मान्छेका सपना स्थायी हुँदैनन् । सपना स्थायी हुनेको लक्ष्य सीमित हुँदैन । त्यस्तै भएको छ– विवश कुलुङको जीवनमा । पढ्दै गर्दा बाबुआमाले छोरा स्थायी शिक्षक भएको देख्न चाहन्थे । तर, उनले बाबुआमाको सपना पूरा नगरी पत्रकारितामा भविष्य खोजिरहेका छन् ।
अत्यन्तै विकट गाउँमा जन्मेका कुलुङले पत्रकारिता सुरु गरेको दुई वर्षपछि मात्र मोबाइल चलाउने अवसर पाए । बाल्यकालमा सञ्चार र समाचार बुझेका थिएनन् । तर, उनी हिजोआज पत्रकारितामै रमाइरहेका छन् । चौतारोका गफमा अरूले फलानो ठाउँमा घटना भयो रे भनेर सुनेको र कहिलेकाहीं गाउँतिर आउने गाइनेले गीतमार्फत ल्याउने खबरबाहेक समाचारबारे केही थाहा थिएन ।
मनोरञ्जन वा सञ्चार जे भने पनि गाउँमा केही घरमा बजेको रिलवाला क्यासेटको गीतबाहेक कुनै पनि प्रविधिसँग बाल्यकालमा जोडिन नपाएको उनको भनाइ छ । गाउँमा कुनै रेडियो टिप्दैनथ्यो । सोलुखुम्बुमा भर्खर सोलु एफएम सुरु भए पनि फ्रिक्वेन्सीले गाउँसम्म ‘कभर’ नगरेकाले सोलु एफएमसमेत सुन्न पाएनन् । फाट्टफुट्ट गाउँका केही डाँडामा कान्तिपुर एफएम टिप्थ्यो । तर, घरमा रेडियो नभएकाले सुन्ने अवसर जुरेन । गाउँमा केहीको रेडियो थियो तर रेडियो सुन्न उनीहरू पनि डाँडाडाँडा चहार्थे । त्यहीबेला रेडियोवालाको पछि लागेर कहिलेकाहीं सुनेको समाचार अहिले सम्झँदा सपनाजस्तो लाग्छ ।
प्रविधि र सञ्चारसँग टाढा रहेका उनी एलएससीपछि सगरमाथा साप्ताहिक कार्यालयमा पत्रमित्रता स्तम्भका लागि शुल्कसहित फोटो पुर्याउन पुगे । त्यहाँबाट उनको नाममा दुई/चार चिठ्ठी आए । सञ्चारसँग सामान्य ‘कनेक्सन’ त्यहाँबाटै सुरु भयो । त्यो पेसा होइन, मात्र सञ्चारमाध्यमको पहिलो उपभोगचाहिँ हो ।
सोलुखुम्बुको कर्णाली बनेर चिनिने साबिक गुदेल गाउँ विकास समिति–६ चाचालुङमा उनको जन्म भयो । जहाँ पत्रकार भन्ने पेसासमेत नसुनेका उनले अन्ततः पत्रकारितालाई पेसा बनाए । पत्रकारितामा न सिकाउने कोही थिए न त हौसला दिने नै । कसैले कल्पना नगरेको पेसा रोजे । जब सगरमाथा साप्ताहिकमा पत्रमित्रताको फोटो र विवरण पुर्याउन पुगेका उनले सम्पादकको मन जिते । रिपोर्टिङ कहिल्यै नगरेका । गाउँमा रेडियोसमेत नबज्ने भएकाले पत्रिका वितरणबाट पत्रकारिता थाले । सोलुखुम्बुको गुदेल गाविसमा प्रत्येक हप्ता २० वटा पत्रिका बाँडेर पत्रकारितासँग जोडिए । उनलाई त्यसबेला म सञ्चार प्रतिनिधि हुँ भन्नेसम्म थाहा थिएन । उनको नाम पत्रिकामा छापिएको लोभमा पत्रिका वितरण गरिरहे ।
गरिबी र बेरोजगारसँगै दसवर्षे जनयुद्धताका घरको आम्दानी स्रोत बलियो थिएन । पत्रिकामा छापिएको नाम र पत्रिकाको गाविस प्रतिनिधिको काम छाडेर भारी बोक्न थाले । पत्रिका वितरण गर्ने साथीलाई जिम्मा दिए । तीन महिना भारी बोक्दा पनि केही सीप नलागेपछि उनी होटलको भाँडा माझ्न भारतको किसनगढ दिल्लीमा रहेको सहारा होटल पुगे । तीन महिना भाँडा माझेर नेपाल फर्कंका बेरोजगार भए ।
