धर्म–संस्कृतिको प्रहारविरुद्ध मानेभन्ज्याङमा थिरिथिरी



मानेभन्ज्याङ (ओखलढुंगा) । ‘अँ नि म, बिजोरी ढुकुरजस्तै, जलसिकारी, थलसिकारी, वनसिकारी, घरसिकारीबाट भाग्दै–भाग्दै, लुक्दै–लुक्दै, यहाँसम्म आइपुगेको छु…’ नेपथ्यबाट कविता गुञ्जिन्छ । मधुरो प्रकाशमा भरतमान बिस्तारै अघि बढ्छन् ।

दाहिने हातको चोरऔंला र माझीऔंलाबीचमा एउटा लठ्ठी उभ्याउँदै अघि बढ्छन् । उनलाई चारैतिरबाट धागोको जालोले बेरिएको हुन्छ । ती धागोबाट अन्य पात्रले भरतमानलाई तानिरहेको दृश्य देखिन्छ ।

‘थिरिथिरी’ नाटकको सुरु यही दृश्यबाट हुन्छ । यलम्बर थिएटरले मानेभन्ज्याङ गाउँपालिकामा विगत एक सातादेखि मञ्चन गरिरहेको नाटक हो– थिरिथिरी ।

नाटकको मूलपात्र हुन्– भरतमान । एक घण्टा १० मिनेटको नाटक भरतमानकै कथामा केन्द्रित छ । सुरुमै भरतमानको श्रीमतीको मृत्यु हुन्छ । उनको शव संस्कार्ने विषयमा दुई छोराबीच विवाद हुन्छ । दुवै छोरा बुहारीले फरक–फरक धर्म अँगालेका हुन्छन् । भरतमानले पुरानै मुन्दुमी संस्कारमा श्रीमतीको अन्त्येष्टि गर्छन् ।

चरम गरिबीका कारण भरतमानले श्रीमतीको काजकिरिया गर्न सक्दैनन् । श्रीमतीको आत्माले गाउँलेलाई दुःख दिन्छ । गाउँलेले भरतमानलाई श्रीमतीको काजकिरिया नगरे चिहान खनेर जलाइदिने धम्की दिन्छन् । दुवै छोरालाई आमाको किरिया गर्न अनुरोध गर्छन् । तर, छोराहरूले नयाँ धर्मअनुसार भए गर्ने नत्र नगर्ने सर्त राख्छन् ।

यलम्बर थिएटरले ओखलढुंगाको मानेभन्ज्याङमा मञ्चन गरिरहेको नाटक थिरिथिरीको दृश्य । सबै तस्बिर : कुम्भराज राई

अन्त्यमा श्रीमतीको काजकिरिया नगरी भरतमानको पनि मृत्यु हुन्छ । छोराहरूले अन्तिमसम्म धर्मकै कारण बुवाको शव छुन मान्दैनन् । गाउँलेले छुन दिँदैनन् । नाटकको कथासार यत्ति हो । नाटकभित्र सुखान्त र दुखान्त दुवै किसिमका दृश्यले दर्शकलाई भरपूर मनोरञ्जन दिन्छ ।

किरात समुदायमा पर्ने वाम्बुले राईको खाउमो सिली देखाइएको छ । तीन चुल्होको पूजा गर्ने मुन्दुमी परम्परा र धामी राख्ने चलनलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । भरतमान बिरामी भएर धामी राख्नेक्रममा उनकी श्रीमतीको आत्मासँग गरिएको संवाद निकै कारुणिक र मन छुने छ ।

धामीमा उनको श्रीमतीको आत्मा उत्रिएपछि बोल्न थाल्छन् । भरतमानलाई बैंसको बेला गाएको गीत गाइदेऊ न भन्ने अनुरोध श्रीमतीको आत्माले गर्छिन् । त्यसपछि भरतमानले आँखाबाट आँसु झार्दै वैंसमा श्रीमतीसँग गाएको गीत सुनाउँदा दर्शक स्तब्ध हुन्छन् । भरतमानको भूमिकामा मोहन राईले सशक्त अभिनय गरेका छन् । धामीको भूमिका अनिल सुब्बाले गरेका छन् ।

उटपट्याङ युवाको भूमिकामा खोटाङका सञ्जीव राईको अभिनयले न्याय दिएको छ । नाटकको अन्त्यमा सुरुवातकै दृश्य दोहो¥याइएको छ । भरतमानलाई जालोमा पारेर तान्ने पात्रहरू जलसिकारी, थलसिकारी, घरसिकारी भएको सांकेतिक विम्ब हो । आफूले जन्माएको र थिरिथिरी गर्दै हिँड्न सिकाएका छोराहरूले बुढेसकालमा धर्मलाई कारण देखाएर बेवास्ता गरेको देखाइएको छ ।

‘यसमा मैले थिरिथिरीचाहिँ जीवनलाई सन्तुलन गर्ने संकेतका रूपमा प्रयोग गरेको हुँ,’ लेखक तथा निर्देशक कविराज राईले भने, ‘मूल सन्देशचाहिँ किराती संस्कृति, धर्ममाथि पछिल्ला समय विभिन्न नयाँ धर्मको नाममा भएका प्रहार र बुढेसकालमा बुवाआमालाई नहेर्ने छोराछोरीविरुद्ध व्यंग्य गर्न खोजेको हुँ ।’

नाटकमा पात्र संख्या अलि धेरै भएको अनुभूति हुन्छ । प्रकाश र ध्वनिको संयोजन राम्रै छ । मानेभन्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा मञ्चन गरिएको नाटकलाई राष्ट्रियस्तरका मञ्चमा मञ्चन गर्ने तयारी यलम्बर थिएटरको छ । नाट्यक्षेत्रमा संघर्षरत कविराज राईले महाभोज, जोखनालगायतका थुप्रै नाटकमा अभिनय गरिसकेका छन् । कालोजोगी उनले निर्देशन गरेको लोकप्रिय नाटक हो ।

प्रतिक्रिया दिनुहोस्