पसिनाको गीत गाउँदै जीविकोपार्जन गर्दाको आनन्द कस्तो होला ? त्यस्तो आनन्द अनुभूति गर्नुभएको छ ? छैन भने प्रविका राईलाई सोध्नुहोस् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा हलेसी टेलर्स सञ्चालन गर्दै आएकीराईले पसिनाको गीत गाउँदै जीविकोपार्जन गर्नुको आनन्द सुनाउँछिन् ।
सन्तोषभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन । हलेसी टेलर्सकी प्रोप्राइटर राईको भोगाइले यसै भन्छ । ‘टेलर्स खोलेको सुरु–सुरुमा खान त के कोठाभाडा बुझाउनसमेत पुग्दैनथ्यो,’ उनले सुनाइन्, ‘तर, हिम्मत गरें । आफूसँग भएको रुपैयाँले खान र कोठाभाडा बुझाएँ ।’
व्यापार भनेको अपार हो भन्ने उनले सुनेकी छन् । टेलर्सबाट अपार कमाइएला भनेर उनले महत्वाकांक्षी सपना देखेकी छैनन् । ‘दुई छाक खान पुगे हुन्छ,’ उनले भनिन्, ‘त्योभन्दा बढी कमाइहाले घरपरिवारलाई सहयोग गर्छु । विद्यालय स्तरमा अध्ययनरत भाइ मसँगै आश्रित छन् । उनलाई पनि खर्च चाहिन्छ ।’
एक जोर कुर्तासुरुवाल सिलाएबापत एक सय रुपैयाँ पाउने उनले काठमाडौं छाडेर हलेसीमा टेलर्स खोल्ने साहस गरिन् । हलेसी तुवाचुङ नगरपालिकाले बोलाएपछि उनी काठमाडौंबाट गाउँ फर्किन् । गाउँ फर्केपछि हलेसी टेलर्स खोलिन् । टेलर्स खोल्न नगरले ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।
त्यतिले पुग्दैनथ्यो । पटक–पटक गरी साढे तीन लाख रुपैयाँ खर्चेर हलेसी टेलर्सले अहिलेको रूप लिएको हो । ‘विशेषगरी महिलाका कपडा सिलाइन्छ । महिलाका लागि कुर्तासुरुवाल, ब्लाउज र पाइन्ट सिलाउँछु,’ उनले थपिन्, ‘१२ वर्षमुनिका बालबालिका लागि समेत कपडा सिलाउँछु ।’
सुरुसुरुमा कुर्तासुरुवाल सिलाएको दुई सय ८० रुपैयाँ लिने उनले हिजोआज ज्यालामा हेरफेर गरेकी छन् । हिजोआज कुर्तासुरुवाल सिलाएको तीन सयदेखि तीन सय ५० रुपैयाँसम्म लिने गर्छिन् । एकजोर कुर्तासुरुवाल सिलाउन साढे दुई घन्टा लाग्छ । साढे दुई घन्टामा तीन सय कमाउनु सामान्य होइन । तर, ‘अर्डर’ आइरहे त हो नि ।
साढे दुई घन्टामा तीन सय कमाउने प्रविका राईको मासिक आम्दानी कति होला ? ‘नहुँदा पनि मासिक १० हजारसम्म कमाइ हुन्छ,’ उनले दुःखको पोको खोलिन्, ‘त्यति भयो भने मुस्किलले माहिना धान्न भ्याउँछ । कोठाभाडा सटरसहित मासिक सात हजार बुझाउनुपर्छ ।’
दसैं–तिहारमा कमाइ राम्रै हुन्छ । ‘तीजमा पनि अर्डर आउँछ,’ उनले जोडिन्, ‘बिहेको सिजनको अर्डरचाहिँ त्यति पाएकी छैन ।’ काम धेरै हुँदा दैनिक बिहान ६ देखि राति १२/१ बजेसम्म काम गर्छिन् । ‘अर्डर’ नपाउँदा फुर्सदै फुर्सद हुन्छ ।
‘सिलाइको कामले मात्रै त केही हुँदैन नि सर,’ उनले खुसी व्यक्त गरिन्, ‘त्यसैले अलिकति कपडा पनि राखेकी हुँ । कपडाको एकछेउमा कस्मेटिक सामग्री राखेकी छु । सबैले गर्दा आफू र भाइलाई खान र बस्न सहज बनाएको हो ।’
प्रोप्राइटर राईले आफ्नो पसलमा राखिएका कपडा र कस्मेटिक सामान काठमाडौंबाट ल्याउने गर्छिन् । सुरुमा टेलर्स खोल्दा कपडा किन्न ऋणपान गरेकी उनको हिजोआजको अवस्था उकासिएको छ । ऋण लागे पनि दिन नलागोस् भन्ने नेपाली उखान प्रचलित छ । यहाँसम्म आइपुग्दा उनलाई ऋण र दिन दुवै लागेको छैन । दिन नलागे ऋण तिर्न सकिहालिन्छ भन्ने उनको बुझाइ छ ।
उदयपुर, दुर्छिम छापडाँडा (खोटाङ) र काठमाडौंमा विभिन्न समयमा सिकेको सीपले उनलाई व्यवसायी बनाएको छ । साबिक बाहुनीडाँडा गाउँ विकास समिति–८ निवासी उनलाई आत्मनिर्भर बन्न सकेकोमा त्यत्तिकै गर्व लागेको छ । टेलर्स खोल्नअघि उनले घरमै किराना पसलसमेत चलाएकी थिइन् । ‘गाउँघरमा उधारो लैजाने बढी हुन्थे,’ उनले दुःखेसो पोखिन्, ‘कतिपयले त अहिलेसम्म पनि उधारो लगेको सामानको पैसा दिएका छैनन् । त्यसो भएपछि किराना पसल चलाउन सकिनँ ।’
पढाइ छाडेपछि उनी घाँसदाउरामा सीमित भइन् । पाँच कक्षासम्म पढेकी उनले घरायसी काम र घाँसदाउरामा मात्रै सीमित हुनुहुँदैन भन्ने निष्कर्ष निकालेपछि टेलरिङ सिकेकी थिइन् । सुरुमा टेलरिङसम्बन्धी ६ महिना तालिम लिँदा कुर्तासुरुवाल र सर्ट सिलाउन सक्ने भइन् । त्यसपछि गाउँमै काम थालिन् । सँगसँगै किराना पसल गरिन् । किराना पसलले उँभो नलगाएपछि काठमाडौं पसिन् । हातमा सीप छँदै थियो । ‘पिस रेट’ मा कपडा सिलाउन थालिन् । एक जोर कुर्तासुरुवाल सिलाउँदा सय रुपैयाँ हात लाग्थ्यो । त्यो निकै कम पारिश्रमिक हो । तर पनि काम गर्नुपर्ने बाध्यता थियो ।
नगरले बोलाएपछि काठमाडौंमा कार्यरत उनी गाउँ फर्किन् । ‘नगरले मलाई ठूलो गुन लगाएको छ,’ उनले भनिन्, ‘भन्नु त धेरै छ । तर, मलाई बोल्नै आउँदैन । तर पनि नगरले लगाएको गुन बिर्सेको छैन । मैले मेरो धरातल बिर्सेको छैन । बिर्सन हुँदैन पनि ।’
त्यसो भनिरहँदा उनले हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईको नाम पटक–पटक लिइन् । प्रविका राईको प्रगति देख्दा प्रविकाभन्दा नगर उपप्रमुख बिमला राई धेरै खुसी छन् ।