कलात्मक कला : नेपाली गीत–संगीतको परिचित नाम



भोजपुरबाट इटहरी (सुनसरी) झरिन् । क्याम्पस पढ्न इटहरी झरेकी उनी त्यहाँ २४ महिना रहिन् । प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा सक्नासाथ काठमाडौं पसिन् ।

भोजपुरबाट इटहरी हुँदै काठमाडौंसम्मको यात्राले उनलाई गायिका कला राईको परिचय दिएको छ । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत र पुरानालाई बिदाइ कार्यक्रममा गीत गाउने मञ्च पाएपछि अन्धाधुन्ध गीत गाउने राई संगीत सिक्न काठमाडौं छिरिन् ।

इटहरीबाट काठमाडौं छिरेको वर्ष दिन (२०५७) मै उनी अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रथम भइन् । गीत–संगीतमै भविष्य बनाउन लागिपरेकी उनी २०६२ मा अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा दोस्रो भइन् । दोस्रो भएकी उनले रेडियो नेपालबाट लिइने स्वर परीक्षा पास गर्न पर्दैन । उक्त प्रतियोगितामा दोस्रो पुरस्कार पाउनु नै उनी स्वर परीक्षा पास गरेको ‘लाइसेन्स’ सोसरह नै हो ।

बाल्यकालदेखि गीत गाउने उनलाई गाउनभन्दा नाच्न अनुरोध गरिन्थ्यो । देउसी–भैलोमा बल्लतल्ल नाचगानमा सहभागी हुने अवसर मिल्थ्यो । अरू बेला भने घाँस, दाउरा, गोठाला, खेतालामा नाच्न, गाउन पाइन्थ्यो ।

 

गोठाला–खेताला, घाँस–दाउरा, देउसी–भैलो हुँदै क्याम्पसमा नवआगन्तुकलाई स्वागत र पुराना विद्यार्थीलाई बिदाइ कार्यक्रममा गाउँदै आएकी खोटाङे गायिका कला राई नेपाली गीत–संगीतमा परिचित नाम हो ।

प्रतिक्रिया दिनुहोस्