‘नेपाली मिडियाले भूमिका खेल्न सकेन’



संवत् १९९१ मा डीबी राईको जन्म भएको हो । कटुन्जे–४ भोजपुरनिवासी बुवा लप्टन नरबहादुर राई भारतीय सेना भएकाले कर्नाटक राज्यको बेलगामस्थित किङ जर्जेज स्कुलमा पढ्ने अवसर पाए । त्यही स्कुलकबाट एसएलसी आर्मी स्पेसियल सर्टिफिकेट हासिल गरे । त्यसपछि नेपाल फर्केर काठमाडौंको अमृत साइन्स कलेजबाट आईएस्सी र त्यसपछि अंग्रेजी विषयमा स्नातक गरे ।

०४६ सालपछि नेपालका विभिन्न अंग्रेजी दैनिक पत्रिका दी राइजिङ नेपाल, दी काठमाण्डु पोस्ट, दी हिमालयन टाइम्सलगायतमा स्तम्भ लेखन गरे । उनी स्वतन्त्र लेखक तथा अनुवादक हुन् । उनले पिस्कोर नेपाल, सेभ द चिल्ड्रेनलगायत अन्तर्राष्ट्रिय संस्थामा काम गरे । सामाजिक कार्यमा रुचि राख्ने उनले आफ्नो छोरा मनीषको सम्झनामा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिअन्तर्गत ‘मनीष राई स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेका छन् । स्तम्भकार डीबी राईसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईं आफूलाई कस्तो लेखकका रूपमा लिनुहुन्छ ?

म कुनै ऐतिहासिक अर्थात् चर्चित मान्छे होइन । म आफ्नो समाजप्रति माया राख्छु । सानोमा इन्डियामा पढियो । नेपाल समाज जानिदैन, बुझिँदैनथ्यो । नेपाल आएपछि हाम्रो समाजमा अलिकति पिछडापनाजस्तो अनुभूति भयो । सामाजिक भेदभाव हुँदोरहेछ । त्यसले गर्दा हाम्रो समुदायप्रति अलिक सचेत भएँ । समुदायप्रति रुचि बढ्यो । तैपनि खास गर्न सकिएन । आफ्नै धन्दा, आफ्नै पेसा गरियो ।

इन्डियामा तपाईंको बुवा के हुनुहुन्थ्यो ?

मेरो बुवा इन्डियन आर्मी हुनुहुन्थ्यो । केजी (किङ जर्जेज) स्कुल विशेष आर्मीको छोराहरूका निम्ति स्थापना भएको स्कुल हो । मैले त्यहाँ पढ्ने अवसर पाएँ । त्यो स्कुल भूपू र कार्यरत आर्मीका छोराहरू पढ्न पाउँछन् । मुख्य उद्देश्य त्यहाँ पढाएर अफिसर बनाउने हो । सिपाहीहरूको छोराहरू त्यहाँ पढेपछि माथिल्लो दर्जामा पुग्छन् । त्यसो हुँदा कम भेदभाव हुन्छ भनेर ब्रिटिसले सुरु गरेको स्कुल हो । त्यतिखेर मेरो क्लासमेट डा. हर्कबहादुर गुरुङ हुन् ।

बुवाको नाम ?

लप्टन नरबहादुर राई हो । उहाँले ००७ सालको क्रान्तिमा पनि निकै सक्रिय भूमिका निर्वाह गर्नुभयो । रक्षा दलको कमान्डर हुनुहुन्थ्यो । आमाको नाम दलमाया राई हो ।

म इन्डियामा पढेपछि आर्मीमा अनिवार्य काम गर्नुपथ्र्यो । तर, १९५२ मा इन्डियन गभर्नमेन्टले आर्मी स्कुल पास गरेपछि त्यहाँबाट बाहिर गए पनि हुन्छ, आर्मीमै जान कुनै जरुरी छैन भन्ने नीति ल्यायो । त्यो नीतिअनुसार इन्डियन आर्मी नगई ०१० सालतिर नेपाल आयौं ।

हर्क गुरुङको प्रसंग अलिक बताइदिनुस् ।

हामी एउटै स्कुल पढेको हो । उहाँ जगनपुरमा पढ्नुभो । म बेलगममा । १९४९ देखि १९५४ सम्म कक्षा ६ देखि १० सम्म सँगै पढ्यौं । पछि ठमेलमा रहेको सैनिकनिवास होस्टेल बसेर पढ्न आएँ । त्यहाँ आउँदा हर्कबहादुरसँग फेरि भेट भयो । त्यसपछि अझ हाम्रो घनिष्ठता बढ्यो ।

तपाईंलाई लेखनप्रति कसरी रुचि जाग्यो ?

