‘जेनेभामा बस्दा मैले धेरैजसो के देखें भने मेरो राष्ट्रले कसरी वास्तवमा गलत काम गरिरहेको छ र त्यसले बाँकी विश्वमा कसरी प्रभाव पारिरहेको छ । मैले महसुस गरें कि त्यसले केही चीज राम्रोभन्दा नराम्रो गरिरहेको छ ।’
एडवार्ड स्नोडन यत्तिकै आफ्नो मुलुक अमेरिकासँग क्रुद्ध भएका रहेनछन् । कूटनीतिक आवरणमा सन् २००७ मा अमेरिकी गुप्तचर संस्था सीआईएको एजेन्टका रूपमा जेनेभा पठाइएको बेला उनले जे गरे र जे देखे, त्यसबाट उनलाई कत्ति पनि राम्रो लागेको रहेनछ भन्ने कुरा बेलायतबाट प्रकाशित पत्रिका गार्डियन दैनिकलाई अन्तर्वार्ता नदिँदासम्म उनका परिवारका सदस्य, साथीभाइ र हाकिमलाई पनि थाहा थिएन । तर, एकैपटक गार्डियनमा धारावाहिक रूपमा अमेरिकी गुप्तचरीका सनसनीपूर्ण समाचार सार्वजनिक भएपछि उनीमात्र चर्चामा आएनन्, विश्व महाशक्तिका रूपमा रहेको अमेरिकासमेत अप्ठेरोमा परेको छ । स्नोडनले व्यक्तिगत स्वतन्त्रताको नारा ठूलो स्वरमा उराल्ने अमेरिकामा प्रत्येक व्यक्तिका इमेल र टेलिफोनसमेत गुप्तचर निकायबाट रेकर्ड गरिन्छन् भन्ने कुरा खोलेर सनसनी मच्चाए । व्यक्तिगत जीवन जोखिममा पारेर लामो समयको रस्साकस्सीपछि एक वर्षका लागि रूसमा शरण पाएका स्नोडनले अमेरिका के गर्दै छ भन्ने कुरा सार्वजनिक गरेर दुनियाँको आँखा खोलिदिएका छन् ।
स्नोडनले आफ्नो मुलुक छोड्नुपर्नाका कारण पनि गार्डियनमै खोलेका छन् । उनको भनाइ छ, ‘म त्यस्तो समाजमा बस्न चाहन्न, जसले यस्ताप्रकारका काम गर्छ । म त्यस्तो संसारमा बस्न चाहन्नँ, म जे गर्छु र के भन्छु भन्ने कुरा रेकर्ड गरिन्छन् ।’ अमेरिकी कानुनअनुसार यस्ता गोप्य सूचना सार्वजनिक गरेमा कम्तीमा १० वर्ष कैद सजाय हुन्छ । यसैबाट बच्नका लागि उनले अमेरिका छाड्ने निर्णय गरेका हुन् भन्नेमा शंका छैन ।
अमेरिकाको हवाईमा जन्मिएका एडवर्ड स्नोडनले सीआईएको जागिर छोडेर अमेरिकी सुरक्षा अनुसन्धान संस्था एनएसएमा संलग्न भएको चार वर्षमात्र भएको थियो । उनी सिधै उक्त संस्थामा जागिर गर्ने नभई एनएसएका लागि परामर्श तथा अनुसन्धानदाताका रूपमा काम गरिरहेको संस्था बुज अलेनमा आबद्ध थिए । त्यही संस्थामार्फत उनले गुप्तचरी सूचना संकलन तथा विश्लेषण गरिरहेका थिए, जसका लागि उनलाई बुज अलेनले वार्षिक एक लाख २० हजार डलरमा करार गरेको थियो ।
स्नोडनले के गरे ?
