यसकारण स्थापना भयो पिल्मो राईको संस्था



नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता भएको देश हो । त्यसभित्र पर्ने एउटा जाति हो राई, जसको आदिम थलो पूर्वी नेपालको पहाडी भू–भाग मानिन्छ ।

पूर्वी पहाडमा सघन बसोवास रहेको राई जाति विविध भाषा र संस्कृतिमा विभाजित छन् । यसर्थ राईलाई बहुभाषिक र बहुसांस्कृतिक जाति मान्न सकिन्छ । त्यसभित्र पर्ने एउटा हाँगो हो– पिल्मो (पिल्मोङ) राई । जसको आदिमथलो हो– सोलुखुम्बुको जारिस्खोउ । हाल पिल्मो राई जातिहरू नेपाल, भारत, भुटानलगायत विश्वको विभिन्न भू–भागमा छरिएर बसोवास गरिरहेको पाइन्छ ।

यस जातिबारे खास खोजअनुसन्धान गरिएको पाइँदैन । छिमेकी जातिको विषयमा अध्ययन गर्ने केही अध्येताले आफ्नो शोधपत्रमा पिल्मो (पिल्मोङ) भनेर नामसम्म उल्लेख गरिराखेको भेटिन्छ । नेपालको राष्ट्रिय तथ्यांक विभागले प्रत्येक १० वर्षको अन्तरमा लिँदै आएको जनगणनामा पनि पिल्मो राई जातिको जनसंख्याको तथ्यांक अहिलेसम्म उल्लेख गरेको छैन ।

आफ्नै उद्गम भूमि, मौलिक भाषा, संस्कृति, भेषभूषा र ऐतिहासिक धरातल भए पनि पिल्मो (पिल्मोङ) आर्थिक, बौद्धिक र शैक्षिक रूपमा पछौटे रहेका छन् । त्यसैकारण यी जाति सामाजिक रूपले राष्ट्रिय मूलधारमा आउन सकेको छैन ।

पिल्मो (पिल्मोङ) नाम कसरी रह्यो भन्नेबारे प्राचीन पुर्खासम्म पुग्नुपर्ने हुन्छ । थाहा भएअनुसार पिल्मो समुदायको आदिम पुर्खा खप्दुलु थिए । उनका छोरा छाम्पानाम थिए । छाम्पानाम र उनकी श्रीमती खप्दुछेमले जारिस्खोउ ओडारमा बसोवास गरेर जीवनयापन गर्नेक्रममा जन्मिएका सन्तानको नाम पिपिल राखिएको थियो । उनै पिपिल पुर्खाको नाम समयचक्रसँगै परिवर्तन भएर कालान्तरमा पिल्मो हुन पुग्यो । वर्तमान अवस्थामा पिपिलका सन्तान पिल्मो भनेर सामाजिक रूपमा परिचित छन् ।

जनसंख्या बढ्दै गएपछि जीवन निर्वाहका लागि दाजुभाइ छुट्टिएर तीन ठाउँमा बसोवास गर्न पुगेका थिए । भौगोलिक विकटताले लामो समय अलग–अलग रहनुपर्दा उनीहरू पिल्मोवास्, नाम्लुवास् र चोचोलुस् भनेर परिचित हुन पुगेको अलिखित श्रुति इतिहास छ ।

पिल्मो राई जातिले जारिस्खोउलाई विगत केही वर्षदेखि पितृभूमि मानेर सम्मान गर्दै आएका छन् । गत २०७८ माघ १ गते देतेलवासी पिल्मो राई परिवारले नयाँ वर्ष किरात यले संवत् ५०८२ को शुभ उपलक्ष्यमा आपसी शुभकामना आदान–प्रदान गर्ने सिलसिलामा वनभोज कार्यक्रम गरेको थियो । वनभोज कार्यक्रमलाई पिल्मो राई जातिको विशेष साधारणसभामा परिणत गरिएको थियो । सभामा उपस्थित सहभागीले पिल्मो राई जातिको भाषा, संस्कृति संरक्षण र ऐतिहासिक खोज अनुसन्धानका लागि संस्था आवश्यकता भएको अनुभूति गरेका थिए । सहभागी पिल्मोले किरात पिल्मो (पिल्मोङ) राई भाषा तथा संस्कृति उत्थान संघ नामक संस्था स्थापना गरेका छन् ।