पञ्चायतकालमा प्रतिबन्धित अवस्था थियो । पञ्चायतकाल हटेपछि वातावरण खुकुलो भएको हुनाले आफ्नो दृष्टिकोण, विचार राख्ने इच्छा भयो । मैले कलम चलाउन सुरु गरें । खास रुचिचाहिँ म टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेस खुब पढ्थें । त्यसमा एउटा ‘मिडवे कोलम’ हुन्थ्यो । त्यसमा रमाइलो–रमाइलो छोटकरीमा घटना, अनुभवलाई लेखिएको हुन्थ्यो । त्यस्तै, दी राइजिङ नेपालमा पनि कोलम थियो । मैले पनि लेख्न सुरु गरें । एकलदुकल पोलिटिकल आर्टिकल पनि लेख्थें । अन्य मेगेजिनहरूमा पनि लेखें । तर, खास विषयचाहिँ थिएन । सामान्य विषयमा लेख्थें । धेरैचाहिँ ननपोलिटिकल नोट्स (अराजनीतिक लेख) लेखें ।

अहिले पनि निरन्तर लेखिरहनुभएको छ ?

अब त उमेरले पाको भइसकें । पाँच/सात वर्षदेखि लेख्न छाडिसकें । तैपनि पत्रपत्रिका पढिरहन्छु । मैले लेखेका लेखमध्ये केहीचाहिँ कटिङ राखेको छु । (आफ्ना लेख पत्रिकामा छापिएका कटिङको फाइल र शीर्षक देखाउँदै) खास लेख यस्तो प्रकारको हुन्छ मेरो । भीसी गजे घलेबारे लेखेको छु । धेरै शृंखलामा ब्रिटिस गोर्खाबारे लेखें, बेलायतले विभेद गरेको विषयमा । किरातीको साकेलाबारे लेखें । विविध विषयमा लेखें ।

आफ्नो लेखको संग्रह प्रकाशन गर्नुभएको छ ?

निकालेको छैन । धेरैले निकाल्नुपर्छ भनिरहनुभएको छ । अहिलेसम्म मैले निर्णय गरिसकेको छैन । निकालेर खास केही हुँदैन । निकाल्न पनि सक्छु । ननिकाल्दा पनि खास फरक पर्दैन । पहिला–पहिला कमनर, मदरल्यान्ड पत्रिकामा प्रकाशितचाहिँ यसमा छैन । पञ्चायतकालका पत्रिकामा छापिएका संकलित छैन ।

अंग्रेजी माध्यममा मात्रै लेख्नुभयो नि ?

हो, अंग्रेजीमै मात्र लेखें । किनभने अंग्रेजी स्कुलमा पढियो । जानियो । नेपालीमा खास चासो पनि भएन । तैपनि नेपाली पत्रपत्रिका पढिरहेकै छु ।

अहिलेको पत्रकारिता कस्तो अवस्थामा पाउनुभएको छ ?

हाम्रो मिडिया बहुतै ‘बायस’ छ । यसमा हाम्रो जनजातिको समस्याप्रति बेवास्ता गरिराखेको छ । त्यसमा जनजातिको समस्या छैन भन्ने प्रकारको देखाउन खोज्दै छ । छिपाइराखेको कुराहरू छन् । जनजाति इन्डिजिनियसप्रति यहाँको मिडियाको राम्रो धारणा छैन ।

हुनुपर्नेचाहिँ कस्तो हो ?

