परमाणुबाट बम होइन घडी



खार्मी (खोटाङ) । अणु, परमाणु पदार्थका सबैभन्दा साना ‘पार्टिकल्स’ हुन् । विज्ञानको भाषामा यो खतरनाक कुरा होइन । तर, जब हतियारका सन्दर्भमा प्रयोग हुन्छन् तब यो खतरनाक लाग्ने नै भयो ।

अणु, परमाणु भनेपछि विध्वंशक बम भनेर बुझ्छौं । यस्तै हतियारका बलमा ठूला राष्ट्रले सानामाथि प्रभुत्व जमाइरहेको ज्वलन्त उदाहरण हो– अमेरिका । उसलाई राजनीतिक भाषामा साम्राज्यवादी मुलुक पनि भनिन्छ । यहाँ कुरा गर्न लागिएकोचाहिँ न अमेरिकाको हो, न अणु अथवा परमाणु बमकै ।

यहाँ चर्चा गर्न खोजिएको प्रसंग हो– परमाणु घडीको । सामान्य समयमात्रै हेर्नका लागि बजारमा पाइने घडीले चलिहाल्छ । तर, एक सेकेन्डको पनि सयौं गुणा सानो समयको एकाइको पनि महत्व हुने वैज्ञानिक अध्ययनमा यस्तो घडीको कुनै प्रयोग हुन सक्दैन । त्यसैले वैज्ञानिकले परमाणुबाट घडी बनाएका छन्, जुन घडीले बिनाकुनै गल्ती ठीक समय बताउन सक्छ ।

यो घडी सेसियम परमाणुबाट बनाइएको छ । परमाणु घडीको निर्माण नेसनल इन्स्टिच्युट अफ स्टान्डर्ड एन्ड टेक्नोलोजीले गरेको हो । यो घडी प्रयोग गरेर सूक्ष्मभन्दा पनि सूक्ष्म समय अध्ययन गर्न सकिन्छ । यसको प्रयोग एटमजस्ता साना पदार्थका ‘पार्टिकल्स’को अध्ययनमा उपयोगी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्