मातृभाषामा लेखिएको साहित्य पनि नेपाली साहित्य


नेपालको संविधानको धारा ३२ को भाषासम्बन्धी हकमा ‘नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन र संरक्षण गर्ने हक हुनेछ’ लेखिएको छ । भाषा प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने माध्यम हो । भाषाले परम्परागत ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्छ । जातिको पहिचान बलियो बनाउने काम भाषाले गर्छ । आफ्नै आमाले बोल्न सिकाएको भाषामा साहित्य पढ्न र सिर्जना गर्न आफैंमा साह्रै आनन्दको कुरा हो । ती साहित्यबारे थाहा पाउन निकै गहन कृतिका रूपमा ‘मातृभाषा साहित्यको इतिहास भाग–२’ प्रकाशन भएको अनुभूति भएको छ ।

विक्रम संवत् २०१४ मा स्थापना भएको नेपाल एकेडेमी समयअनुसार यसका नाम र काममा पनि रूपान्तरण हुँदै आएको छ । एकेडेमीले नेपालका भाषा, साहित्य, कला, संस्कृति तथा ज्ञान–विज्ञानका विविध विधामा अध्ययन अनुसन्धान तथा पुस्तक प्रकाशन गर्दै आएको छ । सुरुमा ‘रोयल नेपाल एकेडेमी’ त्यसपछि ‘नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान’ हुँदै हाल ‘नेपाल प्रज्ञा–प्रतिष्ठान’का रूपमा स्थापित यस एकेडेमीले पछिल्लो चरणमा नेपालका भाषिक, धार्मिक, सांस्कृतिक तथा जातीय विविधतालाई पनि सम्बोधन गर्न थालेको छ । निरंकुश पञ्चायती व्यवस्थामा एक भाषा एक धर्म संस्कृतिबारे राज्यकोे गलत नीति थियो । राजनीतिक परिवर्तनसँगै नेपाल विविध भाषा, धर्म, संस्कृतिले बनेको मुलुक हो भनेर एकेडेमीले ती विविधतालाई सम्बोधन गर्न थालेको छ । प्रज्ञा–प्रतिष्ठानले नेपालमा बोलिने विभिन्न मातृभाषामा खोज अनुसन्धान तथा कृतिहरू प्रकाशन गर्दै आएको छ । त्यसैको एक उदाहरणका रूपमा ‘मातृभाषा साहित्यको इतिहास भाग–२’ प्रकाशन गर्न लागिएको छ ।

नेपालमा बोलिने १२३ भाषामध्ये सबैको लिखित साहित्य नभए पनि मौखिक साहित्य जस्तै, लोककथा, लोकगीत आदि पाइन्छन् । तीमध्ये कतिपय भाषाको लेख्य साहित्य समृद्ध भए पनि त्यसको खोज अनुसन्धान हुन बाँकी छ । प्रायःजसो धेरै भाषामा लेख्य परम्परा सुरु भएका छन् । ती सबै मातृभाषाको साहित्यिक इतिहास आगामी वर्षहरूमा प्रकाशन भयो भने यसले नेपाली साहित्यलाई फराकिलो बनाउनेछ ।

नेपाली साहित्यलाई फराकिलो बनाउन आवश्यक पनि छ । मातृभाषामा लेखिएका साहित्यलाई नेपाली साहित्य भन्न अप्ठेरो मानिँदै आइयो । अहिलेसम्म खस नेपाली भाषामा लेखिएको साहित्यमात्र नेपाली साहित्य भनिदै आइयोे । नेपालमा रहेका विभिन्न जातिका भाषामा लेखिएका साहित्यलाई मातृभाषा साहित्यमात्र भनिन्छ । आदिवासी जनजाति साहित्यमात्र भनिन्छ । यसले नेपाली साहित्यको अध्ययन साँघुरो बनाएको छ । खस नेपाली भाषामा लेखिएको साहित्यलाई मात्र नेपाली साहित्य भनिदै आइएको गल्ती अब सच्याउनुपर्छ । नेपाली साहित्यको दायरा बढाउनका लागि थुप्रै काम हुन थालेका छन् । त्यसैमध्येको एउटा निकै महत्वपूर्ण काम हो– मातृभाषा सहित्यको इतिहास लेखन ।

विसं २०७५ मा पहिलोपटक ‘मातृभाषा साहित्यको इतिहास’ पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य विभागबाट प्रकाशन भएको थियो । १४ वटा मातृभाषाका साहित्यिक इतिहासबारे लेखहरू समेटिएको त्यस पुस्तकका सम्पादक श्रवण मुकारुङ र पदम राई थिए । त्यस किताबकै शृंखलाका रूपमा ‘मातृभाषा साहित्यको इतिहास–भाग २’ प्रकाशन भएको छ । यो दोस्रो भागमा १५ वटा मातृभाषाका साहित्यिक इतिहासबारे लेखहरू संग्रहित छन् । यस कृतिमा उराँव (कुड़ुखÞ), किसान, कुमाल, कोयी, चाम्लिङ, जिरेल, ताजपुरिया, धिमाल, बराम, मगही, मैथिली, शेर्पा, माझी, दनुवार र नेपाल भाषाका साहित्यिक इतिहास समावेश गरिएको छ । कतिपय भाषामा धेरै साहित्य लेखिएको छैन । तर पनि केही उत्साहका लागि लेख राखिएको छ । यो एउटै किताबमा धेरै भाषाका साहित्यिक इतिहास समेट्नुपर्ने भएकाले धेरै कुरा छुटेका हुन सक्छन् । यो कृति नेपाली भाषा (मातृभाषा)का साहित्यबारे अध्ययन गर्न चाहनेका लागि धेरै राम्रो सन्दर्भ सामग्री बनेको छ ।

यस महत्वपूर्ण कृतिका लागि लेख संकलन गर्ने र सम्पादन गर्ने वातावरण मिलाइदिनुभएकामा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ तथा सदस्य–सचिव प्रा. जगतप्रसाद उपाध्यायप्रति आभार प्रकट गर्दछौं । त्यसैगरी, साहित्य (मातृभाषा) विभागको आग्रहलाई स्वीकारेर खोजमूलक लेख लेखेर सहयोग गर्नुहुने लेखक मित्रहरूप्रति पनि आभार प्रकट गर्दै आगामी दिनमा पनि यस पुस्तकका अन्य भागले निरन्तरता पाऊन् भनी कामनासहित धन्यवाद ।

(नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको ‘मातृभाषा साहित्यको इतिहास भाग–२’ २०७७को सम्पादकीयबाट ।)

प्रतिक्रिया दिनुहोस्