सम्पादकीय लेख्न रुचाउनेको कुशल अन्तर्वार्ताकार बन्ने सपना अधुरो



नागरिकतामा संवत् २०३६ फागुन ८ उल्लेख भए पनि पत्रकार युवराज लिम्बूको जन्म २०३५ फागुन ८ मा भएको थियो । साबिक इटहरा–५ मोरङनिवासी लिम्बू आमसञ्चार तथा पत्रकारिता विषय पढ्न काठमाडौं आएका थिए ।

काठमाडौंको प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा आईए दोस्रो वर्ष पढ्न थाल्दैदेखि लिम्बूले श्रम साप्ताहिकमा काम गर्न थालेका थिए । विविध कारणले सो साप्ताहिकबाट अलग्गिएपछि जागिरको सिलसिलामा उनले जापान ओभरसिजमा काम गर्न थाले । मेनपावरमा काम गर्न मन नलागी–नलागी जागिर खानु उनको बाध्यता थियो । उनले सो मेनपावरमा वर्ष दिनजति काम गरे । त्यहाँदेखि यता उनी पत्रकारितामै रमाइरहेका थिए ।

जहाँ–जहाँ उनले काम गरे लामो समय टिकेनन् । सायद त्यो बाध्यता थियो । श्रम साप्ताहिकबाट अलग्गिए पनि उनले स्वतन्त्र रूपमा लेखिरहे । पत्रकारिता गर्ने सिलसिलामा उनी संघात्मक मासिकको विशेष संवाददाताको भूमिका निर्वाह रहे । सो पत्रिकाले पनि निरन्तरता पाएन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) द्वारा प्रकाशित गोरखा सैनिक आवाज मासिकमा समेत उनले एक अंक सम्पादन सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

विविध समस्याबीच पनि उनले पत्रकारिता र पढाइ छाडेनन् । पछिल्लो समय काठमान्डु टुडे साप्ताहिक संवाददाता, हङकङबाट प्रकाशित ‘सनराइज’ साप्ताहिक सम्पादक, मलेसियाबाट प्रकाशित ‘द पृष्ठभूमि’ साप्ताहिकको सम्पादन गर्न भ्याएका उनले गोर्खा सञ्चार सहकारीद्वारा प्रकाशित ‘द गोर्खाज’ साप्ताहिकमा सहायक सम्पादक हुँदै कार्यकारी सम्पादकको भूमिका निर्वाह गरेका थिए ।

पत्रकारिताका विद्यार्थी सबै विषयमा जानकार हुनुपर्छ । सबै विषयमा जानकारी राख्न रुचाउने उनी विशेषतः सम्पादकीय लेख्न र अन्तवार्ता लिन रुचाउँथे । ‘डे टु डे’ जर्नालिजम गर्नभन्दा खोज पत्रकारितामा रुचि राख्थे । त्यही भएर खोज पत्रकारिता तालिमसमेत लिन भ्याएका उनी नेपालको राम्रो अन्तर्वार्ताकार बन्न चाहन्थे ।

त्यतिमात्रै होइन, उनले अन्य थुप्रै सपना बुनेका थिए । सपना ठूलै देख्नु भन्छन् । उनले देखेका सपना आकांक्षी थिएनन्, थिए त केवल पत्रकारितामार्फत सामाजिक रूपान्तरण, जातीय मुक्ति, स्वायत्त लिम्बुवान र समृद्ध नेपालको । यसैगरी, लिम्बू अवधारणामा आधारित मिडिया जर्नल निकाल्ने, लिम्बू जातिको उत्थान र विकासका लागि उनले थालेको बौद्धिक पहलसमेत उल्लेखनीय थियो ।

जस्तोसुकै अप्ठ्यारो अवस्थामा समेत नआत्तिने, कत्ति पनि तनाव नलिने युवराज लिम्बू पछिल्लो समय केही निराश देखिन्थे । भन्थे, ‘गाउँ (इटहरा, मोरङ) बाट पढाउन बोलाइराखेका छन्, जाउँ कि के गरौं भइराखेको छ ।’

पत्रकारितामा भिजेका युवराज लिम्बूको सुनसरीको धरानमा भएको लिम्बू पत्रकार संघको पहिलो अधिवेशनबाट निर्वाचित भएको दोस्रो दिन हृदयाघातबाट निधन भयो । लिम्बूको निधनले समावेशी सञ्चार निर्माणमा अपूरणीय क्षति पुग्नुको साथै आदिवासी जनजाति समुदाय र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले प्रतिभाशाली पत्रकार गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्