कतारबाट फर्केर बंगुरपालन : आफैं मालिक, आफैं नोकर



विदेशबाट फर्केका शुक्लाफाँटा नगरपालिका–३ का युवा बंगुरपालन व्यवसाय थालेका छन् । बंगुरबाट गतिलो आम्दानी हुने भएकाले उनीहरूले फार्म दर्ता गरेर पाँच लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गरेर यो व्यवसाय थालेका हुन् । विगतमा काठको खोरमै हिलो बताएर बंगुरपालन गर्दै आएकामा उनीहरूले आधुनिक तरिकाको खोर निर्माण गरी फोहोर सजिलै सफा गर्न सकिनेगरी काम गर्दै आएका छन् । वडा नं ३ मा मात्रै व्यावसायिक रूपमा फार्म दर्ता गरी बंगुर पाल्ने युवा ६ जना बढी छन् ।

१० लाखको लगानीमा व्यवसाय सञ्चालन ंगरेका दीपक चौधरीका फार्ममा २० उन्नत जातका बंगुर छन् । दुबई र कतारमा चार वर्ष बसेर फर्केका चौधरीले स्वदेशमै स्वरोजगार हुन व्यवसाय अपनाएको बताए । “बंगुरपालनबाट चाहेजस्तै आम्दानी लिन सकिने भएकाले यसलाई व्यावसायिक बनाएका छौं,” चौधरीले भने, “सुरुवातमा थोरै बंगुरका पाठा खरिद गरी फार्ममा ल्याएर पाल्न थालिएकामा भविष्यमा यसलाई अझ विस्तार गर्ने योजना छ ।”

“विदेशमा छँदा १२ देखि १८ घन्टासम्म काम गर्नुपथ्र्याे । तर, यहाँ दैनिक चार घन्टा समय दिन सके यस व्यवसायबाट गतिलो आम्दानी लिन सकिन्छ,” उनले थपे, “घरमै बसीबसी व्यवसाय गर्दा वैदेशिक रोजगारीबाट आउनेभन्दा बढी कमाउन सकिन्छ । परिवारका अन्य सदस्यले पनि सहयोग गर्ने भएकाले बढी श्रम गर्नुपर्ने अवस्था पनि छैन ।”

कतार गएर फर्केका गोपाल चौधरीले पनि यही व्यवसाय अपनाउँदै आएका छन् । छ महिना अघिदेखि बंगुरपालन गर्दै आएका उनले अहिलेसम्म बंगुर बिक्रीबाट दुई लाख आम्दानी गरिसकेका छन् । “बंगुरका लागि चारो र अन्य व्यवस्थापनमा वर्षमा २५ हजार जति खर्च लाग्ने गरेको छ,” उनले भने, “थोरै खर्चमा धेरै आम्दानी लिन सकिने भएकाले यही व्यवसाय रोजेको हुँ ।”

वैदेशिक रोजगारमा छँदा महिनाको ३० हजार जति तलब पाइन्थ्यो । थोरै तलब त खाना र कपडामा खर्च गरी मुस्किलले १५ हजारजति बचाउन सकिने चौधरीले बताऐ । “बचेको थोरै रकममात्रै घर पठाउने गरेको थिएँ, त्यसले घरखर्च चलाउन मुस्किल थियो,” उनले भने, “यहाँ फर्केपछि गाउँकै समूहबाट केही रकम कर्जा लिई घरमै बंगुरपालन व्यवसाय अपनाइएकाले आर्थिक रूपमा सक्षम हुँदै जान थालेको छु ।”

यो व्यवसाय गरेका धेरै व्यक्तिका अनुभव सुनेर र बंगुर फार्म अवलोकनपछि व्यावसायिक बनाइएको उनको भनाइ थियो । थोरै परिश्रममा राम्रो आम्दानी हुने भएकाले धेरैको बंगुरपालनै रोजाइमा पर्न थालेको छ । यस व्यवसायमा संलग्न देवीलाल चौधरी बंगुरपालनबाट घरखर्च सहज रूपमा चल्न थालेको बताउँछन् ।

कतारमा दुई वर्ष काम गरेर बचत गरेको रकम बंगुरपालनमै उनले लगानी गरेका छन् । बंगुरका पाठामात्रै दुई हजारदेखि तीन हजारमा बिक्री हुने गरेको छ । व्यापारीले फार्ममै आएर बंगुर लैजाने भएकाले बजार खोज्नुपर्ने झन्झटसमेत नभएको देवीलालले बताए ।

“विदेशमा जस्तो अरूले अह्राएको काम गर्नुपरेको छैन,” उनले भने, “आफैँ मालिक आफैँ नोकर भएर आफ्नै फार्ममा काम गर्नुपर्दा आनन्द लाग्छ ।” चितवन र बर्दियालगायत क्षेत्रबाट उन्नत जातका पाठा ल्याएर ती युवाले बंगुरपालन गरेका हुन् । धानको ढुटो, कनिका, मकैको ढुटो, फिसमिल तथा बोनमिल भिटामिन र हरियो घाँस चारोका रूपमा बंगुरलाई खुवाइन्छ ।

फार्ममा स्थानीय जातदेखि उन्नत जातका बामपुड्के, हुर्रायो, पाख्रिबास, कालो च्वाँचे, ल्याडोरेस, योर्कसायर, ह्याम्पसायर, डयुरोकलगायत बंगुर छन् । एकपटकमा बंगुरले १० देखि १२ सम्म पाठापाठीलाई जन्म दिने गरेको छ । पाठापाठीलाई चार महिनासम्म हुर्काएपछि बेच्नका लागि तयार हुन्छ । फार्ममा चाहिनेजति राखेर बाँकी बिक्री गरिन्छ ।

केही युवाले पोखरी निर्माण बंगुरसँगै माछापालनलाई समेत निरन्तरता दिएका छन् । बंगुरको फार्म सफा गरेको पानी पोखरीमा हाल्ने व्यवस्था गरिएकाले माछाका लागि चाहिने चारोे त्यसबाटै हुने गरेको अर्का व्यवसायी गेदुराम चौधरीले बताए । बंगुरको मासु अरूको तुलनामा सस्तो भएकाले बजारमा यसको माग अधिक छ । व्यवसायी युवाले अहिलेसम्म सरकारी निकायबाट अनुदान भने पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्