बेलायती सेनाको जागिर छाडेर किरात धर्म उत्थान



फाल्गुनन्द किरात धर्मका महान् गुरु तथा समाज सुधारकका रूपमा चिनिन्छन् । जीवनको अन्तिम क्षणसम्म किरात धर्म, संस्कार र संस्कृतिको उत्थान तथा संरक्षणका निमित्त उनी लागिरहे । संवत् १९४२ कात्तिक २५ गते साबिक इभाङ–५, चुक्चिनाम्बा इलाममा उनको जन्म भएको थियो । बाबु जगनबाज लिम्बू लिङ्देन र आमा हंशमती लिम्बूको साँइला छोराका रूपमा उनी जन्मेका थिए । फाल्गुनन्दको न्वारानमा ज्योतिषीले राखेका नाम भने नरध्वज लिङ्देन हो ।

फाल्गुनन्द बाल्यकालमा सिकिस्त बिरामी परे । फलामका चुरा हातमा लगाइदिनाले रोग ठीक हुन्छ भनेर उनलाई फलामका चुरा लगाइयो । त्यही चुराबाट उनको नाम फलामसिंह रहन गयोे भन्ने भनाइ छ । घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण फाल्गुनन्दले जीवनमा धेरै संघर्ष गरे । त्यसबखत गाउँका अन्य युवा बेलायती फौजमा भर्ती हुन जाने चलन थियो । त्यसैको सिको गर्दै बेलायती फौजमा भर्ती हुन जाँदा उनको नाम फलामसिंबाट फाल्गुनन्द बन्न पुग्यो ।

सानै उमेरबाट अहिंसावादीका रूपमा परिचित फाल्गुनन्दले आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुटो बोल्न नहुने, नारी सृष्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्च सम्मान गर्नुपर्ने कुरा प्रचार गर्दै हिँडे । त्यस्तै आफ्नो कुलदेवतालाई बिहान बेलुकी चोखोनितोसँग ‘माङ्सेवा’ (पूजा–आराधना) गर्नपर्ने, मासु तथा मदिरापान गर्नु नहुनेजस्ता ज्ञान उनले बाँडे । फाल्गुनन्द लिङ्देन सेनामा रहँदा पनि साँझ बिहान पूजापाठ गर्ने हुनाले उनलाई ‘ध्यानी’ ‘योगी’, ‘तपस्वी’, ‘सत्यहाङ््मा’, ‘मुहिङगुम अङसिमाङ’ र ‘महागुरु’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो ।

बेलायती सेनामा भर्ती भएपछि जागिरक्रममा उनी बर्मा पुगे । त्यसबखत गुरु मधुनन्दबाट जोसमनी सम्प्रदायको दीक्षा लिए । यसपछि उनको जीवनमार्ग मोडियो । उनले जगत्को कल्याणार्थ आफ्नो जीवन त्यसैमा अर्पण गर्ने अठोट गरे । साथै लडाइँबाट विश्व शान्ति स्थापना हुन नसक्ने बोध गरेर फाल्गुनन्द अन्ततः बेलायती सेनाको जागिरबाट राजीनामा गरी आफ्नो ज्ञान तथा समस्त किराती जातिका मौलिक धर्म संस्कृतिको प्रचारमा लागे । उनी भारतका विभिन्न भागलगायत भुटान हुँदै आफ्नो जन्मस्थल आइपुगे ।

स्वदेश फर्किएपछि ध्यान, साधनारत रही उनले सिद्धि प्राप्त गरे । त्यस शक्तिलाई उनले मानव–कल्याणार्थ प्रयोग गरे । डाक्टर र वैद्य नहुँदा आफैँले झारफुकजस्तो मन्त्रशक्ति र घरायसी औषधि प्रयोग गरी बिरामीलाई निको पारिदिने काम पनि उनले गरे । वर्तमान अवस्थामा किराती जातिका विशेषगरी लिम्बू समुदायभित्र रहेको सामाजिक विसंगति र विकृतिले गाँजेको आफ्नो गाउँठाउँको भयावह स्थितिलाई उनले देखे ।

संवत् १९८८ वैशाख २४ गते पाँचथरको फिदिम नजिकैको लेब्रेकुटीमा तत्कालीन ‘दस लिम्बुवान सत्रथुम’का वरिष्ठ व्यक्तिहरूको सहभागितामा ‘दस मुचुल्का’ तयार पारे, जसलाई ‘सत्यहाङ्मा मुचुल्का’ वा ‘सत्यधर्म मुचुल्का’ पनि भनिन्छ । यस मुचुल्कामा विशेषगरी पूजाआजा गर्दा बलि नदिने, जन्म–विवाह र मृत्यु आदि संस्कारमा फजुल खर्च नगर्ने, जाँड–रक्सी नखाने, विसंगति, विकृति र कुरीतिबाट मुक्त हुने तौरतरिका उल्लेख गरिएको छ । आ–आफ्नो थुममा गएर सबैलाई सम्झाउन र बुझाउन उपस्थित हजारौं व्यक्तिलाई उनले आह्वान गरे । आफू स्वयम् पनि धर्म प्रचार तथा मौलिकताको पहिचान गराउँदै हिँड्दा तत्कालीन राणा सरकारले देशद्रोहीको अभियोग लगाएर सोधपुछका लागि उनलाई काठमाडौं ल्याएका थिए ।

महागुरु फाल्गुनन्दका प्रमुख कार्यहरूमा सिन्चेइ फक्तालुङ (कुम्भकर्ण हिमशृङ्खला)लाई किरात धर्मावलम्बीको तीर्थभूमि र मुक्तिभूमिका रूपमा खुला गरेको, १९८८ वैशाख २४ गते दस लिम्बुवान १७ थुमका किरातीलाई बोलाई वृहत् चुम्लुङ गरी तत्कालीन समाजका विकृति हटाउन सत्य धर्म मुचुल्का खडा गरेको, छरिएको साम्जिक मुन्धुमलाई संहिताकरण गरेको, लोप हुने अवस्थामा पुगेको किरात लिपिको प्रचार–प्रसार गरेको, विभिन्न स्थानमा माङहिमको स्थापना गरेको, पहिरो रोक्ने, पानी उमार्ने, खडेरी भएको ठाउँमा पानी पार्नेजस्ता चामत्कारिक कार्य गरेको किराती इतिहासमा उल्लेख छ ।

जीवनको अन्तिम क्षणसम्म किरात धर्म, संस्कार, संस्कृतिको उत्थान तथा संरक्षणका निमित्त लागिरहेका फाल्गुनन्दले २००५ चैत २२ गते देहत्याग गरे । एक विशेष जातिलाई मात्र नभई, विश्वका मानवलाई एकै सूत्रमा बाँधिन आह्वान गर्ने समाज सुधारक महागुरु फाल्गुनन्दको सम्झनामा हुलाक सेवा विभागले ०५० मंसिर १७ गते उनको चित्र अंकित १५ रुपियाँको हुलाक टिकट प्रकाशन गरेको छ । नेपाल सरकारले २०६६ मंसिर १६ गते सत्य, शान्ति र अहिंसाका प्रणेता किरात धर्म दर्शनदाता भनेर नेपालको १६औं राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्यो ।

 

प्रतिक्रिया दिनुहोस्