एडवार्ड स्नोडनले अमेरिकाका गोप्य सूचना बेलायतबाट प्रकाशित पत्रिका गार्डियनमार्फत सार्वजनिक गरे । घटना धेरै पहिलाको पनि होइन । ५ जुन २०१३ का दिन गार्डियनले एउटा सनसनीपूर्ण समाचार प्रकाशित गर्यो– एनएसएले दसौं लाख अमेरिकी नागरिकको टेलिफोन रेकर्ड गर्छ । त्यसको भोलिपल्ट गार्डियन र अमेरिकाबाटै प्रकाशित हुने वासिङ्टन पोस्टले एनएसएबाट सञ्चालित जासुसीसम्बन्धी प्रिज्म कार्यक्रमबारे विस्तृत रूपमा विवरण छापे । त्यसले अमेरिकी सुरक्षा संयन्त्रमा ठूलो खैलाबैला मच्चाउने नै भयो । हतार–हतार अमेरिकी अधिकारीले स्नोडनविरुद्धमा मुद्दा दायर गरे ।
सम्भावित कारबाहीबारे जानकार रहेका स्नोडनले चाहिँ त्यसअघि नै अमेरिका छोडिसकेका रहेछन् । स्नोडन र उनकी केटी साथी लिन्डसे मिल्सले मे १ मै हवाईको वाइपाहुस्थित आफ्नो अपार्टमेन्ट छाडिसकेको पछि मात्र थाहा भयो । तर, स्नोडन कहाँ गए भन्ने मिल्सलाई पनि थाहा रहेनछ । उनले आफ्नो ब्लगमा लेखिन्, ‘मेरो संसार एकैपटक खुल्यो र बन्द भयो, मलाई कम्पासविना समुद्रमा एक्लै छोडेर ।’ उनी हङकङमा प्रकट भएपछि मात्रै उनका बारेमा बाँकी विश्वले थाहा पायो ।
गार्डियनले ठीक गर्यो ?
गार्डियनले स्नोडनको नाम सार्वजनिक गर्न चाहेको थिएन । तर, उनले आफैं आफ्नो नाम उल्लेख गर्न आग्रह गरेपछि मात्रै सार्वजनिक गरेको पत्रिकाले उल्लेख गरेको छ । उनले पनि त्यही हो भनेका छन् । त्यसैले यसमा पत्रिकाको खासै आलोचना भएको छैन । जासुसी संस्थामा काम गर्ने व्यक्तिबाट बेला–बेलामा यस्ता समाचार चुहावट हुन्छन् । तर, त्यसरी सूचना चुहाउने मानिसले आफ्नो नाम उल्लेख गर्न चाहँदैन । वाटरगेट काण्डको सूचना कसरी चुहाइयो भन्ने कुरा केही वर्षअघि आएरमात्र सार्वजनिक भएको थियो । तर, पढ्न, लेख्नमा त्यति रुचि नभएका स्नोडनले के कारणले हो, नाम सार्वजनिक गर्न चाहे र अहिले उनी अमेरिकाका लागि टाउको दुखाइका विषय बनेका छन् ।
शरण पाउन हम्मेहम्मे
स्नोडनले खासमा चीनमा शरण लिन चाहेका थिए । किनभने उनी भागेर हङकङ पुगेका थिए । तर, सायद सकारात्मक संकेत नपाएका कारण हुन सक्छ, उनले त्यसमा त्यति धेरै मिहिनेत गरेनन् । बरु, उनी २०१३ जुन २३ तारिखमा हङकङबाट रूसको राजधानी मस्कोतिर उडे । त्यहाँ रहँदा उनले सबैभन्दा पहिले शरणका लागि ल्याटिन अमेरिकी राष्ट्र इक्वेडरसमक्ष निवेदन गरे, जसले बेलायतस्थित आफ्नो दूतावासमा अमेरिकाको गोप्य सूचना चुहाएर हायलकायल पारेका जुलियन असान्जलाई शरण दिइरहेको छ ।
