सीडीओलाई घेर्ने, डीएसपीलाई कालोमोसो दल्ने कवि



म र मेरा उमेरकाहरूले कविताको सामाजिक सामथ्र्य बोध गर्न थाल्दा जसराज किराती हाम्रामाझ कविका रूपमा स्वीकृत भइसकेका थिए । अर्थात् २०४६ सालको लोकतन्त्रको ‘मिर्मिरे घाम’बाट हामी ‘उत्साहित’ हुँदै गर्दा कवि किरातीलाई नचिन्नेहरू कमै थिए । खासगरीकन उनी ‘उज्यालो खोज्ने आँखाहरू’ जस्तो सार्वजनिक रूपमा अपिल गर्ने कविताबाट बढी चिनिएका थिए । म उसबखत ती कविताहरूको राजनीतिक रचनागर्भ र त्यसले उठाउन खोजेको प्रश्नबारे लगभग अनभिज्ञ थिएँ । यति हो, जसराज किराती नामका कवि आदरणीय मान्छे हुन् भन्ने कुरा चर्चाहरूबाट थाहा पाएको थिएँ ।

जसराजको पहिलो कवितासंग्रह २०३६ मा प्रकाशित भयो । त्यो नेपाली राजनीतिको सन्दर्भमा निकै हलचलमय समय थियो । त्यही हलचलबीचबाट सामाजिक जीवनमा न्यायको खोजी गरिरहेका थिए थुप्रैले, जसमा कवि जसराजले स्वर र लय भर्दै थिए । राजधानीबाट गाउँसम्म विस्तारित हुन पुगेको राजनीतिक चेतनाको त्यो जो नौलो तरंग थियो, त्यही कुरा ‘उज्यालो खोज्ने आँखाहरू’मा प्रतिविम्बित भएको थियो । तर, त्यो चेतनाको उज्यालो उनीभित्र कसरी प्रवेश ग¥यो ? यो कोट्याउनलायक विषय नै हो ।

मूलतः समाजका होचीअर्घेलीले नै उनलाई विद्रोही प्रकृतिको कवि बनाएको थियो । त्यसमा ‘पाइन’ (खुकुरीमा लगाइने धार) भर्ने कामचाहिँ राल्फा समूहले गरेको थियो । सम्भवतः राल्फालीहरूको संगतमा नपरेको भए उनको विद्रोही चेतनामा थप तीक्ष्णता पैदा हुने थिएन र उनको कवि व्यक्तित्व राजधानीसम्म नआइपुग्न पनि सक्थ्यो । उतै पूर्वतिर, त्यसमा पनि खोटाङको सेरोफेरोमा गुञ्जिने लोकगीतजस्तो मात्र हुन सक्थ्यो । कविका रूपमा उनलाई राजधानी प्रवेश गराउने र ऊ एउटा प्रतिभाशाली कवि हो भनेर चिनाउनेहरू पनि राल्फालीहरू नै थिए । राल्फालीहरूले उनका गीत, कविताहरू काठमाडौं ल्याएर गाएका, सुनाएका र छपाएका थिए । नत्र त्यो गाउँको कवि जसराजलाई राजधानीले के टिक्न दिन्थ्यो ! कहाँ चिन्थ्यो ? त्यसकारण जसराजको व्यक्तिगत जीवनमा राल्फाको के–कस्तो प्रभाव पर्यो, थाहा छैन तर ‘कवि जसराज’को जीवनमा भने राल्फा अभिन्न पक्ष नै हो ।

यद्यपि, उनलाई खोज्दै राल्फा उनको गाउँ बुइपा पुगेको थिएन । अराजक चिन्तनबाट मुक्त हुँदै गएर जनपक्षीय बन्दै गरेको राल्फा जनजागरण अभियान चलाउँदै गाउँगाउँ पुग्दै थियो । त्यहीक्रममा जसराज फेलापरेका थिए । राल्फालीहरू उनको गाउँमा पुगेमात्र होइन, त्यहाँ चेतना निर्माणमा पनि उल्लेख्य भूमिका निर्वाह गरे । सामाजिक अर्घेलीविरुद्ध पैदा भएको उनको स्वस्फूर्त चेतलाई राल्फाले प्रगतिशील चरित्रमा बदल्न सघायो । र, त्यो प्रगतिशीलता उनका कविताहरूमा आलोचनात्मक यथार्थवादका रूपमा केन्द्रीकरण भयो । जनयुद्धपूर्व उनी यही आलोचनात्मक यथार्थवादी कवि थिए ।

