इटलीबाट जिउँदै फर्के पनि श्वासप्रश्वास कमजोर



देशभित्रका अनेकौँ दमन, उत्पीडन र षड्यन्त्रकारी राज्य व्यवस्थाका कारण वीर गोर्खाको नाममा नेपालीहरू विश्वका प्रायः सबै ठाउँमा युद्ध लड्न पुगेका छन् । अफ्रिकाको धना जंगलमा होस् या खाडीको मरुभूमिमा, युरोपका सहरहरूमा होस् या एसियाको छिमेकी देशहरूमा नेपालीले एउटा यस्तो युद्ध लडेका छन्, जुन युद्धमा विजयी हुँदा न त उनीहरूले गर्वसाथ आप्mना लागि लडेको युद्ध हो भन्न सकेका छन् । न त आफ्नो राष्ट्रको स्वाधीनता वा समुदायको अस्तित्वका लागि लडिएको युद्ध हो भनेर पूर्ण स्भाविमानपूर्वक गौरव अनुभव नै गर्न सकेका छन् ।

यति हुँदाहुँदै पनि उनीहरूले अदम्य साहसी वीर गोर्खाको नाममा विश्वभरि आफनो छुट्टै पहिचान बनाएका छन् । सट्टामा उनीहरूले देशबाट सम्मान पाउनुको बदला उनीहरूले अर्काका लागि लडिदिने भाडाको सिपाही भन्दै अपमान खेप्नुपरेको छ । सट्टामा कैयौंले छोराछोरी, आफन्त, दाजुभाइ वा आफ्नो समग्र परिवार सदासदाका लागि गुमाएर बस्नुपरेको इतिहास पनि छ । युद्ध लडदै जाँदा विविध कारणवश आफ्नो पल्टनबाट छुट्टिनुपरेका कैयौँ गोर्खालीले घर फर्कने अवसर नजुरेपछि जहाँ पुग्यो त्यहीँ नयाँ जीवन सुरु गर्नुपरेको यथार्थ हामीसँग छ । अहिले म्यानमार भनिने तात्कालिक बर्मामा अहिले पनि लडाइँका क्रममा छुटेका नेपालीको बस्ती रहेको छ, थाइल्यान्ड र मलेसियामा पनि त्यस्तो बस्ती रहेको बताइन्छ । भारतमा त झन् अनेकौँ स्थानमा यस्ता बस्ती छन् । समयक्रमसँगै उनीहरूले बिस्तारै पुर्खाको कहानी भुल्दै जानु स्वाभाविक हो तर कतिपयले कहानी वा दन्त्यकथा जस्तै मिथकका रूपमा भए पनि आफ्नो पूर्वजको थातथलोलाई सम्झिरहेका छन् । प्रस्तुत छ, भारतको देहरादुनमा रहेका मधु गुरुङको सम्झनामा रहेको यस्तै एउटा सामग्री यहाँ प्रस्तुत गरिएको छ । –सम्पादक

हाम्री बजैले भन्नुभएअनुसार यो कथा आजभन्दा करिब दुई सय वर्ष अगाडिको हो । त्यतिबेला ब्रिटिस इस्ट इन्डिया कम्पनीले भारतमा शासन गथ्र्याे । उनीहरूले नेपालमाथि आक्रमण गर्यो । बजैको बाजे घान्द्रुक नाम गरेको नेपालको कुनै एउटा गुरुङ बस्तीको जिम्वाल हुनुहुन्थ्यो । यो बस्ती माछापुच्छ«ेको फेदमा रहेको छ । उहाँसँग नेपालको अन्य विभिन्न भागबाट आएका प्रमुखहरू पनि थिए । उनीहरू सबैले जनरल अमरजंग थापाको कमान्डरसिपमा आफूलाई समाहित गरे । ब्रिटिस सैनिकहरूले नेपालको सेनामाथि धावा बोले र कुमाउ, गढवाल हुँदै अधिकांश पहाडी भू–भाग कब्जा गरे ।

