कुशल कोइमी


 

दुईवटा डुंगामा खुट्टा राखेर यात्रा गर्न सजिलो हुन्छ र ? कसैले सोधेमा सजिलै भन्न सकिन्छ, ‘नाइँ ।’ दुईवटा डुंगामा खुट्टा राखेर यात्रा गर्नेलाई गन्तव्य पहिल्याउन सजिलो हुँदैन भन्नेको बाहुल्य छ । र, हो पनि । एउटा व्यक्तिले दुईवटा डुंगामा खुट्टा राखेर यात्रा त के कल्पनासमेत गर्न सकिँदैन । तर, समस्यालाई तपस्या माने सम्भव हुँदोरहेछ भनेर देव कोइमीले प्रमाणित गरिदिएका छन् ।

कोइमीलाई गायकमात्रै भनियो भने अन्याय हुन्छ । चित्रकारमात्रै भनियो भने उनको परिचय परिचय अधुरो रहन्छ । रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरेका उनी अलिकति साहित्यकार, अलिकति कलाकर्मी, अलिकति कार्टुनिस्ट र अलिकति सरकारी जागिरे भएर बाँचेका छन् ।

 

उल्लिखित भूमिका निर्वाह गर्दै आएका उनी किरात राई समुदायका बहुमुखी प्रतिभा नै हुन् । त्रियुगा नगरपालिका उदयपुरनिवासी उनी काठमाडौंमा बसेर इन्द्रेणी सपना पूरा गर्न अभ्यस्त छन् । उनले रमेश विकलद्वारा लिखित ‘एउटा कथा भन्नू न हजुरआमा’, ‘चट्याङगीता–३’, ‘बालप्रतिभा’, ‘चिचिला’, ‘फित्कौली’लगायतमा एक हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिकामा कार्टुन, रेखाचित्र बनाएका छन् । विभिन्न प्रकाशन गृहसँग आबद्व उनी भिन्ची, पिकासो, एमएफ, हुसैनलगायत विभिन्न अन्तर्राष्ट्रिय कलाकर्मीबारे गहिरो ज्ञान छ ।

नेपालीबाहेक माजार्टदेखि रिहानासम्मका गीत–संगीत सुन्न भ्याएकै छन् । उनको ‘यात्रामा’ नामक गीतिएल्बम सार्वजनिक भइसकेको छ । ३० भन्दा धेरै गीत रेकर्ड गराइसकेका छन् । राष्ट्रिस्तरका गायन प्रतियोगितामा समेत अब्बल ठहरिएका देव कोइमी कुशल गिटारवादक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्