पिल्मो राई भाषाको पहिलो गीत



कुनै पनि जातिको भाषा, संस्कृति र सभ्यताको जननी एवम् पहिचानको स्रोत उद्गम थलो हो । संसारको विभिन्न क्षेत्रमा बसोवास गर्न पुगे पनि उद्गम थलोकै नामबाट परिचित हुने गर्छन् । इतिहासको जरो खोतल्ने आधारभूमि उद्गम थलो नै हो । त्यसो भएकाले प्रत्येक जातिले आफ्नो पितृभूमिप्रति माया दर्शाउने गर्छन् ।

पिल्मोङ राई समुदायको पितृथलोप्रति प्रेम दर्शाउँदै डा. बीबी लोवात्ती पिल्मो राईले गीत रचना गरेका छन् । गीतको नाम रहेको छ ‘निनाम्मा गोछापी’ । गीतले पिल्मोे समुदायको उद्गम थलो देतेल गाउँको इतिहासलाई उजागर गरेको छ ।

पिल्मो राईका पुर्खाहरू एक भाइ देतेल गाउँमै बसोवास गरे । अर्काे भाइ देतेलबाट बसाइँ सरेर हुँगा खोलापारि नाम्लुमा बसोवास गर्न पुगेको गीतले बताउँछ । देतेलका पुर्खाले सातिपुस (मृत्यु संस्कारको पुरोहित) र नाम्लुका पुर्खाले तोस् नोक्छो (तोस् पुजारी) भएको गीतले बताउँछ । यसरी पुर्खासँगै सांस्कृतिक ज्ञान पनि अंशबण्डा हुन गएको गीतले बताउँछ । गीतले नाम्लुबाट पनि बसाइँ सरेर चोचोलुमा बसोवास गर्न पुगेको बताउँछ ।

खप्दुलुका छोरा छाम्पानामले देतेलमा स्थायी बसोवास गरेपछि उनको सन्तानलाई पिल्मो नामकरण गरिएको गीतले बताउँछ । गीतले भाषा, संस्कृति र इतिहास जगेर्ना गरेर पिल्मो राईले आफ्नो अस्तित्व संरक्षण गर्न आह्वान गरेको छ ।

पिल्मो समुदायको मातृभाषा इरिङमा रचना गरिएको पहिलो गीत हो– ‘निनाम्मा गोछापी’ । यो गीतले श्रोताको मन छुनेमात्र गरेको छैन, पहिचान संरक्षणमा अग्रसर हुनुपर्ने सन्देश छरेर पिल्मो परिवारको आत्मबल उच्च बनाएको छ ।

पिल्मोको इतिहास खोज्ने र लेख्ने काम अहिलेसम्म भएको थिएन । यो गीतले श्रोतालाई आफ्नो इतिहास आफैंले खोज्नुपर्छ, भाषा र संस्कृति जगेर्ना गरेर आफ्नो पहिचानको रक्षा गर्न जागृत गरेको छ ।

यो गीत अहिले युट्युबबाट डाउनलोड गरेर मोबाइलबाट मोबाइलमा सारेर व्यापक सुनिँदै छ । अर्थात् लोकप्रिय बन्न पुगेको छ ।
गीतमा सुरिलो स्वर दिएर दिवस पिल्मो, क्षितिज पिल्मो र दिवेक पिल्मोले श्रोताको मन जितेका छन् ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्