साउदी अरबको रोजगारीले उँभो नलगाएपछि गाउँमै अटो सञ्चालन



त्यतिबेला भक्त राई १० कक्षामा पढ्थे । यो संवत् २०५७ सालको कुरा हो । १० कक्षा पढ्दापढ्दै राईले बिहे गरे । ०५८ मा एसएलसी परीक्षा दिए । वैदेशिक रोजगारीका लागि विदेश जाने लहर चलेको थियो । उनी पनि अछुतो रहेनन् । एसएलसी परीक्षा लेखेर राहदानी बनाए । अनि लागे साउदी अरबतिर ।

‘म साउदीको साकाको अल्जोकमा बसेको हुँ । काम एग्रिकल्चरसँग सम्बन्धित थियो,’ उनले विगत सम्झे, ‘खेतिपाती गर्ने, खेती पर्खने काम गर्नुपथ्र्यो ।’ मासिक तलब ५ सय रियाल थियो । त्यतिबेला ५ सय रियालको १० हजार हुन्थ्यो । रियालको भाउ बढ्दा १२ हजारसम्म पुग्थ्यो ।

वैदेशिक रोजगारीले उँभो लागिएलाजस्तो नलागेपछि उनी नेपाल फर्के । दुई वर्ष साउदी अरबमा पसिना बगाए पनि आर्थिक उन्नति भएन । विदेश हेर्न र मुख फेर्नबाहेक अरू उपलब्धि नभएको उनको स्वीकारोक्ति थियो । नेपाल फर्केपछि के गर्ने भन्ने प्रस्ट योजना थिएन । तर पनि उनी नेपाल फर्के । घर फर्केपछि खेतिकिसानीमै रमाए । त्यतिन्जेलसम्म उनी छोराको बुवा बनिसकेका थिए ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हुम्लानिवासी उनी पुनः बहराइन पुगे । यो ०६२ सालको कुरा हो । बहराइनको कमाइ सन्तोषजक नै थियो । ‘मासिक ११० डिनर दिन्थ्यो । त्यो भनेको नेपाली ३२ देखि ३३ हजारसम्म हुन्थ्यो,’ उनले थपे, ‘तर, त्यसभित्रै खानुपथ्र्यो । घरपरिवारलाई समय–समयमा टेलिफोन गर्नैपर्यो । ती खर्च कटाउँदा मुस्किलले २२/२३ हजार रुपैयाँ बचाउन सक्थें ।’ उनले तीन वर्षसम्म बहराइनमा दुःख गरे । ०६५ सालमा नेपाल फर्के । त्यसपछि वैदेशिक रोजगारीका लागि विदेश जाँदै गएनन् ।

त्यतिबेलासम्म गाउँघरमा सडक विस्तार भइसकेको थियो । बिजुलीबत्ती बलिसकेको थियो । गाउँघरमा मोटर गुड्न थालिसकेका थिए । सञ्चार सुविधा सहज भइसकेको थियो । आफ्नै गाउँघरमा यतिविघ्न सुविधा देखेपछि उनलाई विदेशमा पसिना बगाउने जाँगर चलेन । घरपरिवारबाट छुट्टिएर विदेशमा दुई/चार पैसा आर्जन गर्नुभन्दा परिवारसँग गाउँघरमै बसेर दुःख गर्न कैयौं गुणा बेस ठाने ।

अन्ततः उनी फेरि खेतिकिसानीमै लागे । गाउँगाउँमा सवारीसाधन गुड्न थाले । सडक सञ्जाल विस्तार हुँदै गयो । मानिसले छिटोछरितोमा ध्यान दिन थाले । घन्टौं हिँडेर गन्तव्यमा पुग्नेहरू सवारीसाधन प्रयोग गर्न इच्छाए । सम्भव भएसम्म घरकै आँगनमा सवारीसाधनले पुर्याइदिए हुन्थ्यो भन्नेको बाहुल्य बढ्दै गयो । त्यो सम्भव थिएन । तर, अटोले सम्भव बनाउँदै लग्यो ।


मानिसको इच्छा, आकांक्षा नजिकबाट नियाले । त्यतिबेलासम्म भक्त राईका चिनजानका साथीभाइले हलेसीमा अटो भित्र्याइसकेका थिए । धेरैलाई अटोको सेवा सहज र सरल लाग्यो । यो ०७४ अन्तिमतिरको कुरा हो । त्यसताका हलेसीमा एक/दुईवटा अटो भित्रिसकेको थियो । आफूले चाहेको समयमा अटो चढी गन्तव्यसम्म पुग्ने बढ्दै गए । त्यस्तो अवस्था देखेपछि राईले ५ लाख २४ हजारमा लहानमा अटो खरिद गरे । ०७५ मा अटो खरिदमात्रै गरेनन्, उनले त्यहीं तीन दिनसम्म अटो चलाउन सिके । तीन दिन सिकेपछि आफैंले गुडाएर हलेसी ल्याइपुर्याए । हिजोआज हलेसीमा अटोमात्रै होइन, यात्रुसमेत बढ्दै गएका छन् ।