त्यसपछि पुराना चिनजान तथा सगरमाथा साप्ताहिकका सम्पादक पीटी लोप्चनलाई पुनः भेटे । संवत् २०६६ मा सोलुखुम्बु पोस्ट साप्ताहिक प्रकाशन सुरु भएको थियो । त्यहींबाट मिडिया हाउसको कर्मचारीका रूपमा पत्रिका बाँड्ने काम थाले । ‘मैले पत्रकारिता सुरु गर्दा सोलुखुम्बमा इन्टरनेट पहुँच थिएन,’ उनले भने, ‘मसँग मोबाइलसमेत नभएकाले फोन सम्पर्क गर्ने माध्यम थिएन । पत्रिका वितरण गर्दै जाँदा पत्रकारितामा डोरिएँ ।’ उनले पत्रिका वितरण गर्दैगर्दा सम्पादकको हौसला र सुझाव पाइरहे । समाचार लेखनसँगै टाइपिङ र लेआउट सिक्न मौका मिल्यो ।
दुई वर्षसम्म स्थानीयस्तरमा पत्रिका वितरण गर्ने र विज्ञापन खोज्ने काम गर्दैगर्दा अग्रज दाइहरूको संगतबाट पत्रकारिताको लत लागिसकेको उनलाई थाहा थिएन । ०६८ देखि आफैंले समाचार लेख्न कोसिस गर्दै गोरखापत्र दैनिकको जिल्ला संवाददाताबाट उनको समाचार लेखन सुरु भयो । त्यसबेला इन्टरनेटको पहुँच राम्रो नभएकाले कहिले फ्याक्स र कहिले फोनबाट समाचार टिपाएको सम्झना उनीसँग ताजै छ ।
‘पत्रकारिता ?,’ उनको मान्यता छ, ‘सबैभन्दा खुसीको पेसा हो ।’ व्यक्तिगत लाभ, अनुचित फाइदाको पछि कुद्न नहुने उनको भनाइ छ । मैले लेखेको समाचारका कारण कसैको घरमा बिजुली बल्यो । कसैले छात्रवृत्ति पाए । समाचारका कारण भ्रष्टाचार, अनियमितता गर्ने सचेत भए । कतै भौतिक संरचना बने ।
पत्रकारिता गर्दा धेरैपटक ज्यान मार्ने धम्की पाए । समाज परिवर्तनका लागि कलम चलाउँदै गर्दा आउने धम्की सामान्य ठान्छन् । उनी भन्छन्, ‘धम्कीका घटना सामान्य लाग्छ । तर, त्यो क्षण पीडादायी हुन्छ ।’
आफूले समाचार लेखेकै कारण सामाजिक सञ्जालमा विवश कुलुङ कहाँ छ ? भनेर कुटपिटका लागि फेसबुकमा लेखिएको सम्झँदा अझै नमिठो लाग्छ रे । गाउँकै अमरज्योति आधारभूत विद्यालयले अभिभावक भेला नगरी विद्यालय व्यवस्थापन समिति बैठकबाट मात्र निर्णय गरेर भर्नाका लागि ८०० रुपैयाँसम्म शुल्क लिएपछि गोरखापत्रमा समाचार लेख्दा ज्यान मार्ने धम्की आयो । त्यतिबेला डरले तीन महिनासम्म गाउँबाहिर लुकेर बस्नुपरेको पीडा सुनाउँछन् । उनले भने, ‘समाचार असत्य भएर कहिल्यै धम्की पाइनँ । केही धम्कीका प्रमाण अझै सुरक्षित राखेको छु ।’
एउटै व्यक्ति वा संस्थाको भलाइको काम गरेर आफ्नै पहलमा भौतिक तथा शैक्षिक सुधारका काम हुँदा कसैले प्रशंसा गरेनन् । त्यसै प्रवृत्तिबाट नराम्रो भएको समाचार लेख्दा भने ज्यान मार्नेसम्मको धम्की आएको उनको भनाइ छ ।