ब्रिटिस सेनाहरू अत्याधुनिक हातहतियारले सुसज्जित थिए । जोसँग राइफल, मेसिनगनलगायतको हतियार थियो । उनीहरूविरुद्ध गोर्खाले परम्परागत हतियारको सहारामा युद्ध गरे । त्यो हतियार भनेको छोटो धार भएको एक किसिमको चक्कु (खुकुरी) हो । अधिकांशसँग गाईको खुरलाई धार बनाएर मिलाइएको हतियार थियो । त्यसैले हुनाले कतिपयले गोर्खाजलाई गोर्खाकस अथवा गाईको संरक्षक भनेर पनि बुझ्ने गर्थे । यसरी गाईको खुरलाई खुकुरीको बिँडमा राख्नुको अर्को फाइदा पनि थियो । किनकि जतिसुकै खुन बगे पनि यसको बिँडमा कहिल्यै असर नपर्ने हुँदा खुकुरी गोर्खाको मुठ्ठीमा दह्रिलोसँग रहन्थ्यो । गोर्खाले यस्तै हतियारको भरमा शक्तिशाली ब्रिटिस सेनाको सामना गरे । नेपाली सेनाहरूमा पुरुष मात्र होइन महिला तथा केटाकेटी पनि सामेल थिए । वास्तवमा उनीहरूको सम्पूर्ण परिवारले नै युद्ध लडेको थियो ।

भारतको उत्तरमा पर्ने कुमाउ र गढवाल पहाडको विजयपछि गोर्खाहरू देहरादुन उपत्यका (जुन अहिले भारतको उत्तराञ्चल प्रदेशमा पर्छ) मा आए । यहाँ आएर उनीहरूले यस्तो ठाउँमा किल्ला बनाए जहाँ प्राकृतिक रूपमा बनेको सहस्रधारा अर्थात् सयौँ धारा बग्ने गथ्र्याे । उनीहरूले त्यो किल्लालाई कलिंगा (काँगडा) नामकरण गरे जसको नेतृत्व फलामे हात भएका कमान्डरले गथ्र्याे ।

ब्रिटिसले गोर्खाबाट भोग्नुपरेको लाजमर्दो हारबारे याद गरिरहेका थिए । त्यसैले उनीहरूले आप्mनो सैनिक संख्या वृद्धि गरे अनि गोर्खाको किल्लालाई चारै दिशाबाट घेरे । तर पनि उनीहरूले गोर्खालाई कुनै किसिमको आघात पुर्याउन सेकनन् । त्यसपछि उनीहरूले गोर्खाहरूमध्येकै कुनै एकजनालाई ठूलो जमिनको मालिक बनाउने र पैसाको लोभ देखाए । जसबाट गोर्खाको किल्लासम्म आउने पानीको मुहान पत्ता लगाए । अन्ततः उनीहरूले किल्लामा आउने पानीको मुहान बन्द गरिदिए । साराका सारा गोर्खाहरू तिर्खाले व्याकुल बने ।
पानी बन्द भएको चौथो दिन किल्लामा पिउनका लागि एक थोपा पानी नभएपछि गोर्खाले किल्लाको ढोका उघारे । अनि आक्रमणका लागि आउने ब्रिटिस फौजलाई कुरेर बसे । आक्रमणका लागि आउने पहिलो व्यक्ति ब्रिटिस सेनाको मेजर थिए, उनलाई ढाँडमा थाङ्नाले बाँधेर नानी बोकिरहेकी एकजना गोर्खा महिलाले काटेर मारे । त्यो दिन दिनभरि घमासान लडाइँ भयो । साँझसम्ममा कुनै पनि वयस्क युवा गोर्खाली बँचेनन् । त्यहाँ औँलामा गन्न सकिने केही बालबालिका मात्र बाँकी रहेका थिए ।

यति शक्तिशाली सेनाको अगाडि पनि सीमित परम्परागत हातहतियारको भरमा लड्ने साहस गर्ने गोर्खा देखेर ब्रिटिसहरू प्रभावित भए । उनीहरू भए पहिले नै भारतीय राजासँग आत्मसमर्पण गर्थे । तर, गोर्खाको हकमा एउटा उखान थियो कि कायर हुनुभन्दा मर्नु निको, त्यसैले उनीहरू बरु मर्न तयार भए तर कायर भएर कहिल्यै हार मानेनन् ।

यो युद्धपछि सन १८१६ मा सुगौली सन्धि भयो । गोर्खालाई सेनामा भर्ना गर्न थालियो । यो कथा हामीबीच एक पुस्ताबाट अर्को पुस्ता हुँदै क्रमशः सर्दै आयो ।

