भूमिसुधार कार्यालयको जागिर छाडेर खोज अभियानमा १०० वर्षीय वृद्ध


‘शुभकामना, शान्ति, समानता, एकता र नेपालको गुमेको जमिन फिर्ता हुनुपर्छ,’ कोही नयाँ व्यक्तिसँग भेट हुनेबित्तिकै यही बाक्यबाट सुरु हुने रहेछ उनको वार्ता । उनी अर्थात् भीमबहादुर थापा । तर, थापालाई नेपाली समाजले चिन्ने नाम हो ‘खोज बाजे’ । १०० पुग्नै लागेका उनले नेपालमा ‘खोजी’ गरेको चार दशक नाघिसक्यो । यति लामो खोजीबाट के पाउनुभयो त ? यो प्रश्नको जवाफ भने उनीसँग छैन ।

“यो खोज अभियान कुनै पनि विषयवस्तुको वास्तविकता पत्ता लगाउन र सतही नबन्न आममानिसलाई सन्देश हो । म त राजनीति, जागिर छोडेरै खोज अभियानमा लागेँ । मुलुकका ७७ वटै जिल्ला पुगेर खोज अभियानको प्रचार पनि गरेँ । युवापुस्तालाई कसैको पिछलग्गु नबनी वास्तविकता खोज्न मैले यो अभियानबाट प्रेरित गर्न खोजेको हो । कुनै विषयको गहिराइसम्म पुगेर खोजी गरे कसैको सतही कुराको पछि लाग्न पर्दैन,” उनको भनाइ छ ।

हरेक व्यक्तिको मनले हरपल केही न केही खोजिरहेकै हुन्छ । मानिसको सर्वाधिक खोजीको विषय हुन सक्छ– सुख, शान्ति, समृद्धि, सुरक्षित भविष्य आदि । सयवर्षे उमेरका भीमबहादुर थापाको खोजी अहिले पनि जारी नै छ । तर, त्यो सुख र उनको आफ्नो व्यक्तिगत समृद्धिका लागि भने होइन । अहिले भने उनले नेपालको मिचिएको सीमा फिर्ता गर्न कुनै सरकारले सार्थक प्रयास किन नगरेको होला भनेर मनमनै खोजिरहेका छन् । देशको सिमाना मिचिँदा पनि किन कुनै सरकारले सार्थक प्रयास गरेनन् ? “मैले पनि खोजिरहेको छु र यसको खोजीमा लाग्न युवापुस्तालाई आह्वान पनि गर्दछु,” उनी भन्छन् ।

यस्तै खोजी उनले बिजुलीको पोल, भित्ता, पर्खाल, ढुंगा या यस्तै ठाउँमा गर्दै आएका छन् । चोक, भित्ता र यस्तै ठाउँमा कालो अक्षरले ‘खोज’ लेखिएको देखिन्छ, जुन खोजी उनले नै गरेका हुन् । कम्युनिस्ट राजनीतिमा लागेका थापा २०३५ सालदेखि वितृष्णा जागेर खोज अभियानमा लागेका हुन् । कम्युनिस्ट पार्टी पनि काँग्रेसजस्तै बन्दै गएको भन्दै महसुस भएपछि राजनीति छाडेर खोज अभियानमा लागेको उनले सुनाए ।

संवत् १९७७ वैशाख २६ गते सिन्धुलीको खुर्कोटमा जन्मेका थापाले आफू खोज अभियान चलाउन नै जन्मिएजस्तो लाग्ने बताउँछन् । उनले खोजी गरेको स्थानमा अरू केही लेख्दैनन्, ‘खोज’ मात्र लेखेर छोड्छन् । त्यस अभियानलाई प्रचार–प्रसार गर्न थापाको झोलामा हम्मर, छिनो, इनामेल, ब्रस तथा आवश्यक अन्य सामग्री छन् । यसरी भित्तामा लेखिएको र ढुंगामा कुँदिएको खोज अभियान उनले नै लेखेका जागरणमूलक र सन्देशमूलक नारा हो ।

“अहिले तपाईंसँग कुरा गरिरहँदा पनि मेरो मनले केही न केही खोजिरहेकै छ । मनले जे कुरा खोजेको हुन्छ, पछि त्यो खोज्न म भौतिक रूपमै लाग्छु,” उनले भने । तर, यो एउटा ‘खोज’ शब्दले के खोजिएको हो भनेर कसरी बुझ्ने त ? उहनको जवाफ छ, “होइन मानिस सतही छ, उसलाई अझै धेरै जान्नुपर्नेछ, त्यसैले जीवन र जगत्का धेरै कुरामा खोजी गर्नु जरुरी छ, मानिसले हरचिज खोजेर पाउन सक्छ । तर खोज्नुपर्छ ।”