राल्फालीहरू स्वयम् पनि माक्र्सवादी दर्शनबाट पूर्णतः दीक्षित नभइसकेको अवस्थामा त्यसको संगतमा आएका जसराज माक्र्सवादको सम्पर्कबाट तुलनात्मक रूपमा उनीहरूभन्दा अझ पर रहन पुग्नु स्वाभाविकै हो । तर, उनी निरपेक्ष तटस्थताबाट एक पाइला अघि बढिसकेका थिए । जस्तो कि उनको ‘इन्द्रेणी’ कवितालाई लिन सकिन्छ । त्यो कविता राल्फालीहरूसँगको सम्बन्धको सुन्दर प्रतिफल हो, जसलाई रामेशले स्वर दिएका छन् । त्यसमा व्यक्त भएको आशावादका प्राधिकार हुन्– श्रमजीवी ग्रामीण जनता । उनीहरूका श्रम र सिर्जनाप्रतिको कहिल्यै नमर्ने ऊर्जाबाट उनले क्रान्तिकारी आशावादतर्फ आफूलाई अग्रसर गराएका हुन् । राल्फाकालीन जसराजको अनुहार हो यो कविता, जहाँ उनले बाँचेको समयको रंग हेर्न सकिन्छ ।

राल्फा त राजधानी फर्कियो, जसराज गाउँमै रहे । गाउँ नै उसका लागि प्रिय ठहरियो । तर, पञ्चायती राजमा जिल्ला आएका सीडीओ, डीएसपीहरूका अत्याचार उसका लागि प्रिय ठहरिएन । जसराजहरूले सीडीओलाई घेरे, डीएसपीलाई कालोमोसो दलिदिए । उनी र उनीहरूले जनतालाई साथ लिएर संघर्ष गरे । त्यसको संश्लेषण उनका कविताहरूमा प्रस्टसँग देख्न सकिन्छ । र, उच्च संश्लेषण भने ‘कालो सहर’ कवितामा भएको छ । यो धेरै पहिले लेखिएको गणतन्त्रवादी कविता हो । यस दृष्टिले उनका कविताहरूलाई पर्गेल्ने हो भने ती कवितादेखि कवितासम्मको गोलचक्करबाट मुक्त भएर समाजदेखि कवितासम्म र कवितादेखि समाजसम्मको यात्रा तय गर्छन् । समाज र कविताबीचको द्वन्द्वात्मक अन्तर्सम्बन्ध कायम गर्नु उनको सम्पूर्ण सामथ्र्य हो । उनका कुनै पनि कविता समाज र समाजका उच्छ्वास, मूच्र्छना अथवा त्यसलाई तोड्न हानिएको आवेगपूर्ण प्रहारबाट पृथक् छैनन्, न त उनले कवितालाई व्यक्तिगत आलाप–प्रलापमा घटुवा गरेका छन् ।

माथि नै चर्चा गरिसकिएको छ कि जसराजका कविताहरू समाजबाट निःसृत छन् । यसलाई थप प्रस्ट पार्न माक्र्स–एंगेल्सको ‘जर्मन विचारधारा’बारेको घतलाग्दो टिप्पणी उद्धृत गर्नु सान्दर्भिक होलाजस्तो लाग्छ । उनीहरूले भनेका छन्, ‘जर्मन दर्शन…आकाशबाट पृथ्वीमा झरेको छ, हामीचाहिँ पृथ्वीबाट आकाशतर्फ लाग्दै छौं ।’ (माक्र्स–एङ्गेल्स : साहित्य र कला, सन् १९८९, प्रगति प्रकाशन, मस्को, पृष्ठ ४१) । ठीक यहीँनेर उल्लेख गर्नुपर्ने कुरा के छ भने उनको कवितायात्रा ‘पृथ्वीबाट आकाशतर्फ’को सुल्टो भौतिकवाद हो, ‘आकाशबाट पृथ्वीतर्फ’को उल्टो अध्यात्मवाद होइन ।