पिल्मो राई परिवारले केही वर्षदेखि माघेसंक्रान्तिलाई पितृभूमिको सम्मान गर्ने दिनका रूपमा जारिस्खोउलाई वनभोज स्थल बनाउँदै आएका छन् । त्यही अवसरमा पिल्मो राई परिवारले आफ्नो भाषा र संस्कृति संरक्षण गर्ने सामाजिक संस्था स्थापना गरेका हुन् ।

यो संस्था पिल्मो राई परिवारको प्रतिनिधिमूलक संस्था हो । संस्थाले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरेर पिल्मो समुदायको गौरवलाई उच्च स्थानमा स्थापित गर्न सहयोग र सेवाका लागि सबै तह र तप्काका सम्पूर्ण महानुभावलाई आत्मीय सहयोग गरिदिन हार्दिक आह्वान पनि गरेको छ ।

जारिस्खोउ भेलामा सहभागीमध्येबाट कार्यसमितिका पदाधिकारी छनोट गरिएका छन् । नवगठित संस्थाको ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध छनोट गरिएका छन् । निर्वाचित पदाधिकारी अध्यक्ष मदनसर पिल्मो, उपाध्यक्ष दिलिपकुमार पिल्मो, महासचिव जसबहादुर पिल्मो, सहसचिव राज पिल्मो, कोषाध्यक्ष अनिल गंगा पिल्मो र सदस्यहरू नवीना पिल्मो, राजकुमार पिल्मो, कमलकुमार पिल्मो, पवित्र पिल्मो, बलकेशर पिल्मो र सनिता पिल्मो रहेका छन् ।

उद्गम थलो जारिस्खोउलाई पिल्मो राईहरूको सभ्यताको आधारभूमि मान्ने घोषणासँगै पिल्मो राई भाषा, संस्कृति, धर्म र जातीय अस्तित्व संरक्षण एवम् सम्बद्र्धन गर्न संस्था निर्माण गरिएको हो । त्यसका लागि संस्थामार्फत भाषिक, सांस्कृतिक संरक्षण र ऐतिहासिक खोज अनुसन्धान गरिनेछ ।

पिल्मो जातिको उद्गम भूमि जारिस्खोउबाट ’किरात पिल्मो राई भाषा तथा संस्कृति उत्थान संघ स्थापना भएको घोषणा गरिएको छ । जसमा उल्लेख छ, ‘आजको भेलाद्वारा निर्माण गरिएको पिल्मो राई परिवारको संस्थामा विश्वको विभिन्न भू–भागमा छरिएर बसोवास गरिरहेका लोवात्ती, छेन्हो, होनित्ती, दिरित्ती, मुलुखु, देउराम, छेइमाहो, श्रीपोस्, सुर्बा, होपोत्ती, फोवात्ती, छेन्दिसी, रिङालु, होलोत्ती, रोजिपोस्, हादिमुल, दिरिखुस, मोरोमुल, येइसा, सैमालुङ, थोमरोस्, वाइसुर, खारुत्ती, राजित्ती, छाम्निहो, खम्निसिङ, गुरुत्ती, यातिहो, एन्होस्, छानिती, होबित्ती, ताम्निहो, लामाखुस्, गोक्तुलु, थोप, रेम्निसिङ्, हिन्दुखु, आदिलाई जो जहाँ बसोवास गरिरहेको भए पनि आ–आफ्नो देश, जिल्ला, सहर र गाउँमा किरात पिल्मो राई भाषा तथा संस्कृति उत्थान संघको छातामुनि आबद्ध हुन सम्पूर्ण पिल्मो राईलाई आह्वान गर्दै जारिस्खोउ भेला सम्पन्न भएको घोषणा गरिएको छ ।’

त्यस्तै, घोषणामा सबै पिल्मो राईलाई आ–आफ्नो ठाउँमा संघको शाखा–प्रशाखा गठन गरेर संस्थामा आबद्ध हुनसमेत आह्वान गरिएको छ । आफ्नो अलग मातृभाषी संस्थाको अभाव र ऐतिहासिक अज्ञानताले अन्य समुदायको संस्थामा आबद्ध पिल्मोलाई संस्थामा आबद्ध हुन आह्वान गरिएको छ । र, निकट भविष्यमा विविध विषयमा छलफल गरेर निष्कर्षमा पुग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गरिनेसमेत घोषणामा उल्लेख छ ।

अन्त्यमा विभिन्न जातजातिको संघ संस्थासँग भाषिक, सांस्कृतिक र जातीय सद्भाव कायम गर्दै पिल्मो राई जातिको संस्था अघि बढ्ने घोषणामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्