कम्युनिस्ट पार्टीको राजनीतिमा सक्रिय थापा ०३२ मा जेल परे । सिन्धुलीबाट थापालाई दोलखाको चरीकोट जेल चलान गरियो । छ महिनापछि जेलबाट छुटेपछि उनलाई सिन्धुलीका तत्कालीन प्रमुख जिल्ला अधिकारीले भूमिसुधार कार्यालयमा जागिर पनि दिए । दुई महिनासम्म सरकारी जागिर खाए पनि उनको मन त्यहाँ रमाएन । किनकि थापाको मनले खोज गरिरहेको थियो । उनको मनले खोज अभियानलाई विस्तार गर्दा नै खुसी अनुभव गर्यो ।

उनी भन्छन्, “शोषक र सामन्तविरुद्ध अभियान चलाउन मैले छिनो र घनको झन्डा बोकेर हिँड्ने गरेको हुँ ।” एकथरीले सिन्को नभाँची मोजमस्ती गर्ने र अर्काथरीले दिनभर घोटिँदा पनि साँझ बिहान हातमुख जोर्न नपुग्ने अवस्थाबाट दिक्क भएर थापा शोषक सामन्तविरोधी अभियानमा लाग्नुभएको हो । निमुखाको पसिना चुस्नेविरुद्ध आफ्नो खोज अभियान सुरु भएको र अहिले पनि जारी रहेको उनले सुनाए ।

“राष्ट्रवादको नारा दिएर चुनावमा बलियो जनमत ल्याएको वर्तमान सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गर्दा पनि केही गर्न नसकेको देख्दा मन रुन्छ । यस्ता कुरामा युवाले खोज अभियान चलाउनुपर्छ, विज्ञले मन्त्रीलगायत सरकारी कार्यालयमा बनाएर दिएको नक्सासमेत हरायो भन्ने खबरले गम्भीर शङ्का जन्माएको छ,” समसामयिक विषयलाई खोज अभियानसँग जोड्दै उनले भने ।

“खोजका सम्बन्धमा थापाको परिभाषा सरल छ, ‘‘बतास लागेर रूखका हाँगा भाँच्चियो, नदी बेस्सरी बगिरहेको छ, आगो किन बल्यो ? चिसो किन भयो ? खोजी गर्यो भने थाहा हुन्छ । नेपालमा पनि धेरै खोज दार्शनिक छन् र छैनन् भन्नेले कुन ढुंगामा आगो छैन खोज्नुपर्छ ? त्यसको प्रस्ट जवाफ दिन सक्नुपर्छ, मन, पवन, नयन रोकेर आफैँभित्र तथ्यवस्तु खोज्नुपर्छ, अध्ययन, सिद्धान्त र व्यवहारको तालमेल मिलाएर खोज्नुपर्छ, यसैबाट सबै कुरा बुभिन्छ, मानिसले दर्शन बुझ्ने र भेट्टाउने तरिका नै यही हो,” उनको बुझाइ छ ।

सय वर्षको उमेरमा पनि खोज अभियानमै सक्रिय छन् थापा । जैविक भएकाले मानिस बूढो हुन सक्छ तर मन र दर्शन कहिल्यै बूूढो नहुने उनको ठम्याइ छ । के घाम, पानी, हावा पनि बूढो र पुरानो हुन्छ ? उनको प्रश्न छ । मानव मुक्तिका लागि खोजी अभियान जारी राख्नुपर्ने उनको सुझाव छ । खोजले नै श्रम गरिखानेलाई गौरवमय जीवन बिताउन दिने उहाँको ठम्याइ छ । राजनीतिक अधिकार प्राप्त भएपछि मात्र अन्य विषय खोज्न सकिने भएकाले आफू जीवनको सुरुको मोडमा राजनीतिक अधिकारका लागि लागेको उनले बताए । पूर्ण रूपमा राजनीतिक अधिकार प्राप्त भएको वर्तमान सन्दर्भ गहिरिएर खोज गर्नेका लागि उपयुक्त समय भएको थापाको ठम्याइ छ ।

