सप्तकोसीमा सलल बगेको खरितेको व्यथा



काठमाडौं । सोलुखुम्बु, खोटाङ, भोजपुर, उदयपुर, सङ्खुवासभा, धनकुटालगायतका पूर्वी पहाडी जिल्लाहरूमा गाईबस्तु खरिद गरी तराईका पशुहाटहरूमा लगेर बेचविखन गर्ने व्यापारीहरूलाई स्थानीय बोलीचालीको भाषामा ‘खरिते’ भन्ने गरिन्छ । अरुण, सुनकोसी र सप्तकोसीको किनारैकिनार हिँडाएर तराईका पशुहाटमा लगेर गाईबस्तु बेच्ने तिनै व्यापारीहरूको दर्दनाक कथा समेटिएको वृत्तचित्र हो– ‘खरिते’ ।

वृत्तचित्रमा जोखिम मोलेर वर्षौंदेखि खरिते पेसा अपनाइरहेका पूर्वीपहाडका खरितेहरूको दारुण कथा समेटिएको छ । त्यस्तै भोजपुर, धनकुटा र उदयपुरका विभिन्न गाउँबाट सप्तकोसीमा बाँस र बाँसमाथि सुँगुर बगाएर सुनसरीको चतरामा ल्याई बेचविखन गरेर नुन, तेलको जोहो गर्ने युवाहरूको रोचक र खतरनाक कथाका साथै अक्करको भीरबाट सप्तकोसीमा खसेर ज्यान गुमाउनेको सन्दर्भ पनि समेटिएको खरितेका निर्देशक तथा लेखक शशी लुमुम्बूले बताए ।

सप्तकोसी किनारको अक्करे भीरमा पुगेर बनाइएको उक्त वृत्तचित्र खरिते ३५ मिनेट समयावधिको वृत्तचित्र हो । यसका लेखक/निर्देशक शशी लुमुम्बू हुन् ।

साहित्य र पत्रकारिता विधामा स्थापित युवा स्रष्टा शशी लुमुम्बूले वृत्तचित्र निर्देशकका रूपमा अर्को परिचय बनाएका छन् । उनले ‘साँघु तरेपछि’, ‘प्रायश्चित’, ‘सोचौं’, ‘क्राइमस्टोरी,’ ‘क्राइमकथा’, ‘जब मन रुन्छ’ लगायतका टेलिशृंखला र ‘आर्यन द आउटसाइडर’ नामक फिचर फिल्मका साथै ‘डाँडापारिका घाम’ र ‘भोजपुर दर्पण’ वृत्तचित्रको स्क्रिप्ट लेखेका छन् भने ‘थोरै भए पुगिसरी’, ‘क्राइमस्टोरी’ र ‘जीवनचक्र’ टेलिशृंखलामा अभिनयसमेत गरेर फिल्म क्षेत्रमा पनि आफ्नो नाम दर्ज गराइसकेका छन् ।

‘गोलार्ध’, ‘उत्सव’, ‘विमोचन’, ‘कलापुञ्ज’, लोकतन्त्र नेपाल’ आदि पत्रिकाको सम्पादन गरिसकेका लुमुम्बू ‘पहाडबूढो’ कविताकृतिका स्रष्टा हुन् ।

प्रतिक्रिया दिनुहोस्