जापानबाट फर्केर झारपातसँग खेल्दै पोखरेली मिलन



पोखरा महानगरपालिका माछापुच्छ्«े मार्गमा रहेको मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्तावरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ ।

जापान बसाइक्रममा सिकेको हानानो ओसिआना सीपलाई नेपाल फर्केपछि प्रयोगमा ल्याएर कला क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएकी छन्– कलाकार मिलन शेरचन । हानानो ओसिआना अर्थात् सुकाइएका झारपातबाट चित्र बनाउने कलाले शेरचनलाई स्थापित गरेको छ ।
हानानो ओसिआना जापानी शब्द हो । दाजु अमेरिकामा भएका कारण उनलाई पनि अमेरिका जाने अवसर मिल्यो । केही

समय अमेरिका बसाइपछि त्यतैबाट उनी जापान छिरिन् । जापान बसाइमा साइतो सान भन्ने साथीसँग उनी एक कला प्रदर्शनीमा पुगित् । त्यहाँको कलाबाट प्रभावित भइन् ।

जापानी कलाकार नोहारा उमीबाट हानानो ओसिआनाबारे सिकिन् । जापान बसाइक्रममा पहिलेदेखिकै चिनजान सत्यनारायण शेरचनसँग उनको विवाह भयो । बिहेको केही समयपछि उनीहरू नेपाल फर्के ।

पाँच वर्ष जापान बसेपछि सन् १९९८ मा नेपाल फर्केसँगै यो कलालाई भित्र्याएर व्यावसायिकतामा मिलन प्रवेश गरिन् । रहरको कलालाई व्यावसायितकतामा परिणत गर्न भइन् । सानैदेखि फरक काममा रुचि राख्ने र सिर्जनामा रमाउने बानीले हानानो ओसिआनाको कलामा स्थापित गरेको उनको भनाइ छ । ‘केही न केही नयाँ कर्ममा रमाउने बानी थियो । घर र कोठा सजाउन मकैका भुत्ला हुन् कि, दिदीले स्वेटर बुन्दा फालेका धागाका टुक्रा, जे पाए त्यसलाई कुनै कलामा सजाउन मन लाग्थ्यो,’ उनले सुनाइन्, ‘मेरो रगतमै सिर्जनशीलता दौडिरहन्थ्यो । त्यसले सफल बनायो । तर, कलामा लगाव र धैर्य चाहिन्छ ।’

विद्यालय तहमा गृहविज्ञान लिएकाले पनि कलासँग जोडिन अझै सहज भएको उनको भनाइ छ । उनका हजुरबुवा भीमबहादुर भट्टचन धनशमशेर जबराको मोहारियाटोलमा रहेने दरबारमा सितारवादक र तबलावादक थिए । बुवा झपटबहादुर भट्टचन पनि हस्तकलामा पोख्त । कला र संगीतको पारिवारिक पृष्ठभूमि भएर पनि होला मिलनमा पनि त्यो गुणको प्रभाव भेटियो । उनी चित्रकलामा मात्र नभई, साहित्य र संगीतमा पनि उत्तिकै रुचि राख्छिन् ।

संवत् २०३४ मा मकैको भुत्लाबाट बनाएको पुतलीको चित्र राम्रो भएको भन्दै पोखरेली युवा सांस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उनलाई पुरस्कृत गर्यो । त्यसपछि ०४१ मा पनि उनले पुरस्कार पाइन् । उनको ऊर्जा झनै बढ्यो ।

त्यसपछि पोखराका स्थापित कलाकारसँग उनको संगत भयो । कलाकार बुद्धि गुरुङले उनलाई चित्रकलाबारेमा सिकाए । चित्रकलाको ज्ञानले स्तरीय सिर्जनाका लागि उनलाई हौस्यायो ।

यही हौसलाकै कारण उनले पहिलोपटक ०५८ मा थकाली सेवा समिति नदीपुरमा पहिलो एकल चित्रकला प्रदर्शनी गरिन् । सोचेभन्दा धेरै दर्शक आए । कलाको प्रशंसा निकै भयो । यही प्रेरणाले उनले पोखरा र काठमाडौंमा लगातार चार वर्षसम्म एकल चित्रकला प्रदर्शनी गरिन् । सामूहिक चित्रकलामा भने उनले दर्जनौंपटक सहभागिता जनाइन् ।

रातको समयमा सिर्जना गर्न उनलाई उत्कृष्ट लाग्छ । ‘कल्पनाका विभिन्न चित्राकृतिलाई उतार्न शान्तिपूर्ण वातावरण चाहिन्छ,’ उनले भनिन्, ‘सबै सुतिसकेपछि आफ्नो सिर्जनामा तल्लीन हुन मन पराउँछु ।’ प्रकृतिलाई जीवन्त उतार्न बढी मन पराउने उनले आफ्ना सिर्जना दुई सयदेखि दस हजारसम्ममा बिक्री गरेकी छन् । शेरचनले कास्कीका विभिन्न गाउँमा कला कार्यशाला गोष्ठीको संयोजक भएर कार्यक्रमसमेत गरेकी छन् ।

हानानो ओसिआना भनेको सुकाइएको झारपातको उचित समिश्रण गरी जीवन्त राख्नु हो । यसरी प्रयोग हुने झारपात हाम्रै वरपर पाइन्छ । आफू यताउता डुल्दा देखिने मौसमी फूल तथा घाँसपात नै कला सिर्जनाका लागि उपयुक्त सामग्री हुन् । घर–आँगन, करेसाबारी, खेतबारी, भीरपाखा चौरतिर उम्रने झारपात सदुपयोग गर्न जाने त्यसलाई जीवन्त पार्न सकिन्छ । आर्थिक रूपमा सशक्त बन्न सकिन्छ भन्ने नमुनाकी पात्र मिलन शेरचन बनेकी छन् ।

नेपाल ललित कला प्रज्ञाप्रतिष्ठान हस्तकला विभागबाट विद्वत्वृत्तिसमेत पाइसकेकी शेरचन दर्जन बढी संघ संस्थाबाट सम्मानित भइसकेकी छन् । ‘प्रथम नेपाली १०१ महिला’ पुस्तकमा समेत उनी समेटिएकी छन् । केही न केही गरिरहन मन पराउने उनले कला क्षेत्रभन्दा बाहिर पनि निकै उदाहरणीय काम गरेकी छन् । सामाजिक सेवामा समेत उत्तिकै सक्रिय उनले ‘सुन्दर पोखराका कर्मठ नारी भाग १ र २’ को प्रकाशन गरेर विभिन्न क्षेत्रका महिलालाई समाजमा चिनाउने कामसमेत गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्