श्रीमतीलाई मन नपर्ने गीत पूर्वमन्त्रीलाई प्रिय



सामान्यतया गीतकार राजन राईभन्दा राजनीतिक नेता राजन राई कान्छो हुन् । राजनीतिक नेताभन्दा कलामा रुचि राख्ने राजन राई जेठो रहेको उनले सगौरव सुनाए । नौ वर्ष टेक्दै गर्दा उनले लेख्न थाले । ०३६ सालमा जनमतसंग्रह हुँदा उनले लेख्न थालिसकेका थिए ।

पातलै भए पनि लेखनले निरन्तरता पाएकै थियो । नेपाली साहित्यमै उच्च शिक्षा हासिल गरेकाले साहित्य लेख्न सघाउ पुग्यो । ०५०/५५ देखि गीत राम्रो लेख्नुपर्छ भन्ने लाग्यो । ०६०/६१ देखि लेखन बाक्लियो । लेखन माझियो । ६५ भन्दा बढी गीत लेखिसकेका उनको २२ गीत रेकर्ड भइसकेका छन् । ‘किनकिन’, ‘ऐठन’, ‘अक्षर र आवाज’ नामक गीतिएल्बम सार्वजनिक भइसकेका छन् ।

गीतकार राजन राईले लेखेका गीत राजेश पायल राई, अञ्जु पन्तले अलि धेरै गाएका छन् । लेखेका सबै गीत रेकर्ड गर्न सजिलो छैन । यहाँ गीतकार राजन राई स्वयम्लाई मन पर्ने चार गीतबारे प्रकाश पार्ने प्रयत्न गरिएको छ ।

मन पर्ने गीत–१

‘जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन’

यो गीत लेख्न गीतकार राजन राईलाई १५ दिन लागेको थियो । गीतकार राईले २०६२ सालमा लेखेको गीत सर्वाधिक लोकप्रिय बनेको थियो ।

रचना गर्भचाहिँ यस्तो रहेछ । ‘दिक्तेलमा हिँड्दै थिएँ । बेस क्याम्पमा ठेस लाग्यो,’ उनले वास्तविकता सुनाए, ‘हिँड्दाहिँड्दै पनि खुट्टा ठोक्किन्छ भनेर मनमनै गमें । त्यसपछि अन्तरा पो पहिले लेखें ।’
हिँड्दा–हिँड्दै जिन्दगानी कतै ठोक्किन्छ ।

गीत पो बन्छ कि भन्ने लागेपछि उनले थपे, ‘रोक्दारोक्दै आँसु कतै पोखिन्छ ।’

अन्तराभन्दा स्थायी पछि पूरा गरे–

जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन
फक्रने र ओइलाउने टुंगो हुँदैन ।

यो गीत रेकर्ड गर्दागर्दै असाध्यै भावुक बनाएको थियो । गीत रेकर्डलगत्तै स्टुडियोबाट सारेर गायिका अञ्जु पन्तले ५०औं पटक सुनेर धुरुधुरु रोएँ भनेको कतिपय अन्तर्वार्तामा गीतकार स्वयम्ले सुन्न पाए । ‘दिदीसँग सुनें,’ गायिका पन्तले गीतकार राजन राईले भनेकी थिइन्, ‘हामी बेस्सरी रोयौं ।’

‘जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन’ सुन्नेजति सबैले राम्रो भनेर प्रतिक्रिया दिए ।

मन पर्ने गीत–२

एउटा जिन्दगीको, एउटा जिन्दगीको
पटक–पटक मृत्यु हुन्छ, एउटै जिन्दगीमा ।

बिरामीलाई सन्चो पार्ने ओखती नहुँदा
लालाबाला भोको पेट धुरुधुरु रुँदा,
भाँडो टेकाई चुलो बाल्ने जोहो नहुँदा
पटक–पटक मृत्यु हुन्छ, एउटै जिन्दगीमा ।

उनको कपडाझैं मेरो धुजाधुजा मन छ
यो साल नयाँ दौरासुरुवाल फेरिदिऊँ कि भन्छ,
लुगा फेर्ने, घर चलाउने खर्च नहुँदा
पटक–पटक मृत्यु हुन्छ, एउटै जिन्दगीमा ।

प्रस्तुत गीतमा गीतकारले गरिबको वास्तविक जीवन कहानी प्रस्तुत गरेका छन् । यो प्रगतिशील गीत हो । ‘श्रीमतीले हाम्रो जीवनजस्तो गीत नलेख्नू न भन्छिन्,’ उनले थपे, ‘तर, म लेख्न छाड्दिनँ । श्रीमतीलाई मन नपरेको गीत मलाईचाहिँ असाध्यै मन पर्छ ।’

मन पर्ने गीत–३

पीरमा पनि हाँस्न सक्छे एउटी छोरी मान्छे
दुःखमा पनि बाँच्न सक्छे, एउटी छोरी मान्छे ।

विनाकारण तपाईंले दोष दिनुभयो मलाई
आफ्नो गल्ती जाँच्न सक्छे एउटी छोरी मान्छे ।

कतै तपाईंले मलाई कमजोर ठान्नुभो कि कसो
परे करङ भाँच्न सक्छे एउटी छोरी मान्छे ।

दुनियाँमा लोग्नेमान्छे तपाईंमात्र होइन होला
अन्तै नाता गाँस्न सक्छे एउटी छोरी मान्छे ।

आफ्नो गल्ती सच्याएर माफी माग्नुभयो भने
अझै दिलमा टाँस्न सक्छे एउटी छोरी मान्छे ।

यो गजल हो । प्रस्तुत गजलमा महिला समानता उजागर गरिएको हो । परिआउँदा करङ पनि भाँच्न सक्छे भन्ने सन्देश प्रवाह छ । यो गीत पनि अञ्जु पन्तलाई असाध्यै मन परेको गीतकारले सुनाए । यो गजल गीतकार स्वयम्लाई पनि असाध्यै मन पर्छ । तमाम महिलावृन्दलाई समेत मन पर्ला । यो गजलले धम्की पनि बोलेको छ । यो गजलको म्युजिक भिडियो बनाउने गीतकारलाई लोभ त छँदै छ ।

मन पर्ने गीत–४

एउटा तक्मा झुन्ड्याएर आउनुभको थियो रे
दुईटै खुट्टा गुमाएर आउनुभको थियो रे
गोर्खा पल्टनबाट घरको हजुरबाबा
रुँदैरुँदै भन्नुहुन्छ– मेरी हजुरआमा ।

दोस्रो विश्वयुद्धमा लाहुर जानेको ताँती लाग्थ्यो । पल्टनबाट फर्कंदा एउटा तक्मा लिएर फर्कन्थे । कतिपय अंगभंग भएर आउँथे । त्यतिबेला हजारौं नेपालीले बलिदानी दिए । ‘मेरो बाउ र बाजे दुवै लाहुरे,’ उनले खुसी व्यक्त गरे, ‘मेरो बाउले मलायामा हुँदा पनि पत्ता लगाउन नसके पनि मैले बाजेको समाधि मलेसियामा पत्ता लगाएँ ।’

प्रतिक्रिया दिनुहोस्