सात वर्ष बहराइनमा बिताएका बेनी नगरपालिका–४ सुर्केमेलाका भीमबहादुर बानियाँले गाउँमै व्यावसायिक खरबुजासँगै तरकारी खेती गर्न थालेका छन् । सोचेजस्तो कमाइ नभएपछि वैदेशिक रोजगारीबाट फर्केका बानियाँले गाउँमै खरबुजासँगै व्यावसायिक तरकारी खेती थालेका हुन् ।
परिश्रम गर्न सके गाउँमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय उदाहरण बनेका बानियाँले तरकारीसँगै पाँच रोपनी जग्गामा खरबुजा खेती थालेका छन् । म्याग्दीको नदीकिनारमा रहेको बानियाँखेतमा लटरम्मै खरबुजा फलेका छन् । उत्पादित खरबुजा बेनी बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ ।
‘सिँचाइ र मल राम्रो दिन सके एउटा खरबुजाको फल १० केजीभन्दा बढी हुन्छ,’ किसान बानियाँले जानकारी गराए, ‘माघ, फागुनमा लगाएर वैशाख जेठमा फल तयार हुन्छ । बजारको समस्या छैन ।’
यहाँ उत्पादित खरबुजा बेनीबजारमा प्रतिकेजी पचास रुपियाँमा सजिलै बिक्री हुन्छ । ताजा र स्वादिलो हुने भएकाले तराईबाट आयातीतभन्दा म्याग्दीमा उत्पादित खरबुजा उपभोक्ताको रोजाइमा परेको छ ।
जिल्ला कृषि विकास कार्यालय म्याग्दीको सहयोगमा पाँच वर्ष पहिला यस क्षेत्रका किसानले परीक्षणका रूपमा खरबुजा खेती थालेका थिए ।
परीक्षण सफल भएपछि स्थानीय किसानले खरबुजा खेती थालेका जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । किसानलाई खरबुजा खेतीतर्फ आकर्षित गर्ने योजना ल्याएको कार्यालयले जनाएको छ । किसानलाई खरबुजा खेतीतर्फ आकर्षित गर्न बीउमा ५० प्रतिशत अनुदान दिनुका साथै प्राविधिक सेवा उपलब्ध गराइएको छ ।
छोटो समयमै सोचेअनुसारको आम्दानी गर्न सकिने र बजारको कुनै समस्या नहुँदा यहाँका अधिकांश किसान खरबुजा खेतीतर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीका वागवानी विकास अधिकृत भोजबहादुर थापा बताउँछन् ।
गत वर्ष खरबुजा बिक्रीबाट एकलाख भन्दा बढी आम्दानी गरेका बानियाँले यस वर्ष दुई लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य रहेको उनले बताए । आगामी वर्ष १० रोपनी जग्गामा खरबुजा खेती गर्ने चाहेको उनले जानकारी गराए ।