मकैको खोस्टाको मुढाबाट मालामाल



चिप्लेढुुंगा (पोखरा) । पछिल्लो समय सीपमा आधारित हस्तकलाको माग बढ्दै गएपछि सीप सिक्न गृहिणी महिलाको रुचि र जाँगर बढ्न थालेको छ । पोखरामा मकैको खोस्टाबाट बनाइएका मुढाको माग बढ्न थालेपछि तालिम लिने र घरमै मुढा बनाएर आयआर्जन गर्ने महिला बढ्न थालेको पोखरा हस्तकला संघ कास्की अध्यक्ष एवम् पद्मावती हस्तकला उद्योगका सञ्चालक हीरा भट्टराई बताउँछिन् ।

‘हामीले यस उद्योगबाट विभिन्न तालिम प्रदान गर्छौं । तर, पछिल्लो समय मकैको खोस्टाबाट बनाइएको मुढाको माग बढ्न थालेपछि यसलाई निरन्तरता दिँदै आएका छौं,’ भट्टराईले भनिन्, ‘अहिले लायन्स क्लब अफ पोखरा गण्डकीको आयोजना र पद्मावती हस्तकलाको सहकार्यमा ३० जनालाई दुई हप्ताको तालिम दिइसकेका छौं । इच्छुकलाई तालिम निरन्तर दिइरहनेछौं ।’

‘फेन्सी’ सामानले बजारमा हस्तकलाको व्यापार घटाइरहेको भन्ने कतिपय कुरामा उद्यमी भट्टराई सहमत छैनन् । उनका अनुसार मानिसका चाहना एकैकिसिमका हुँदैनन्, सबैले फेन्सी तयारी सामानमात्रै मन पराउँछन् भन्ने लाग्दैन । अहिले प्राकृतिक र हस्तकलाका सामग्रीको बजार राम्रो हुँदै गएको छ ।

‘बजारमा पाइने तयारी मुढालाई बाहिरबाट विनारंगरोगन मकैका खोस्टाको बुनाइले छोपिन्छ र आकर्षक बनाइन्छ । यो प्राकृतिक पनि देखिन्छ,’ उनले थपिन्, ‘अहिले ६ जना महिलाले घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेका छन् ।’

मकैको खोस्टाको मुढाको माग पछिल्लो समय विभिन्न होटलबाट आउन थालेको पद्मावती कोसेली घरकी बजार व्यवस्थापक पूर्णिमा रिजालले बताइन् । ‘हामीलाई काठमाडौंबाट समेत मुढाको ‘अर्डर’ आएको छ,’ रिजालले जानकारी गराइन्, ‘यसका साथै पोखरा लेकसाइडका होटल, घर र विदेशमा रहेका नेपालीको रोजाइमा पनि यस्तो मुढा परेको छ ।’ यस्ता मुढा धेरै नेपालीले विभिन्न देश पुर्याउने गरेको उनको सुनाइन् । दुईदेखि साढे तीन केजीसम्मको तौल हुने भएकाले विदेश लैजान चाहनेलाई त्यति गाह्रो नहुने उनले बताइन् ।

नौ महिनादेखि मुढा बनाउँदै आएकी हीरा कुँवर आयआर्जनको राम्रो माध्यम भएको बताउँछिन् । ‘मैले पद्मावतीबाट तालिम लिएँ । अहिले तालिम दिँदै आएकी छु,’ कुँवरले प्रस्ट्याइन्, ‘व्यावसायिक रूपमा मुढा पनि बुन्दै आएकी छु । एउटा मुढा बनाएबापत एक हजार ज्याला पाउँछु ।’ घरको सबै काम सकेर बचेको समयमा एक मुढा बनाउन उनलाई दुई/तीन दिन लाग्छ । जति जाँगर चलायो उति कमाइ हुन्छ ।

पोखरा महानगरपालिका–१४ काजी पोखरीकी ४४ वर्षीया लीला थापा मुढा बनाउने तालिमपश्चात् यही सीपलाई व्यवसायमा परिणत गर्ने सोच भएको बताउँछिन् । ‘मैले पहिलोचोटि यो तालिम लिएकी हुँ,’ थापाले भावी योजना सुनाइन्, ‘अब यसलाई व्यासायिक रूपमा अघि बढाउने सोच बनाइरहेकी छु ।’

झाडु, कुचोको सानो पसल गर्दै आएकी मुना गुरुङले तालिमपश्चात् पसलमा मुढा बनाएर बेच्ने बताइन् । ‘तालिमले सीप दिनेछ । आफ्नो व्यवसायमा यो अर्को उत्पादन थप्छु,’ गुरुङको बुझाइ छ्, ‘फिनिसिङ नभएको सामान बिक्री गर्न गाह्रो हुने र त्यसलाई आकर्षक बनाउन थप मिहिनेत जरुरी छ ।’

‘मकैको खोस्टाबाट बनाइएका मुढा हीरा भट्टराईको फेसबुकवालमा देखेपछि निकै आकर्षक लाग्यो । तुरुन्तै उहाँसँग सम्पर्क गरेर ६ वटा मुढा र ६ वटा चकटी लगेर गएँ,’ लायन्स क्लब अफ पोखरा गण्डकीका निर्वतमान अध्यक्ष मोना थापाले भनिन्, ‘घरमा आउने पाहुनाले मुढा निकै मन पराएर सोधीखोजी गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्