइ सुच्चालाई भेट्न गए । सुच्चालाई रक्सी अगाडि राखिदिए । उसले पनि केही नसोची रक्सी खान थाल्यो । विष मिसाएको रक्सी भएर एकछिन पछि सुच्चालाई मात लाग्न थाल्यो ।
भाइहरूले त्यही बेला उसलाई प्रहार गर्न थाले । सुच्चा ओरालो भाग्यो । भाइहरूले लखेट्दै जाँदा दाइलाई बेहेरखोलाछेउमा बाङ्गे रूखको फेदमा ढाले । तर पनि सुच्चा मरेन । जति प्रहार गर्दा पनि नमरेपछि भाइहरू हैरान भए । सुच्चाले भाइहरूलाई सोध्यो, ‘मलाई किन मार्न खोजिरहेका छौ ?’ अजम्बरी शक्ति भएकाले त्यसनिम्ति तिमीलाई मार्न चाहेका हौं भनेर भाइहरूले भने । सुच्चाले त्यसपछि भन्यो, ‘मलाई मार्नका निम्ति मेरो शरीरको टुप्पीमा दैवीशक्ति छ । त्यो उखेलेर भुइँमा राख, त्यसपछि मात्र मेरो प्राण जानेछ ।’ भाइहरूले दाइले भनेझैं उसको टुप्पी उखेले तर दैवीशक्ति भएकाले टुप्पीका रौंहरू उडेर माथि जंगलभित्र छाँगा भएको ठाउँतिर गयो ।
उडेर गएको टुप्पीका रौंहरू नागको आकृति भएर छाँगामा निस्कियो । छाँगाको फेदीमा दह बन्यो । त्यसरी आफूलाई पाप चिताउने उसका भाइहरूले मार्न लाग्दा सुच्चाले ‘मलाई पाप चिताउने, मलाई मार्नेहरूको शाखा–सन्तान गोल्पाहाङले देख्ने ठाउँमा नबसून्’ भनेकाले राभेना र बोम्सी थरका किरातीहरू नासिएर गएका हुन् । तर, मेखु भाइहरूको कुरामा डराउँदै उनीहरूको पछि लागे पनि सुच्चालाई धेरै पाप नचिताएकाले मेखुको सन्तान भने कटुन्जे, लकलम्पा, वाकखोरा र हुर्बु गाउँमा फैलँदै गएको हो । त्यही सुच्चाको छोराको सन्तानचाहिँ फैलिएर कटुन्जे, होम्तोक, माटिकोरे, सिरिसे होम्ताङ, छिन्ताङ हुँदै देश–विदेश फैलिएका हुन् भने सुच्चाले धनुवाण जमिनमा हानी चिलाउनेटारमा निकालेर पिएको पानी मेरो दाजुभाइले नखाऊन् भनेकाले सो ठाउँको पानी अहिले पनि सुच्चा किरातीले खाँदैनन् भनेर स्थानीय वयोवृद्धाहरू सुनाउँछन् ।