नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु


काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बंगगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेसँगै नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको ।

दुई बैंकको एकीकृत कारोबार सुरु गरेको अवसरमा आयोजित समारोहमा समग्र बैंकिङ प्रणालीको आवश्यकतालाई समेत दृष्टिगत गर्दै बैंकप्रति सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न यस्तो कदम चालेको बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए । ढुंगानाले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्था एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यसाथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए ।

कार्यक्रममा मुख्य सचिव शङ्करदास बैरागीले बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने हुँदा स्थिर अर्थतन्त्रका लागि विश्वसनीय बैंकिङ प्रणालीको भूमिका महत्वपूर्ण रहने बताए । मुख्य सचिव बैरागीले बजारमा हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तो नरहे पनि सचेत र चनाखो भने हुनुपर्ने बताए । बैंकिङ प्रणालीमा स्वस्थ प्रतिस्पर्धा, व्यावहारिक नाफा र सामाजिक उत्तरदायित्वबारे बैंकहरूले मनन गर्नुपर्ने उनको भनाइ थियो ।

दुवै बैंकलाई राष्ट्र बैंकले यही असार १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । असार १९ गते बसेको सञ्चालक समिति बैठकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्