अटो चलाएरै जीविकोपार्जन गर्न सकेकोमा भक्त राई कम्ती खुसी छैनन् । हलेसी अटो यातायात प्रालि हलेसी तुवाचुङ नगरपालिका खोटाङ अध्यक्ष राईले सुनाए, ‘हामीले दर्ता गरेको प्रालि खोटाङकै पहिलो हो । अटो चालकलाई साह्रोगाह्रो पर्दा समाधानका लागि सहज बनाउन प्रालि दर्ता गरेका हौं ।’

हलेसी तुवाचुङ नगरपालिकाभरि २८ भन्दा बढी अटो गुडिरहेका छन् । त्यसमध्ये २३ अटोमात्र संघमा आबद्ध छन् । एकताका अटोले असर पुर्यायो हटाउनुपर्छ भनेर हल्लाखल्ला हुँदा सेवाग्राहीले विरोध गरेपछि सामसुम भएको उनले बताए । अटो चलाएरै दैनिक १ हजार ५ सयदेखि २ हजारसम्म र कहिलेकाहीं त २ हजार ५ सयदेखि ३ हजारसम्म हात पार्ने उनले हाँस्दै थपे, ‘कहिलेकाहीं ५० रुपैयाँमा पनि चित्त बुझाएको छु । कमाइ भए पनि नभए पनि सेवाग्राहीको सेवा गर्न पाएको छु । बिरानो देशमा महिनाको २५ हजार कमाउनुभन्दा परिवारसँगै बसेर दैनिक ५० रुपियाँ कमाउनु ५० मै आनन्द हुँदोरहेछ ।’

नगरले अटो व्यवसायीलाई अहिलेसम्म दर्ता प्रमाणपत्र दिएको छैन । ‘हामीले प्रालि दर्ता गरिसक्यौं,’ उनले दुःखेसो पोखे, ‘प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले नगरको हकमा पहिलो प्रयास भएकाले हामी यसको नियमावली हेर्छौं । विधान बनाउनुपर्छ । त्यसपछि तपाईंहरूलाई खबर गर्छांै भनेका थिए । हाकिम सापले त्यसो भनेको धेरै भइसक्यो । हाम्रो अनुरोधको सुनुवाइ अहिलेसम्म भएको छैन ।’
३६ हिउँद, बर्खा हिँड्दै गरेका राईको चौध वर्षको छोरो आठ कक्षामा पढ्दै छन् । काठमाडौंमा पढ्दै गरेको छोराको सम्पूर्ण खर्च, आमा, श्रीमती, छोरी र उनको खर्चबर्च अटोले नै धानेको छ ।

अहिलेसम्म अटोका लागि व्यवस्थित पार्क छैनन् । नगरका विभिन्न वडामा अटो पार्क हुनुपर्ने उनको बुझाइ छ । व्यवस्थित पार्क भएमा यात्रुमात्रै होइन, अटो चालकलाई पनि सहज हुनेछ । पार्क भएपछि यहाँ अटो पाइन्छ भनेर यात्रुलाई त्यत्तिकै सजिलो हुन्छ । नगरले अटो पार्क तोकिदिए हुन्थ्यो भन्ने उनको धारणा छ ।

हलेसी अटो यातायात प्रालि हलेसी तुवाचुङ नगरपालिका अध्यक्षले यत्ति सोच्नु र कार्यान्वयनमा लाग्नु नै पर्छ । उनले प्रालिभित्र र बाहिर रहेका अटो चालकलाई सवारी अनुमतिपत्र (लाइसेन्स) बनाएरमात्र चलाउन अनुरोध गर्छन् । मादक पदार्थ खाएर अटो नचलाऊ है भन्नु उनको कर्तव्य पनि हो । ‘एक दिन साथीले दिउँसै मापसे गरेर अटो चलाइरहेको भेटें,’ उनले सुनाए, ‘मैले थाहा पाएपछि अटोको चाबी थुतें । त्यसपछि एक होटलमा पुर्याएर ती साथीलाई सुत्ने व्यवस्था मिलाएँ ।’

प्रतिक्रिया दिनुहोस्