मोफसलमा रहेर पनि गाउँलाई प्राथमिकतामा राखेर पत्रकारिता गरेका उनले लेखेको समाचारका कारण संस्थागत सुधार, उपचारमा सहयोगदेखि भौतिक तथा शैक्षिक सुधार र पीडितले न्यायको ढोका ढकढक्याउनुपर्ने रहेछ भन्ने जनचेतना फैलाउने योगदान रहेको उनको दाबी छ ।
पत्रकारिता पेसालाई व्यावसायिक सोचेर सुरु गरे पनि सीप र ज्ञान तथा तालिम अभावमा व्यावसायिक हुन नसकेपछि उनले सोलुखुम्बुको सदरमुकाममै दुई होटलमा भाँडा माझे । त्यसबेला हाम्रोविरुद्ध समाचार लेख्ने विवश भाँडा माझ्दै छ । बल्ल सुहाउँदो पेसा पाएको छ भनेर कुरा काट्न थालेपछि फेरि पत्रकारितामै फर्किए । त्यसपछिको संघर्ष पनि अविस्मरणीय रहेको उनले बताए । समाचार लेख्दा मोफसलमा मासिक पाँच हजारसम्म मात्र कमाइ हुने । स्ट्रिन्जरबाट मासिक दुई हजारसम्म मात्र कमाएको पैसाले महिना धान्न मुस्किल । कैयौंपटक भोकै सुते । घरबाट खर्च मागेनन् । संघर्ष गरे । हार खाएनन् । दबाब र अभावमा बाँच्न प्रयास गरे । पुर्खाले नगरेको पेसा रोजेर कसम खाएपछि चारपाउ टेकेर हिँडिरहे ।
पत्रकारिता रोजेर एक दशकभन्दा बढी बिताउँदा पनि उनले खास राजनीतिमा चासो राखेनन् । कुनै पार्टीसँग धेरै नजिक र कुनै पार्टीसँग धेरै टाढा रहेर काम गरेनन् । अभाव र दबाबबीच पत्रकारिता गर्दैगर्दा काँग्रेसको पार्टी कार्यालयमा निःशुल्क बस्दा सबैले काँग्रेस भने । उनले कहिल्यै आफूलाई काँग्रेसको क्रियाशील सदस्य बनाउनूस् भनेर कसैसँग आग्रह गरेनन् । पार्टी कार्यालयबाट सरेर स्थानीय अर्को मिडियामा जाँदा अर्कै पार्टीको भनियो । संगत जोसँग गरियो, उसैसँग बढी बोलचाल र भेटघाट हुनु स्वाभाविक भए पनि खुलेरै पार्टीको आस्थावान पत्रकार नबनेको उनको भनाइ छ ।
‘कुनै पार्टीसँग आबद्ध नभएकै कारण म अहिले पत्रकार महासंघको सदस्यसमेत छुइनँ । पहिला थिएँ,’ उनले सुनाए, ‘तर, जब चुनाव आउँछ अनि पार्टीको प्यानल हुने भएकाले त्यागेको हुँ ।’ त्यही पार्टीकै प्यानलका कारण पत्रकार महासंघको जिल्ला अधिवेशनमा आफूले जानी–जानी मत बदर गरे । एक समूहसँग संगतका कारण स्वाभाविक रूपमा म नजिक थिएँ तर अर्को समूहले पनि तपाईं त हाम्रो मान्छे है भनेर मत दिएको प्रमाण माग्न थाले ।
कतै संगठन तथा पार्टीसँग सम्बद्ध नभएकै कारण उनले कुनै पनि कार्यकारी पोस्टमा रहेर काम गरेका छैनन् । उनले पाएका कार्यकारी पोस्ट भनेको कर्मचारीलाई दिइने पोस्टमात्र हो । उनले पाएको सबैभन्दा पहिलो र ठूलो पोस्ट भनेको केन्द्रबिन्दु अनलाइनको उपसम्पादक हो । ०७५ मंसिरदेखि मोफसलको रिपोर्टिङ त्यागेर काठमाडौं झरेका उनले आजको न्युजमा नौ महिना रिपोर्टिङ गरे । त्यहींबाट डेस्कको भूमिका थाले । त्यसपछि केन्द्रबिन्दुमा एक वर्ष उपसम्पादकका रूपमा काम गरे । ०७६ चैतदेखि नेपालफ्ल्यासको उपसम्पादकमा कार्यरत छन् ।
पत्रकार विवश कुलुङको आफ्नो न्युज नामक प्रेरक अनलाइन म्यागेजिन पनि छ ।