अँध्यारोमा रुमलिएका खेलाडीलाई उज्यालो मैदानमा ल्याइने



‘नगरका १० वडामा खेलकुद विकास समिति गठन गरिसकेका छौं,’ हलेसी तुवाचुङ नगरपालिकाका नगर खेलकुद विकास समिति, संयोजक किस्मत राई सुनाउँछन्, ‘ती वडामा खेलसामग्री वितरण गरिसकेका छौं । २ नम्बर वडा डिकुवामा पनि चाँडै समिति गठन गर्दै छौं ।’

हलेसी तुवाचुङ नगरपालिकाले सागर राई (भलिबल/फुटबल) र मिलन कसजू (कराते) प्रशिक्षक व्यवस्था गरिसकेको छ । सक्षम खेलाडी उत्पादन गर्न नगर र खेलकुद विकास समिति लागिपरेको छ । यसै सेरोफेरोमा तुवाचुङ डटकमका प्रबन्ध सम्पादक असल चरित्रले हलेसी तुवाचुङ नगरपालिकाका नगर खेलकुद विकास समिति, संयोजक किस्मत राईसँग गरेको कुराकानीको सम्पादित अंश :

हलेसी तुवाचुङ नगरपालिकाको खेलकुद विकास समिति संयोजक हुनुहुन्छ । अहिलेसम्म समितिबाट भएका काम के–के हुन् ?

हलेसी तुवाचुङ नगरपालिकाले २०७६ मंसिर २७ गतेको नगरसभाबाट मलाई खेलकुद विकास समिति संयोजकको जिम्मेवारी दिएको हो । जिम्मेवारी पाएको तीन महिनापछि विश्वव्यापी कोरोना महामारीले लकडाउन भयो । लकडाउनमा खासै काम गर्न सकिएन । त्यतिबेला केही गतिविधि गर्न नसके पनि अहिले दुई नम्बरबाहेक नगरका १० वडामा खेलकुद विकास समिति गठन गरी खेलसामग्री वितरण गरिसकेका छौं ।

वडामात्रै नभएर वडाका पनि टोल–टोलका खेलप्रेमीले आवश्यकताका आधारमा खेलसामग्री माग्दै आएका छन्, उनीहरूलाई समेत स–सम्मान खेलसामग्री उपलब्ध गराएका छौं ।

डिकुवामा समेत यथाशीघ्र वडा खेलकुद विकास समिति गठन गर्दै छौं ।

नगरभरिका खेलप्रेमीलाई खेलकुदमा जागरुक बनाउन नगर खेलकुद विकास समिति संयोजक तथा नगरपालिकाको भूमिका कस्तो हुनुपर्छ ?

नगरका खेलप्रेमीको उत्थानका निम्ति नगरपालिका र नगर खेलकुद विकास समिति सधैं सकारात्मक छ । प्रतिभावान खेलाडी बनाउन, त्यो पनि नगर, जिल्ला, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्सम्मै चिनाउने, पहुँच, परिचय र प्रतिभा प्रतिनिधित्व गर्ने/गराउने उद्देश्यमा हामी प्रतिबद्ध छौं । त्यसैका लागि समिति गठनपछि खेलाडीका उत्थानका निमित्त सागर राई (भलिबल/फुटबल) र मिलन कसजू (कराते) प्रशिक्षक व्यवस्था गरेका छौं । कोरोना कहरले पदभार र भूमिकाको आधारमा धेरै काम गर्न नसके हिजोआज उहाँहरूले आफ्नो भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

यसैगरी, नगरको खेल क्षेत्रमा सुधार ल्याउन सकिन्छ भन्ने अध्ययन र चिन्तन गर्दै आएको छु । त्यसका लागि नगरको भूमिका सकारात्मक र अगणितीय छ । नगरबाटै दुई प्रशिक्षकको तलब प्रबन्ध मिलाइएको छ । सकारात्मक कामका लागि नगरले मेरुदण्डको काम गरेको छ ।

नगरको प्रतिनिधित्व गराउँदै विभिन्न विधाका खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आउनुभएको छ । यस कार्यले नगर खेलकुद समितिको प्रगति कत्तिको देखिन्छ ?