आफ्नै नागरिकको टेलिफोन रेकर्ड गरेको कुरा सार्वजनिक भएपछि लज्जित बनेको अमेरिकासँग राम्रो सम्बन्ध नभएका बोलिभिया, भेनेजुयला र निकारागुआले जुलाई ६ तारिखमा वक्तव्य प्रकाशित गरी आफूहरू स्नोडनलाई शरण दिन तयार रहेको जानकारी दिए । तर, जुलाई १२ मा उनले रसियामै शरणका लागि निवेदन दिए । लामो समयको छलफल र परामर्शपछि रसियाले १ अगस्टमा स्नोडनलाई एक वर्षका लागि शरण दियो र यस प्रकरणले एउटा अध्याय पूरा गर्यो । अमेरिकासँग कुरा नमिल्ने भए पनि स्नोडनलाई शरण दिनमा रसियाले विलम्ब गर्नुका पछाडि खास कारणले काम गरेको थियो । संयोग कस्तो पर्न गयो भने रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आफैं त्यहाँको गुप्तचर संस्था केजीबीका पूर्वस्टाफ हुन् ।
गुप्तचरीको दृष्टिकोणबाट हेर्दा स्नोडनले जे गरे, त्यसलाई सही मान्न सकिन्न र राष्ट्रघात मानिन्छ । तर, आफू निर्वाचित हुँदाको निर्वाचनलाई समेत धाँधलीयुक्त भनेर आफूलाई अप्ठेरो पार्ने अमेरिकालाई देखाउने मौका पुटिनले छोड्न चाहेनन् र उनलाई शरण दिए ।
शरण पाउनुभन्दा पहिला पनि स्नोडनले निकै रस्साकस्सी गर्नुपर्यो । एउटा कार्यक्रमबाट भाग लिएर फर्किन लाग्दा बोलिभियाका राष्ट्रपति इभो मोरालेसको जहाजलाई स्नोडन भएको गलत सूचनाका आधारमा अस्ट्रेलियामा जबर्जस्ती रोक्न बाध्य पारियो र खानतलासी नै लिइयो । तर, उनी त्यहाँ थिएनन् । शक्तिशाली राष्ट्रहरू आफ्नो सानो स्वार्थका लागि अरू देशको प्रमुखको समेत कतिसम्म हुर्मत लिन तयार हुन्छन् भन्ने कुराको एउटा उदाहरणका रूपमा यस घटनालाई लिन सकिन्छ ।
यति धेरै चर्चा किन ?
बेला–बेलामा कुनै देशका जासुसले सूचना चुहाएको वा अर्को देशमा शरण लिएको पाइन्छ । स्वयम् अमेरिका नै सम्भवतः अरू देशका जासुसलाई भित्रभित्रै किन्ने र ‘मोल’का रूपमा अन्य देशका सुरक्षा एजेन्सीमा राखिरहनेमा पहिलो नम्बरमा पर्छ । केही वर्षअगाडि आफूसँग राम्रै सम्बन्ध भएको भारतलाई पनि उसले यस अर्थमा धोका दिएको थियो । भारतीय गुप्तचर संस्था ‘र’का माथिल्लै तहका अधिकारी रविन्दर सिंहलाई नेपालकै हवाई बाटो प्रयोग गरेर अमेरिकाले आफ्नो देशमा पुर्याएको थियो । तर, यसपटक एकजना जासुसले विदेशमा शरण लिएकोमात्र होइन, उनले अमेरिकालाई नै लज्जित बनाउनेगरी सूचना चुहावट गरेकाले अमेरिका यति धेरै चिढिएको देखिन्छ ।
अमेरिकाले चीनमाथि नागरिकको सूचना र गोपनीयताको हकमाथि अधिकार जमाएको आरोप लगाइरहने गर्छ । खासगरी, त्यहाँ इन्टनेटमाथिको नियन्त्रणलाई लिएर अमेरिकाले चीनलाई बेला–बेलामा अन्तर्राष्ट्रिय मञ्चमा अप्ठेरो पार्ने गरिरहन्छ ।