विषयवस्तुको विश्लेषण गर्न सक्ने चेतना मानिससँग भएकाले कुनै पनि विषयको जरामै पुगेर खोज गर्न उनले नयाँ पुस्तालाई प्रेरित गरेका छन् । अबका चिन्तक स्रष्टाले आफैँभित्र लुकेको सत्यकुरा खोजी गरेर जनतामा दिनुपर्नेमा खोज अभियानकर्मी थापाले जोड दिए । उनको अभियानलाई नजिकबाट नियालिरहेका पूर्वमन्त्री एवं सांसद हरिबोल गजुरेल दृढ भएर जेलनेलसमेत सही खोजलाई स्थापित गराएको बताउँछन् ।

“खोज अभियानलाई समूह बनाएर संस्थागत रूप दिएको भए अझ राम्रो हुने थियो, रूपचन्द्र विष्टले ‘थाहा’ अभियानलाई समूह बनाई संस्थागत रूप दिएजस्तो खोज अभियानलाई पनि अघि बढाइनुपर्छ,” उनले भने ।

रूपचन्द्र विष्टले २०३० तिर ‘थाहा’ आन्दोलन सुरु गरेका थिए । त्यसको केही वर्षमै थापाले पनि खोज अभियान सुरु गरे । थापाको खोज अभियानप्रति सद्भाव देखाउने धेरै भए पनि समूह बनाएर संस्थागत रूप भने अझै दिइएको छैन । वरिष्ठ पत्रकार हरिहर विरही ग्रामीण क्षेत्रमा जागरण फैलाउन खोज अभियानले महत्वपूर्ण योगदान गरेको सुनाउँछन् ।

“मुलुकको राजनीतिक र सामाजिक अवस्था कहालीलाग्दो भएका बेला नागरिक चेतना जगाउन खोज अभियानले ठूलो साहस प्रदर्शन गरेको छ, यसले सिन्धुलीको खुर्कोटबाट देशभरका जनतालाई प्रेरित गरेको छ, १०० वर्षको उमेरसम्म पनि खोज अभियानलाई जारी राख्नु दुर्लभ उदाहरण हो,” विरहीले भने ।

खोज अभियानले सामाजिक भेदभाव हटाई समाजमा समानता र स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान गरेको छ । निरङ्कुश शासन व्यवस्थाका बेला ग्रामीण भेगसम्म सञ्चारमाध्यमको पहुँच थिएन । भित्ता र ढुंगामा लेखिएका खोज अभियानका जानकारीले पनि जनता सुसूचित भएको सम्झन्छन् वरिष्ठ पत्रकार विरही ।

प्रहरी र प्रशासनबाट लुकेर लेखिने खोजका सूचनाले जनतामा खुल्दुली जगाएको थियो । पञ्चायतकालको खोज अभियानले सञ्चार क्षेत्रको विकासमा समेत योगदान गरेको तथ्यलाई समेत नकार्न नसकिने उनको भनाइ छ । अभियानकर्मी थापा जो मानिस भेटे पनि जनसम्पर्क स्थापित गरी खोजलाई विस्तारित गर्थे । उनले समाजप्रतिको आफ्नो निष्ठालाई खोज अभियानका माध्यमबाट प्रकट गरे । कुनै पनि विषयको गहिराइमा नपुगी सतही रूपमा धारणा बनाउने या कुनै विषयमा अभिव्यक्ति दिने संस्कृतिको विकास भइरहेका बेला उनको खोज अभियानले वास्तविकता पत्ता लगाउन र सतही नबन्न पनि आममानिसलाई सन्देश दिन्छ ।

खोज अभियान सुरु गरेसँगै भित्ता, ढुंगा, विद्युत्का पोललगायत सार्वजनिक स्थलमा यससम्बन्धी चित्र पनि कोरे । शब्दभन्दा चित्रका माध्यमबाट अभियानलाई विस्तार गर्न सकिने र अझ धेरै मानिसलाई बुझाउन सकिने उद्देश्यले यसो गरिएको हो । थापाबाट प्रभावित भई चित्रकार लक्ष्मण श्रेष्ठले ‘खोजबाटै यात्रा सामाजिक रूपान्तरण’ अभियानसमेत सुरु गरे । चित्रका माध्यमबाट सचेतनामूलक अभियानमा रहेका श्रेष्ठ खोजलाई चित्रका माध्यबाट विस्तार गर्ने योजनामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्