मःमः खुवाउँदै, गीत सुनाउँदै



समय त्यस्तो पनि थियो ।

‘शक्ति वनस्पति घ्यु उद्योगमा काम गर्थें । मैले लेखेको गीत सुनिदिने कोही थिएनन्,’ गीतकार गौतम डंगोल ‘सन्देश’ले सुनाए, ‘त्यसो भएपछि उद्योगमा कार्यरत जंगबहादुरलाई समोसा र कमललाई बफ मःमः खुवाएर गीत सुनाउँथें । जंगबहादुर र कमलको माग समोसा र बफ मःमःमात्रै थियो । उनीहरूले गीत सुनिसकेपछि वा–वा भन्दा मेरो खुट्टा भुँइमा हुँदैनथ्यो ।’

गीतिलेखनले निरन्तरता पाएकै छ । सुरु–सुरुमा कविता, कथा र निबन्ध लेख्ने गीतकार डंगोल हिजोआज गीतिलेखनमा केन्द्रित छन् । कक्षा आठमा पढ्दैदेखि लेख्न थालेका उनले थपे, ‘खुसी, दुःखी हुँदा, तनावमा रहँदा लेख्नुजत्ति आनन्द अरू हुँदैहुँदैन । मेरा लागि मनको भावना पोख्ने प्रभावकारी माध्यम नै लेखन हो । म मेरी श्रीमतीसँग जतिसुकै नजिक भए पनि कतिपय कुरा भन्न सकिँदैन । तर, लेखाइ त्यस्तो साथी हो– जहाँ आफूलाई खुलस्त पोख्न सकिन्छ ।’

लेखनमा त्यत्तिकै सचेत उनले पहिले–पहिले लेखिसकेपछि साथी निर्मल शर्मालाई देखाउँथे । मातृभाषा नेवारी भएकाले आफूले लेखेको साहित्यको कुनै पनि विधामा प्रयुक्त शब्दले गलत अर्थ नलागोस् भनेर उनले शर्मालाई ‘चेक’ गर्न लगाउँथे । शर्माले पनि आफ्नी दिदीलाई ‘चेक’ लगाउँथे । यो संवत् २०४८ तिरको कुरा हो । उनी त्यतिबेला आठ कक्षामा पढ्थे ।

लेखनमा सबैको निजत्व हुन्छ । निजत्वले लेखकको पहिचान बनाउँछ । ‘मेरो शैली भनेको ‘मनपरी’ हो,’ गीतकार डंगोलले नढाँटी भने, ‘यसलाई अंग्रेजीमा ल्याबिस राइटिङ भनिन्छ । यही हो मेरो पहिचान ।’ उनी साहित्य त्यत्तिकै पढ्छन् । अध्ययनले लेखनलाई बलशाली बनाउँछ । व्यवस्थित तरिकाले लेख्न सहयोग पुर्याउँछ । ‘मन खोलेर लेख्ने विधा गीत हो,’ उनले थपे, ‘गीत गीत नै हो भनेर धेरै पछि मात्रै थाहा पाएँ । मलाई संगीतको ज्ञान छैन तर इन्स्टिङचाहिँ राम्रो थाहा छ ।’ उनलाई लेख्ने समय चाहिँदैन । जतिबेला भावना फुर्छ, लेखिहाल्छन् । मातृभाषा नेवारी भएकाले कहिलेकाहीं कुनै शब्दको शाब्दिक अर्थ थाहा नहुँदा शब्दकोश हेर्ने, साथीभाइलाई सोध्न लाज मान्दैनन् ।

‘लामो समयदेखि बैंकिङ करिअर छु,’ उनले वास्तविकता सुनाए, ‘बैंकिङ करिअरमा रमाए पनि मन–मस्तिष्क भने गीत–संगीतमै केन्द्रित छ । तर, दुवैलाई सन्तुलनमा राखेको छु ।’

जेम्स प्रधान, रीमा गुरुङ, गोविन्द गुरुङ, भीषण निरौला, झुमा निरौला, डेनी निरौलालगायतले उनको गीत गाएका छन् ।

‘त्यतिबेला,’ उनले अतीत सम्झे, ‘गीत प्रकाशित भएबापत एक शब्दको ५० पैसा पाउँथें । तर, नेपाल समाचारपत्र दैनिकमा ‘सेतो भएँ’ शीर्षाकृत कविता तीनपटक प्रकाशित भएको थियो । १५ सयका दर तीनपटककै पारिश्रमिक पाएको थिएँ । त्यसबाहेक विभिन्न पत्रपत्रिकामा प्रकाशित साहित्यिक रचनाको धेर–थोर पारिश्रमिक पाएको बिर्सेको छैन ।’

गीत लेखेरै ‘पकेट मनी’ जुटाउने उनी कलेज सकिएपछि कहिले कता कहिले कता पुग्थे । किन ? ‘लेख्नका लागि उपयुक्त वातावरण खोज्दै हिँड्थें । लेखनका लागि प्लट खोज्थें । त्यसका लागि कहिले गोदावरी, कहिले टीकाभैरव, त्रिभुवनपार्क त कहिले रत्नपार्कतिर टहलिन्थें ।’ आफू अध्ययन गर्ने कलेजबाट प्रकाशित स्मारिकाको साहित्यिक लेख, रचना सम्पादन गर्न उनले कहिल्यै अल्छी गरेनन् ।

६ सयभन्दा बढी गीत लेखिसकेका उनले अरूको दुःखमा रोएर गीत लेख्न सक्छन् । परिवारमा लेख्ने कोही नभए पनि उनीसँग त्यस्तो प्रतिभा छ । गीतकार डंगोलसँग समय सदुपयोग गर्ने विशिष्ट कला छ । सनराइज बैंक इलाम शाखा प्रमुख रहँदा घरमै बसेर व्यर्थै समय खेर फालिरहेका इलाम बजारका नेवार महिलालाई भेला पारेर नेवारी भाषा पढाउँथे । बैंकप्रति आकर्षित गर्न उनले त्यस्तो उपाय निकालेका थिए । एमबीएससम्मको अध्ययन पूरा गरेका उनी सुनाकोठी ललितपुरका रैथाने हुन् ।

प्रतिक्रिया दिनुहोस्