आदिवासी दिवस र भिखारीदास सदा



आदिवासीको सूचीमा पर्छ
तिम्रोे नाम
भिखारीदास सदा ।
हुनुपर्ने हो तिम्रै हातमा
तराईको यो शस्य–श्यामल भूमि
तर तिम्रो काँधमा खर्पन
र हातमा फगत कोदालोसिवाय
केही छैन तिम्रो सम्पत्तिको नाममा ।
भिन्सारै उठ्यो
बोक्यो खर्पन र कोदालो
निस्कियो मजदुरीमा
माटो काट्यो
सम्यायो खेतबारी
तर जति सम्याए पनि
धर्तीको माटो
सम्मिएन कहिल्यै
हिमचुलीजस्तै अग्लो
विषमता समाजको ।
खेतीको सिजन छैन
मजदुरी पनि छैन
मजदुरी छैन
पेटमा अन्न पनि छैन
अनि पापी पेटका निम्ति
हान्नियो परदेश
र पुग्यो दिल्ली र पञ्जावका
दूरदराज गाउँहरूमा ।
प्रत्येक वर्ष/एवम् रीतले
कुम्हालेको चक्रझैं घुमेर
बितिरहेछ तिम्रो जीवन
भिखारीदास सदा ।
पहाडजस्तै गरिब रहेछ मधेस
मधेसजस्तै दुःखी रहेछ पहाड
उस्तै–उस्तै रहेछ तिनको व्यथा
उस्तै–उस्तै रहेछ तिनको कथा
कालापार जाने पहाडजस्तै
मधेस पनि जाँदो रहेछ परदेश
र एउटा मजदुरलाई कहीं पनि
हुँदोरहेनछ विदेश ।
सधैं थाकेर
लखतरान परेर
सुस्तायो एकछिन
चबुतरामा पल्टियो
पीपलको गाछीमुनि
वा पाखरको छहारीमा मेट्यो
समस्त थकान
गुनगुनायो वेदनाको गीत कुनै
आँखाभरि सजायो
सुखको स्वर्णिम सपना
भिखारीदास सदा ।
अचेल तिम्रो सपनाको रंग कस्तो छ ?
पहेंलो ? नीलो ?
वा निख्खर रातो ?
जस्तो कि देशमा बगिरहेको
आलो रगतको रंग छ ?
बदलियो भन्छन् समय
तर कहाँ ? के बदलियो ?
तिमीलाई केही थाहा छैन
पसिनाको गन्ध उस्तै छ
रगतको रंग उस्तै छ
उस्तै छ दुःख र दरिद्रताको रूप
प्रताडनाको मार र फटकार उस्तै छ
उस्तै छ, औरही दरबार
र खिडौना दरबारको तामझाम उस्तै छ
उस्तै छ, बेलहा दरबार
र माडरको दरबारको रमझम पनि उस्तै छ
भिखारीदास सदा ।
मुसहर आदिवासी ।
तिमीले बुझेको सत्य यही हो
यही हो तिम्रो गाउँ र जिल्लाको यथार्थ
सिंगो देश कस्तो छ ?
तिमीलाई केही थाहा छैन ।
तिम्रो आँखामा छ कि छैन
हिजोआज चिन्ताको विद्युत्–रेखा
मनमा फिक्री
या कुनै तातो गुनासो ?
आदिवासी दिवसका दिन
म सोच्ने प्रयास गर्छु
भिखारीदास सदा ।
छातीभित्र तिम्रो दुर्गम प्रदेशमा
चल्छ कि चल्दैन हिजोआज
असन्तोषको ठूलो आँधीबेहरी
या फाट्दै छ, कालो बादलजस्तै
तिम्रो पीडाको बाक्लो तुँवालो ?
मधेसको तातो हावासँग
म सोध्ने प्रयास गर्छु ।

प्रतिक्रिया दिनुहोस्