चीनमा नागरिकका इमेल, टेलिफोनजस्ता नितान्त निजी विषयमाथि पनि निगरानी हुन्छ भनेर अमेरिकाले मुद्दा बनाइरहन्छ । तर यतिबेला चीन होइन, त्यस्तो काम नियमित रूपमा अमेरिकाले गर्दोरहेछ भन्ने पर्दाफास स्नोडनले गरिदिए । दसौं लाख अमेरिकीका टेलिफोन एकैपटक ट्यापिङ गरिरहेको खबर सार्वजनिक भएपछि अमेरिकामा पनि खैलाबैला मच्चिरहेको छ । आफूलाई व्यक्तिगत स्वतन्त्रताको मसिहा ठान्ने अमेरिकाले नै नागरिकको व्यक्तिगत हक र गोपनीयताको अधिकारमाथि यति धेरै निगरानी राख्छ भन्ने खबर अहिलेसम्म आधिकारिक व्यक्ति वा निकायबाट सार्वजनिक भएको थिएन, जुन अहिले स्नोडनले गरे । यही कारण यस घटनाको यति धेरै चर्चा भइरहेको छ ।
मिडियाको प्रतिक्रिया
मिडिया स्वतन्त्र हुन्छ भनिन्छ । भन्नलाई जुनसुकै देशमा उत्पादन भए पनि मिडियाका अन्तरवस्तु तटस्थ हुनुपर्छ पनि भनिन्छ । तर, अहिलेसम्म विश्वविद्यालयमा पढाइने पत्रकारिताका पुस्तकबाहेक त्यस्तो स्वतन्त्रता वा तटस्थता व्यवहारमा कतै देख्न पाइएको छैन । स्नोडन प्रकरण पनि त्यसबाट अछुतो रहने कुरा भएन र रहेन ।
अमेरिकी मिडियाले एडवर्ड स्नोडनलाई सिधै देशद्रोही (ट्रेटर) भनेका छन् । अन्यत्र यस्तै घटना भएको भए पश्चिमा मिडियाले त्यसमा संलग्न व्यक्तिबारे त्यति धेरै चर्चा नगरेर एउटा लोकतान्त्रिक राज्यले नागरिकका गोप्य सूचना यसरी अवैधानिक रूपमा संकलन गर्न मिल्छ कि मिल्दैन भनेर बहस सिर्जना गर्ने थिए र सरकारलाई नै अप्ठेरोमा पारिदिने थिए । तर, अमेरिकाले त्यस्तो गरेका कारण उनीहरूले बहसलाई त्यता मोडेका छैनन् र स्नोडनका पछाडि लागिरहेका छन् । स्नोडन पहिला कस्ता थिए, उनको पढाइ किन पूरा भएन, उनका साथीभाइ के भन्छन्, उनकी प्रेमिका के भन्छिन्, अब उनी कहाँ जान सक्छन् जस्ता विषयमा उल्लेख गरेर उनीहरूले पाठकलाई अल्मल्याइरहेका छन् ।
उता रूसी र चिनियाँ मिडियाले भने स्नोडन प्रकरणमा अमेरिकाको तीखो आलोचना गरेका छन् र उनलाई शरण दिने रूसको कदमको प्रशंसा गरेका छन् । रूसको चर्चित बिजनेस पत्रिका कमरसान्टले ‘एडवार्ड स्नोडन अहेड अफ ओबामा’ शीर्षकमा मुख्य समाचार नै बनायो भने सरकारी नियन्त्रणको पत्रिका रसिस्काया गजेटाले त घोषणै ग¥यो, ‘स्नोडनले रूसमा बस्नका लागि ठाउँ पाउनेछन्, एउटा जागिर र श्रीमती पाउनेछन् ।’ सरकारपक्षीय भनेर चिनिने ठूलो पत्रिका इज्भेस्टियाले ‘स्नोडनलाई शरण दिने सरकारी निर्णयको रूसी जनता समर्थन गर्छन्’ भनेर लेख्यो भने मध्यपन्थी भनेर चिनिने नेजाभिसिमाया गजेटाले चाहिँ रूसी मानवअधिकारकर्मी ल्युड्मिला अलेक्सियाभालाई उद्धृत गर्दै लेख्यो, ‘म साह्रै खुसी छु…. स्नोडनले हाम्रो मुुलुकमा शरण पाएका छन् ।’