अहिलेसम्म नगर खेलकुद विकास समितिमातहत तीन खेलमा सहभागिता जनाएको हो । जसमध्ये पहिलोपटक दिक्तेलमा अन्डर ट्वान्टी थ्री खेलमा सहभागिता जनायौं । हाम्रो टिम सेमिफाइनलिस्ट भएको थियो ।

दोस्रोपटक केपिलासगढी गाउँपालिका, बाक्सिलामा बाक्सिला गोल्ड कप’ मा सहभागी गरायौं । त्यहाँ हाम्रो टिमले पहिलो चरणमै हार बेहोर्नुपर्यो ।

तेस्रोपटक– हाम्रा खेलाडी ‘वडा च्यालेन्ज प्रतियोगिता’ खेल्न लफ्याङ पुगेका थियौं । लफ्याङमा हाम्रो टिमले प्रथम स्थान हासिल गर्यो । यो खेल वडास्तरीय भएकाले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खेलाडी सहभागी थिए । त्यसपछि केही समयअघि भएको ‘अन्तर क्लबस्तरीय’ प्रतियोगितामा चाहिँ हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका खेलाडीले बाजी मार्नुभएको थियो । समग्रमा हेर्दा कर्मअनुसार फल अथवा प्रगति सन्तोषजनक छ ।

विभिन्न ठाउँमा भए–गरेका खेलकुद प्रतियोगितामा नगरबाहिरका खेलाडी किनेर सहभागिता गराइन्छ । यसो गर्नु उपयुक्त हो र ? होइन भने आफ्नै नगरपालिकाभित्र खेलाडीको उत्थान र उत्पादनमा ध्यान दिनुपर्ला कि ?

खेलाडीको उत्थान र उत्पादनका लागि नगरका प्रत्येक वडामा खेलकुद समिति गठन गरिएको छ । नगरले दुई खेल प्रशिक्षक व्यवस्था गरेको छ । हामी प्रारम्भिक चरणमै छौं । तसर्थ, सक्षम खेलाडी उत्पादन गर्न केही समय अवश्य लाग्ला । अपवादबाहेक हामीले नगरबाहिरबाट खेलाडी ल्याएर खेलाएका छैनौं ।

नगरस्तरीय खेल प्रतियोगितामा समेत बाहिरका व्यावसायिक खेलाडी किनेर खेलाउन कत्तिको उचित या अनुचित हो ?

यो त सरासर अनुचित हो । किनभने नगरस्तरीय खेल प्रतियोगितामा बाहिरबाटै खेलाडी ल्याउन थालियो भने नगर खेलकुद विकास समितिको कुनै अर्थ र महत्व रहँदैन । हामी विगतभन्दा निकै माथि उठिसकेका छौं । त्यसैले आइन्दा बाहिरका खेलाडी किनेर खेलाउन प्रतिबन्ध गरी स्थानीय खेलाडीलाई प्राथमिकता दिइनेछ । र, यसमा हामी प्रतिबद्ध छौं ।

हलेसी तुवाचुङ नगरपालिकाका खेलकुदमा रुचि भएका तर अवसर नपाएर छाँयामा परेका खेलप्रेमीलाई नगरको खेल संयोजकको हैसियतले के भन्नुहुन्छ ?

प्रथमतः तपाईं खेलप्रेमी हुनुहुन्छ भने किस्मत राईसँग सम्पर्कमा आउनुहोला । आर्थिक, सामाजिक, पारिवारिकलगायत विविध समस्याले तपाईंमा रहेको खेलप्रति प्रतिभा, रहर, सपना पूरा गर्न हरतरहले प्रतिबद्ध छु । सकेजति म आफैं पनि सहयोग गर्ने प्रयास गर्छु । नसकेको नगर, वडा, समाजसेवी, राजनीतिकर्मीसँग समन्वय गरी सहयोग गरी अँध्यारोमा परेका खेलप्रेमीलाई उज्यालो मैदानमा ल्याउने प्रतिबद्धता तुवाचुङ साप्ताहिकमार्फत जाहेर गर्छु ।

हलेसी तुवाचुङ नगरपालिकाभरिमा खेल क्षेत्रमा अझ थप विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारले के गरिदिए अझ प्रगति हुन्थ्यो होला ?

हलेसी तुवाचुङ नगरपालिका खोटाङकै भौगोलिक विकटता भएको क्षेत्र हो । तर पनि विशेषतः फुटबल, भलिबल आदि खेल क्षेत्रमा युवाको उत्साह बढ्दो छ । उत्साह बढ्दो भए पनि हामीसँग प्रशिक्षण, प्रशिक्षण हल, खेलमैदान अभाव छ । कुनै–कुनै वडामा सेभेन ए साइड, नाइन ए साइडको मैदान रहे पनि सबैमा छैन ।

मेरो व्यक्तिगत विचारमा स्थानीय, प्रदेश र संघ सरकारबाट हाम्रो नगरका एघारवटै वडामा भलिबल, फुटबल, ब्याडमिन्टनलगायत विधाका खेलमैदान र करातेका प्रशिक्षणका लागि कभर्ड हल भइदिएमा खेल क्षेत्रमा फड्को मार्न सकिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्