हुनुपर्ने मिडियाहरू निष्पक्ष भएर सत्य–तथ्यलाई बाहिर निकाल्नुपर्ने हो । जनजातिहरू सफर (पीडित) भइरहेका छन् । त्यो एक्सपोज गर्दा के भो त । तर, स्टाटसवादीहरूले जुन सुविधा भोगिराखेको छ । जनजातिहरू माथि उठ्यो भनेचाहिँ त्यो सुविधाबाट वञ्चित हुन्छौं कि ? भन्ने उनीहरूलाई डर छ । हुन्छ पनि होला । तर, त्यसलाई सकुन्जेली यही व्यवस्था होस् । यही संस्कार होस् । यही कल्चर होस् भनेर उनीहरूले कोसिस गरिराखेको छ । स्टान्र्डर्ड मेन्टेन होस् । अहिले जुन सुविधा भोगिराखेको छ । पछि देखाजायगा सोचेका छन् जस्तो लाग्छ ।

तपाईंको समकालीन किराती लेखकहरू को–को हुन् ?

दुर्गाहाङ याक्खा राई हुनुहुन्थ्यो । बितिसक्नुभयो । उमेरले जुनियर भए पनि ज्ञान राई दी राइजिङ नेपालको सम्पादकै हुनुभयो । लालदेउसा राई हुनुहुन्छ । लेखकहरूसित त्यत्ति धेरै सम्पर्क नभएकाले धेरै चिन्दिनँ ।

पत्रकारिताको ‘स्कोप’ कस्तो देख्नुभएको छ ?

सही भूमिका खेल्न सकेमा पत्रकारिताको स्कोप छ । किनभने समाजको दर्पण मिडिया हो । सही ढंगले प्रस्तुत गर्न सकेको खण्डमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर, दुर्भाग्य नेपाली मिडियाले भूमिका खेल्न सकेको छैन । समाज विकसित हुँदै गयो । छोटो विचार हटाउँदै समग्रमा देशको विकास होस् । जनजाति वा नेपालको विकास होस् भनेर पत्रकारले भूमिका खेल्न सक्छ । सकारात्मक बाटोमा लैजान सक्छ ।

यसको दीर्घकालीन प्रभाव राख्न कसरी एकजुट हुनुपर्ला ?

साँच्चिकै नेपालको विकास गर्नुपर्छ भने जनजातिको विकास पनि साथै छ । अलिकति माथिल्लो जातिका भनाउँदाहरूको विचारधारा छ, त्यसमा आमूल परिवर्तन आउनुपर्छ । उनीहरूले यो विचार गर्नुपर्छ, हामी सबै नेपाली हौं । जातीय भेदभाव हुनुहुँदैन । ठूलो सानो हुनुहुँदैन । यो भावना उहाँहरूमा छ । त्यो उहाँहरूले त्यागेर एक हौं भन्ने विचारधारा ल्याउन सके सम्भव छ । अहिलेकै परिस्थितिमा त्यो देखिएको छैन । जातीय पहिचानलाई घृणा गरिराखेको छ । जातिको नामले मात्रै खास फरक पार्दैनजस्तो लाग्छ । त्यही नामको पछाडि गएर यहाँका तथाकथित माथिल्लो नेतृत्व वर्गले एकल पहिचानको आपत्ति जनाइरहेको छ । त्यसमा कुनै कारण थिएन । उनीहरूले आफ्नो भाग खोसेजस्तो अनुभूति गरेका छन् ।

सूचना प्रविधिको विकासले भूमण्डलीकरणको स्थितिमा नयाँ पुस्ता कसरी अघि बढ्नपर्ला ?

अहिले नयाँ पुस्ता जुन वातावरणमा हुर्किरहेको छ, वातावरण राम्रै छ । उनीहरूले अगाडिको पुस्ताको अनुभवलाई नै लिएर अघि बढ्यो भनेचाहिँ सम्भव छैन । तर, युवा पुस्ताले खुलामा खुला भएर अघिल्लो पुस्ताका आपत्तिजनक कुरा, व्यवहारप्रति हामी संलग्न हुनुहुन्न । हामीले त्यसो गरेर हुन्न । हामी स्वच्छ भएर अगाडि बढ्छौं भन्ने भावना युवा पुस्तामा सिर्जना हुन सक्नुपर्छ ।

प्रस्तुति : गणेश राई

प्रतिक्रिया दिनुहोस्