बजैले भन्नुभएअनुसार उहाँको हजुरबा र हजुरआमा पनि त्यो युद्धमा बाँच्न सकेनन् । त्यो युद्ध हुँदा बजैको बुबा मात्र पाँच वर्षको बच्चा हुनुहुन्थ्यो रे । उहाँलाई सेनाहरूले नै हुर्काए अनि पछि उहाँ पनि सेनामा भर्ती हुनुभयो । उहाँले कुमाउ पहाडको एक महिलासँग विवाह गर्नुभयो । जसको कोखबाट बजैको जन्म भयो । बजैले पनि १५ वर्षको उमेरमा विवाह गर्नुभयो । बजैको हजुरबा सम्पत्तिवाल हुनुहुन्नथ्यो तर उहाँ आफ्नै नामको जग्गा मन पराउनुहुन्थ्यो । प्रत्येक महिना उहाँले अलिअलि गर्दै पैसा बचाउनुभयो । अनि त्यही बचतको माध्यमबाट जग्गा किन्नुभयो । समय बित्दै गयो, त्यसैक्रममा दोस्रो विश्वयुद्ध सुरु भयो । अनि सन् १९३९ मा उहाँ इटलीको युद्धमा युद्धबन्दी हुनुभयो । उहाँ यस्तो ठाउँको जंगलबीचमा घाइते हुनुभयो जहाँ सयौँको संख्यामा केरा, आँप तथा लिची रोपिएको थियो ।

बजै र बाजेका १३ बालबच्चा भए । जसमध्ये आठजना मात्र बाँचे । उहाँहरूले आफ्नो बालबच्चालाई जतिसक्दो राम्रो हेरचाह गर्ने प्रयत्न गर्नुभयो । बाजेले आफ्नै हातले छड्केपाराको टिनको छानो भएको घर बनाउनुभयो । यसको भित्ता र भुइँ खैरो रंगको माटोले बनेको थियो । जसलाई दिनैपिच्छे गाईको गोबर र माटोले लिपपोत गरेर सफा गर्न पाउँदा बजै अत्यन्तै खुसी हुनुहुन्थ्यो । जतिसुकै चिसो र असुरक्षित अवस्थामा भए पनि जब बाजे अस्वस्थ हुनुहुन्थ्यो बजै बालबच्चालाई स्कुल जान प्रेरित गर्नुहुन्थ्यो । उहाँले हामीलाई पनि सधैँ स्कुल जान प्रोत्साहित गर्नुभयो । उहाँ हामीलाई सधँ कम्तीमा २० कक्षा पास गर्नू भन्नुहुन्थ्यो । जसको अर्थ बीए, एमए वा त्योभन्दा माथि भन्ने होला सायद । मलाई लाग्छ– उहाँले त्यसभन्दा माथि गन्न सक्नुहुन्न थियो ।

इटलीको युद्धबाट बाजे जिउँदै फर्कनुभयो तर उहाँको श्वासप्रश्वास अत्यन्तै कमजोर थियो । उहाँ घर फर्कनुुभएपछि चाँडै बित्नुभयो । बजैले न त फेरि कहिल्यै विवाह गर्नुभयो न त उहाँको आफन्तले एक वयस्क विधुवा र सात बालबच्चालाई बाँच्नका लागि सहयोग गर्नुभयो । सट्टामा बजैले आप्mनो जग्गा बन्धकी राख्दै अनि आफैँ पनि फलफूल तथा अन्नबाली उत्पादन गर्दै बालबच्चा हुर्काउन थाल्नुभयो । वास्तवमा यो कामप्रति गोर्खाको उही पुरानै आत्मिक भावना हो ।

मेरो विचारमा मेरो बजै संसारकै उत्कृष्ट कथावाचक हुनुहुन्थ्यो । यसैक्रममा एक दिन हामीलाई उहाँले यो यथार्थता सुनाउनुभएको हो । अहिले उहाँ हामीसँग हुनुहुन्न तर पनि म उहाँले भनेको कुराहरू सम्झिने गर्छु । बजैले भन्नुभएको माछापुच्छ«ेको फेदमा भएको त्यो घान्द्रुक भन्ने सुन्दर गाउँ कस्तो छ ? कहाँ छ ? मलाई त्यति थाहा छैन । खोज्ने प्रयास पनि त्यति धेरै गरेको छैन । समय मिले एक दिन अवश्य पनि त्यो ठाउँ जानेछु भन्ने मेरो विश्वास छ ।

(देहरादुनका मधु गुरुङसँग शिजु जर्जले गरेको कुराकानीमा आधारित भएर भारतबाट प्रकाशित एक पत्रिकामा छापिएको सामग्री ।)

 

प्रतिक्रिया दिनुहोस्