यसैगरी, चिनियाँ पत्रिकाले पनि शरण पाएको घटनाका पक्षमा समाचार लेखेका छन् र अमेरिकी नीतिको विरोध गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले लेख्यो, ‘….सुपुर्दगीका लागि अमेरिकाले गरेका कुनै पनि प्रयास सफल हुन सकेनन् । यसले वासिङ्टनलाई लज्जित पारेको छ । बरु रूसले यस विषयलाई सजिलै सल्टाइदिएको छ ।’ हङकङबाट प्रकाशित हुने वेन वेइ पो दैनिकले लेख्यो, ‘अमेरिकाले के गरिरहेको छ भन्ने सत्य कुरा अरू मुुलुकलाई भन्नुपर्छ, जसका नेटवर्क र कम्प्युटरमा त्यस्तो गरिएको छ । अमेरिकाले अरू मुलुकको आन्तरिक मामिला र मानवअधिकार उल्लंघनका घटना तुरुन्त रोक्नैपर्छ ।’
मिडियाको दायित्व
स्नोडन प्रकरणको सिर्जना मिडियाबाटै भएको हो । पक्का पनि गार्डियन र वासिङ्टन पोस्टलाई थाहा थियो, यस्तो समाचार सार्वजनिक भएपछिको परिणाम के हुन्छ ? व्यक्तिगत रूपमा एडवर्ड स्नोडेनले के सजाय पाउन सक्छन् भन्नेबारे पनि उनीहरूलाई थाहा नभएको होइन । तर, मिडियाले कुनै त्यस्तो ‘एक्सक्लुसिभ’ समाचार पाए भने नछाप्ने कुरा भएन । सधैंभरि राजनीतिक विश्लेषण, लेख, खेलकुद र ग्ल्यामरका कुरामात्र पढिरहेका पाठकका लागि कहिलेकाहीँ यस्ता स्वादिला विषय दिन पाउँदा पत्रिकालाई खुुसी लाग्ने नै भयो । फेरि पर्याप्त प्रमाण र स्रोतको विश्वसनीयताछि प्राप्त सूचनालाई प्रकाशित नगर्ने कुरा भएन । यतिसम्म ठिकै थियो तर यहाँ त भित्र रहेको स्रोतको नाम र पदसमेत खुलाइदिएपछि हंगामा सिर्जना भयो । यसमा पत्रिकालाई केही भन्न मिल्ने अवस्था छैन । किनभने स्रोत आफैंले आफ्नो विवरण सार्वजनिक गर्न चाहेको देखियो ।
नेपालमा अथवा तेस्रो विश्वका अरू मुलुकमा यस्तो घटना भएको भए मुलुकका गोप्य सूचना प्रकाशित गरेको भन्दै पत्रिकाको तीव्र आलोचना हुने थियो, विरोध र भत्र्सना हुने थियो । तर, पत्रकारिताको मर्यादा र महत्वबारे जानकार दुनियाँ भएकाले होला, त्यहाँ त्यसतर्फ मानिसको ध्यानै गएन अथवा उनीहरूले त्यस्तो चर्चा गर्न आवश्यक नै ठानेनन् । तर, एउटा कुराचाहिँ हेक्का राख्नुपर्ने देखिन्छ । त्यो के हो भने जब स्रोतको विवरण खुलाइन्छ, त्यसबाट आउन सक्ने व्यक्तिगत सुरक्षादेखिका कुराबारे सञ्चारमाध्यम पनि सचेत हुन जरुरी छ ।