फेरि युगचेतनाको निर्माण ‘भौतिक जीवनका अन्तर्विरोधहरू… समाजका उत्पादनशक्तिहरू तथा उत्पादन–सम्बन्धहरूको टक्करका आधारमा’ (माक्र्स–एंगेल्स, उही, पृष्ठ ४०) हुन्छ । नेपाली समाजमा यसप्रकारको टक्करलाई तीव्रता दिने काम ०५२ मा सुरु भएको जनयुद्धले गरेको हो । त्यसले पुरानो विचारसहितको सत्तालाई जसरी धराशयी बनायो, क्रान्तिकारी विचारको त्यो नायकत्वलाई जसराजले आत्मसात् गरेका छन् । यस सन्दर्भमा लेखिएको उनको कविता हो ‘जिन्दगी मलाई चाहिन्छ’ । विचार निर्माणको यात्रामा जसराज किरातीको उच्चत्तम केन्द्रीकरण यही कवितामा हुन पुगेको छ । उनले यही कवितामार्फत छलाङ मारेका छन् ।

जसराजका कविताले पैदा गर्ने अनुभूतिसँग सम्बन्धित पक्षलाई प्रस्ट्याउन ‘चौथो आयाम’ प्रविधिको यहाँ थोरै चर्चा गरौं ! आजकल ‘चौथो आयाम’ अर्थात् ‘फोर डी’ फोर डाइमेन्सन प्रविधिको प्रवेश सिनेमामा भएको छ । (यो प्रविधि आन्स्टाइनको ‘चौथो आयाम’को सिद्धान्त, जसमा समयलाई पनि एउटा आयाम मानिन्छ, त्यसभन्दा फरक छ) । यो यस्तो प्रविधि हो, जसले दर्शक पर्दामा जे देख्छन्, आफूमा पनि त्यस्तै अनुभूति गर्छन् । सिनेमाको दृश्यमा पानी परिरहेको छ भने दर्शकले पानी परिरहेको अनुभूति गर्छन्, प्लेन उडिरहेको छ भने आफू पनि प्लेनमै छु भन्ने अनुभव गर्छन्, फूल देखे नाकमा सुगन्ध महसुस गर्छन् । शैलीको अत्याधुनिकताका सन्दर्भमा त होइन तर अनुभूतिका सन्दर्भमा चाहिँ जसराजका कविताहरूमा ‘फोर डी’ प्रविधिमा जस्तै दृश्य र अनुभूतिको गहिरो तादात्म्यता प्राप्त हुन्छ । अर्थात् उनले लेखेका पीडासम्बन्धी कवितामा दृश्यसहित पीडाको उत्तिकै गहिरो बोध गर्न सकिन्छ, जस्तो कि ‘मरिसकेपछि लेखेको कविता’; आक्रोशसहित लेखेको कविता पढ्दा उस्तै पसिना काढेजस्तो हुन्छ, जस्तो कि ‘कालो सहर’ र व्यंग्यात्मक कवितामा उस्तै दृश्यसहितको तीक्ष्णता हामीसम्म आइपुग्छ, जस्तो कि ‘जसराज’ । शालीनता उनका कविताहरूका सर्वत्र उपलब्ध योग्यता हुन् । जसराजका कविता जसराजकै जस्तो हुनु– यही हो कवि जसराज । यी कुराहरू भन्नका लागि आधारग्रन्थ बनाइएको छ, ‘जसराज किरातीका प्रतिनिधि कविताहरू’ (प्रवासी नेपाली साहित्य समाज (प्रभात), बेलायत, २०६५) लाई ।

यदि समाज समुद्रमा हेलिएको जहाज हो भने जसराजका कविताहरू कम्पास हुन्, जसले आजसम्म सही दिशानिर्देश गरिरहेका छन् । उनी अहिले जो चालक सिटमा छन्, सहीसलामत छन् ।

प्रतिक्रिया दिनुहोस्