पिँजडाभित्र माछापालन



दुर्छिम (खोटाङ) । यही गतिमा मानिसको जनसंख्या बढ्ने हो न खानेकुराले पुग्छ, न वासस्थानले नै । न अन्न उत्पादन गर्ने जमिनले नै पुग्छ ।

माल्थसको जनसंख्या सिद्धान्तमा भनिएझैं– रोगव्याधि, युद्ध भएर प्रकृतिले मानिसको जनसंख्या घटाउँछ । फेरि नयाँ तरिकाले जनसंख्या बढ्छ भन्ने भनाइ सही हो कि जस्तो लाग्छ । मानिसले हिजोआज यति सिर्जनशील ढंगले काम गरिरहेका छन् कि माल्थसको भनाइ नै गलत साबित होला कि !

यस्तै, सिर्जनशील काम जापानमा गरिएको छ । हवाइको समुद्रमा समुद्री खेती प्रविधि प्रयोग गरेर कम्पाची माछापालन थालिएको छ । समुद्रभित्र माछापालनको के कुरा गरेको होलाजस्तो लाग्ला । तर, यो माछापालनको नयाँ उपाय हो ।

पहेंलो पुच्छर भएकाले जापानी भाषामा कम्पाची भनिने माछा असाध्यै स्वादिष्ट मानिन्छ । यो जापानमा असाध्यै मन पराइन्छ ।

माछापालनका लागि ३० मिटर चौडाइ भएको तामाको जालिदार पिँजडा बनाइएको छ । त्यसभित्र माछालाई चारो दिइन्छ । समुद्रभित्र पिँजडाका माछालाई स्याहारसम्भार गर्न जीपीएस प्रविधि जडान गरिएको छ । जसबाट समुद्रको गहिराइमा माछाको गतिविधि जमिनबाट हेर्न सकिन्छ ।

सन् २०११ मा हवाइमा यसको परीक्षण गरिएको थियो । ६ महिनापछि नै यी माछाको वृद्धिदर सामान्य तरिकाले हुर्किने कम्पाची माछाको भन्दा दुईगुणाले बढी थियो । यो तरिकाले माछापालन गर्दा वातावरणीय असर पनि केही नहुने वैज्ञानिकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्