‘हुलाकको गरिमा घटेको छैन,’ जिल्ला हुलाक कार्यालय खोटाङ प्रमुख प्रतिभा राईले भनिन्, ‘कामचाहिँ घटेको हो ।’
काम घटेपछि हुलाक सेवा विभागले नयाँ–नयाँ प्रकृतिको काम खोजिरहेको छ । प्रविधि विकास तीव्र भए पनि हुलाकले गर्नैपर्ने काम पनि छन् । जुन काम हुलाकबाटै सम्भव छ ।
राष्ट्रिय योजना आयोगमा आठ वर्ष, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दुई वर्ष र ११ महिनादेखि जिल्ला हुलाक कार्यालय खोटाङ प्रमुखको भूमिकामा रहनुभएको प्रतिभा राईसँग तुवाचुङ साप्ताहिक/तुवाचुङ डटकमका प्रबन्ध सम्पादक असल चरित्रले गरेको कुराकानीको सम्पादित अंश :
प्रविधि विकाससँगै हुलाक सेवा ओझेलमा परेको हो कि जस्तो लाग्छ । प्रविधि विकासले हुलाक सेवाको गरिमा उस्तै छ कि घट्यो होला ?
हुलाकको गरिमा घटेको छैन । कामचाहिँ घटेको हो । पहिले सरकारी, गैरसरकारी संघ, संस्था र व्यक्तिगत चिट्ठीपत्र हुलाकबाटै ओसारपसार गरिन्थ्यो । प्रविधि विकाससँगै व्यक्तिगत चिट्ठीपत्र ओसारपसारमा कमी आएको छ । इमेल, इन्टरनेट, सामाजिक सञ्जाल सदुपयोग गर्नेको बाहुल्य बढ्दै गएपछि व्यक्तिगत चिट्ठीपत्र ओसारपसारमा कमी आएको हो ।
त्यसो भन्दैमा हुलाकको गरिमा घटेको छैन । हिजोआजसमेत सरकारी कागजात र पुलिन्दा हुलाकबाटै ओसारपसार गरिन्छ । हुलाकबाट ओसारपसार गर्न सस्तो पनि पर्छ । विश्वसनीयता पनि छँदै छ ।
निजी रूपमा सञ्चालित कुरियर सेवा दुर्गम क्षेत्रका मानिसले उपभोग गर्न सहज पनि छैन ।
गरिमा उस्तै रहे पनि कामचाहिँ घटेछ । काम बढाउन के गर्न सकिन्छ ?
निश्चय नै हुलाकको काम बढाउन सकिन्छ । नयाँ प्रकृतिको काम खोज्नुपर्छ । हुलाक सेवा विभागले पहल गर्दै आएको छ । हुलाकमार्फत नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र घर–घर पुर्याउन सकिन्छ । हुलाकले निकट भविष्यमै ती काम गर्नेछ । हामी गर्न सक्छौं पनि । तर, हुलाक सेवामा ‘वेल एजुकेड’ जनशक्तिको बाहुल्य हुनुपर्छ ।
हुलाक र पत्रकारिताको सम्बन्ध पुरानै हो । अहिले पनि सम्बन्ध उस्तै छ कि छैन ?
हुलाक र पत्रकारिताको सम्बन्ध नङ र मासुको जस्तै छ । दुईबीचको सम्बन्ध पहिले जस्तो थियो, अहिले पनि उस्तै छ । हुलाक र पत्रकारिता आपसमा परिपूरक छन् ।
जिल्लामा जिल्ला हुलाक, इलाका हुलाक र अतिरिक्त हुलाक छन् । तीनवटै हुलाकको आवश्यकता छ कि छैन ?
जिल्लामा तीन तहको हुलाक अनिवार्य आवश्यक छ । मुलुकमा ७० वटा जिल्ला हुलाक छन् । जहाँ क्षेत्रीय हुलाक निर्देशनालय रहेको छ, त्यहाँ जिल्ला हुलाक छैन । मुलुकमा पाँचवटा क्षेत्रीय हुलाक निर्देशनालय छन् । पछिल्लोपटक थपिएको दुई जिल्लामा पुरानै जिल्ला हुलाकले हेरिरहेको छ ।
खोटाङमा जिल्ला, इलाका र अतिरिक्त हुलाक कति छन् ?
जिल्लामा १ जिल्ला हुलाक, इलाका हुलाक ११ र अतिरिक्त हुलाक ६४ वटा छन् ।
जिल्ला हुलाक १, इलाका हुलाक ११ र अतिरिक्त हुलाक ६४ रहेछन् । हुलाकसँग सम्बन्धित स्थायी र अस्थायी कर्मचारी कति छन् ?
जिल्ला हुलाक र इलाका हुलाकमा कार्यरत कर्मचारी ७० जना छन् । ७० मध्ये ३३ जना स्थायी र करारमा ३७ जना रहेका छन् ।
यसैगरी, अतिरिक्त हुलाकमा कार्यरत जनशक्ति २ सय ४८ जना रहेका छन् । उनीहरूले दैनिक दुई घन्टा काम गरे पुग्छ ।
त्यसो भए जिल्लावासी हुलाकको पहुँचमा छन् होइन त ?
पहुँचमा छन् । जिल्लावासीलाई नजिकबाट सेवा दिन निकायमध्ये हुलाक पनि एक हो । जिल्लावासीका सबैभन्दा नजिकको इकाइ नै हुलाक हो ।
खोटाङमा पत्रमञ्जुषाको आवश्यकता छ कि छैन ?
जिल्लामा पत्रमञ्जुषा आवश्यक हो । तर, समय–समयमा पत्रमञ्जुषा खोल्ने र बन्द गर्ने जनशक्ति कमी छ । तसर्थ, पत्रमञ्जुषा राख्न सकिएको छैन । सुरक्षाको हिसाबले हुलाक कार्यालय नभएको ठाउँमा पत्रमञ्जुषा राख्न चुनौती छ ।
नागरिकले पत्रमञ्जुषाको महत्वलाई त्यति वास्ता गरेको पाइँदैन । पत्रमञ्जुषा भनेको सरकारी सम्पत्ति हो । यो राखेको ठाउँमा रातारात तोडफोड हुने कैयौं दृष्टान्त छन् । सुरक्षा व्यवस्था र नागरिकमा सार्वजनिक सम्पत्तिमाथि सचेतना अभावले पनि पत्रमञ्जुषा सञ्चालनमा ल्याउन कठिन भएको हो । सहर–बजारमा समेत पत्रमञ्जुषाको सदुपयोग प्रभावकारी देखिँदैन ।