सुँगुरपालकलाई सल्लाह


‘पाल्न त सबैले पालिरहेका हुन्छन् । इच्छाले मात्रै सुँगुरपालन गर्नुहुँदैन,’ तात्कालिक नेपाल कम्युनिस्ट पार्टी माओवादी खोटाङ पूर्वजनसरकार प्रमुख रत्नकुमार राई ‘दर्शन किरात’ले भने, ‘व्यावसायिक रूपमा सुँगुर पाल्न कम्तीमा पाँच विषयमा जानकार हुनुपर्छ ।’

त्यो भनेको ?

१. प्रस्ट अवधारणा (भिजन) ।

२. व्यवस्थापन ।

३. दक्ष जनशक्ति/प्रविधि

४. सूचना तथा सञ्चार

५. संरक्षक/सल्लाहकार । (अर्थात् व्यवसाय बिग्रन आँट्यो भने सल्लाह, सुझाव दिइरहने ।)

तात्कालिक नेपाल कम्युनिस्ट पार्टी माओवादी खोटाङ पूर्वजनसरकार प्रमुख रत्नकुमार राई ‘दर्शन किरात’ ।

उल्लिखित पाँच विषय आपसमा परिपूरक छन् । एउटामात्रै अपूरो भयो भने सुँगुर पालेर उँभो लागिँदैन । ‘भिजन छ । प्रविधि पनि भयो,’ तात्कालिक नेपाल कम्युनिस्ट पार्टी माओवादी खोटाङ पूर्वजनसरकार प्रमुख दर्शन किरातले थपे, ‘तर, दक्ष जनशक्ति भएन भने सुँगुरपालक सफल हुँदैनन् । सुँगुरपालन गर्न सर्वप्रथम दक्ष जनशक्ति चाहिन्छ ।’

कृषिका लागि जनशक्ति जति पनि पाउन सकिन्छ । तर, दक्ष जनशक्ति पाउन कठिन छ । दक्ष जनशक्तिले मात्रै व्यवसाय उँभो लाग्दैन । उपलब्धिका हिसाबले राम्रो भए पनि आफू खट्न सकेन भने आन्तरिक समस्याले पिरोल्छ ।

जस्तै ?

‘दाना खुवाएर सुँगुर पालेमा केमिकलयुक्त हुन्छ । त्यस्तो सुँगुरको मासु खाँदा स्वास्थ्यलाई हानि गर्छ,’ उनले प्रस्ट पारे, ‘तसर्थ, अर्गानिक मासु उत्पादन गर्नुपर्छ ।’

त्यो कसरी सम्भव छ ?

‘छ नि,’ उनको भनाइ छ, ‘सुँगुरको खानपान दाना अर्गानिक हुनुपर्यो । दाना तयार पार्दा मकै एक मुरी, तीन पाथी भटमास, दुई पाथी तोरीको पिना र एक पाथी माछाको ढुटो मिलाएर बनाएको चारो अर्गानिक हुन्छ ।’

बजारको दाना केमिकलयुक्त हुन्छ । त्यस्तो दाना खुवाएर पालेको सुँगुरको मासु अर्गानिक हुँदैन । केमिकलयुक्त मासु खाएपछि अस्वस्थ हुनु स्वाभाविकै हो । ‘सम्भव भएसम्म सम्बन्धित सुँगुरपालकले सुँगुरलाई ५० प्रतिशत झारपात खुवाउन सक्नुपर्छ,’ उनले सुझाए, ‘५० प्रतिशत अर्गानिक दानापानी र त्यत्तिकै मात्रामा झारपात खुवाउन सकेमा सुँगुर बँदेलजस्तै बन्छ । बँदेलको मागमात्रै होइन, मासुको मूल्य पनि उच्च छ ।’

सुँगुरपालकले व्यवसाय टिकाउन अनेक उपाय निकाल्न सक्छन् । ‘मैले त कोदोको उच्चस्तरीय तीनपाने रक्सी उत्पादन गर्थें,’ उनले प्रस्ट पारे, ‘स्तरीय तीनपाने रक्सी महँगोमा बिक्री गर्थें । त्यसको कट सुँगुरलाई चारो हुन्थ्यो ।’

सुँगुर नै किन पाल्ने ?

राँगा र खसीको मासु खानयोग्य बनाउन तीन/चार वर्ष पर्खनुपर्छ । दुवैका मासुमा बोसो बढी हुन्छ । त्यसले स्वास्थ्यलाई फाइदा गर्दैन । ‘राँगा र खसीको मासु खाइसकेपछि पग्लन ४० डिग्रीको हिट चाहिन्छ । तपाईं हाम्रो शरीरमा ३५ डिग्रीमात्रै हिट हुन्छ,’ उनको तर्क छ, ‘राँगा र खसीको मासु खानेको कलेजोमा १५ दिन असर पार्छ । अनि अस्वस्थ भइन्छ । सुँगुरको मासु खाँदा २५ डिग्रीमा पग्लन्छ । सुँगुरको मासु खाँदा मस्तिष्कलाई आराम गराउँछ ।’ त्यतिमात्रै होइन, निद्रा लागेन भनेर मानिस ‘स्लीपिङ ट्याब्लेट’ सेवन गर्छन् । तर, सुँगुरको मासु खाएमा निद्रा मज्जाले लाग्छ ।

चीन, कोरिया, जापान र भुटानमा समेत सुँगुरपालन फस्टाएको छ । सुँगुरपालनबाट फाइदै फाइदा छ । विशेषतः वैदेशिक रोजगारीबाट फर्केकाले सुँगुरपालन गर्दा राम्रो हुन्छ । उनीहरूले समय चिनेका हुन्छन् ।

सुँगुर वर्षमा तीनपटक ब्याउँछ । एउटा सुँगुरले एकपटकमा १० वटा पाठापाठी जन्मायो भने १० वटा सुँगुरले वर्षमा ३०० वटा पाठापाठी जन्माउँछ । तीन सयवटा पाठापाठी समयमै बेच्न सके व्यवसाय उँभो लागिहाल्छ । मासुभन्दा पाठापाठी बेच्दा फाइदा छिटो हुन्छ ।

सुँगुर पाल्दाको सुख–दुःख

‘सशस्त्र जनयुद्धमा रहँदा उत्पादन सहकारी सञ्चालन गर्थें,’ उनले अतीत सम्झे, त्यो धेरै राम्रो भएको थियो । वास्तविक लाइन छाडेपछि म पनि पार्टीबाट अलग्गिएँ । अनि सुँगुर पाल्न थालें ।’

सुरुमा पाँच माउ पोथी र दुई भाले हालेका उनको सुरुको लगानी साढे तीन लाख रुपैयाँ थियो । दस वर्ष सुँगुर पाल्दा १५ लाखसम्म लगानी गरे । लगानी खेर गएन । बीच–बीचमा ‘रिटर्न’ भइरह्यो ।

प्रतिक्रिया दिनुहोस्