‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा
‘साथी फेर्न सकिन्छ
छिमेकी फेर्न सकिन्न’
म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।’
कवि कृसु क्षेत्रीले आठौं कृति ‘चराको गीत’मार्फत प्रजातन्त्र, स्वतन्त्रता र नवनिर्माणको आह्वान गरेका छन् । बयालीसवटा कविता रहेको साझा प्रकाशनबाट प्रकाशित कृतिमा कविले मुलुक र विश्वका नागरिकका पहिचान, राष्ट्रियता र भोकको पीडालाई राम्ररी मुखरित गर्न सकेका छन् । आमामा नै प्रकृतिका सबै अवयव भेट्ने कवि क्षेत्री आफ्ना पितालाई जीवनको ट्राफिक बत्ती, शिक्षक र सारथी ठान्छन् । उनी आफ्ना कवि दाइलाई भने प्रमिथस, सिद्धार्थ र कृष्ण मान्छन् । कवि दाइको व्यक्तित्वले आफूलाई जताततै थिचेकामा उनले आफूलाई निकै हीनताबोध भइरहेको पीडा पनि पोखेका छन् ।
महाभारत र नेपाली इतिहासका थुपै्र पात्र र विम्बलाई प्रयोग गरेका कविले पश्चिमा मिथकीय र वास्तविक पात्रलाई पनि कवितामा ल्याएका छन् । यिनी मातृभाषा, संस्कृति र राष्ट्रियताप्रति हुरुक्कै हुन्छन् । नेपाली महावाणिज्यदूतावास न्युयोर्क, अमेरिकाका पूर्ववाणिज्यदूत क्षेत्री अमेरिका, फ्रान्स, बेलायती पृष्ठभूमिका कवितामार्फत शरणार्थी र आप्रवासीका आवाज उठाउँछन् । कवि माओवादी द्वन्द्वका बेला मारिएकी काजोल खातुनमार्फत हिंसाको विरोध गर्छन् र मुलुकको भविष्यप्रति चिन्ता पनि व्यक्त गर्छन् । केही प्रेम प्रणयका विषय, केही मुलुकको अवस्था र र केही विश्व परिवेशका सामग्रीबाट उनका कवितामा विविधता भेटिन्छ ।
पारिवारिक विषय बढी नै उठाएका कविमा मुलुकको चिन्ताका साथै विश्वको समस्या केलाउने सामथ्र्य पाइन्छ । केही वर्णविन्यासका दोष पनि छन् । कृति पढेपछि पाठकले पछिल्लो पुस्ताको लेखन प्रवृत्ति राम्ररी बुझ्न सक्छ ।
‘ए स्वतन्त्रताकी देवी !
तिमी हुनु र नहुनुको कुनै अर्थ छैन
औचित्य सावित गर
नत्र हाम्रा शरणार्थीहरूको आत्महत्यामा सहभागी बन ।’