‘एमालेसँग पार्टी एकता गर्नु नेकपा माओवादी केन्द्रको महाभूल’



संवत् २०७४ को स्थानीय तह निर्वाचनमा हरिश्चन्द्र गिरीले नेकपा माओवादी केन्द्रको तर्फबाट हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा उम्मेदवारी दिए । हलेसी तुवाचुङ नगरपालिका–७ निवासी नेता गिरीको राजनीतिक यात्रा त्यत्तिकै लामो छ । यति लामो राजनीतिक यात्रा सम्झँदा उनलाई कहिले रोमाञ्चित बनाउँछ त कहिले दुःखी । आफूले भोगेका पञ्चायत र बहुदलको राजनीतिक छाप अमिट छ ।

चम्पावती माध्यमिक विद्यालय बुइपा (२०२८)मा विद्यार्थी छँदै नेकपा चोम (चौथो महाधिवेशन)को भूमिगत भ्रातृ संगठन अनेरास्ववियु (छैटौं)को सदस्य हुँदै राजनीतिक यात्रा तय गरेका उनी ०३० सम्म निष्ठावान सदस्य रहेर भूमिका निर्वाह गरे । ०३०/३१ ताका पार्टीलाई वैधानिकता दिन मोहनविक्रम सिंहले नेतृत्व गरेका मोटो मशाल, रूपलाल विश्वकर्माको सर्वहारा श्रमिक संगठन र पातलो मसाल, नेकपा चौम एकीकृत भई सिंगो संयुक्त जनमोर्चा पार्टी नेपाल बन्यो ।

जब संयुक्त जनमोर्चा पार्टी वैधानिक भयो त्यही दिनदेखि ०६२ सम्म निरन्तर उनी पार्टीको केन्द्रीय सदस्य भई आफूले पाएको जिम्मेवारी निर्वाह गरे । माओवादी सशस्त्र द्वन्द्वकालमा आफ्नो नाममा रहेको धेरै जग्गा–जमिन बेचेर पार्टीका कार्यक्रम, महाधिवेशन र विविध शीर्षकमा खर्च गरेर सहयोग गरेको सगर्व सुनाउँछन् ।

‘पञ्चायत सकियो । बहुदल आयो । शाही सरकार आयो । बीचमा प्रचण्ड, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, रामबहादुर थापा ‘बादल’ आदिले नेकपा माओवादीको विभिन्न भूमिका निर्वाह गरी शाही सरकारविरुद्ध विद्रोह गरे,’ उनको भनाइ छ, ‘अन्ततः शाही सरकार ढल्यो । शान्ति सम्झौता भयो । त्यसको केही वर्षपछि जनमोर्चा र माओवादी केन्द्रबीच एकता भयो । त्यसपछि म अखिल नेपाल किसान संघ (अनेकिसं) केन्द्रीय सदस्यका साथै किरात राज्य संयोजक भएँ । हिजोआज नेकपा माओवादी पार्टीको प्रदेश सल्लाहकार रहेको छु । पछिल्लोपटक पाएको भूमिकाप्रति म सन्तुष्ट छैन ।’ उनै पाका नेता हरिश्चन्द्र गिरीसँग यसपटकको ‘चरित्रसँग चियागफ’मा समसामयिक विषयमा कुराकानी गर्ने जमर्काे गरिएको छ ।

संवत् २०२८ देखि आजसम्म राजनीतिमै हुनुहुन्छ । पछिल्लो समय आफूसम्बद्ध पार्टीमा त्यति सक्रिय देखिनुहुन्न । तपाईं पार्टीप्रति सन्तुष्ट हुनुहुन्न हो भनेर प्रश्न गर्दा सही हुन्छ कि गल्ती ?

प्रथमतः मलाई नेकपा माओवादी केन्द्रले एमाले पार्टीसँग एकता गरेको विषयमा चित्त बुझेकै थिएन । एमालेजस्तो दक्षिणपन्थी पार्टीसँग एकता गर्नुहुँदैनथ्यो भन्ने मेरो व्यक्तिगत विचार र मान्यता हो । पार्टी एकता भइसकेपछि म मौन बसेकै हो । निर्वाचनताका आफ्नै पार्टीका केही साथीबाट अन्तरघात भएको थाहा पाएपछि थोरै मन दुखेकै थियो । त्यस मानेमा म पार्टीको काममा केही निष्क्रिय भएकै हो । नढाँटी भन्दा म पार्टीप्रति असन्तुष्ट छैन । निष्क्रिय पनि होइन ।

आफूसम्बद्ध दलसँग तपाईं गुनासो धेरै गर्नुहुन्छ भनिन्छ नि ?

गुनासा या दुःख जे भन्दा पनि भयो । म माओवादी पार्टीमा रहँदा जिल्लाको सहइन्चार्ज भएँ । उता, अखिल नेपाल किसान संघ केन्द्रीय सदस्य र किरात राज्यको संयोजकसमेत भएर सक्रिय राजनीति गरेकै हो । अझै पनि गर्नेछु । यत्तिका भूमिका पाएका नेतालाई जिल्ला सल्लाहकारमा राखिँदा मलाई पटक्कै चित्त बुझेन ।

जिल्ला कमिटी बैठकमा म अझै सक्रिय राजनीति गर्न सक्छु भन्दा मेरो कुरा सुनुवाइ नभएकै हो । मलाई चित्त नबुझ्दानबुझ्दै पार्टीको प्रदेश सल्लाहकारमा थन्काइयो । भूमिका बाँडफाँडमा चित्त नबुझेपछि मैले आफूलाई लागेको कुरा भन्न नपाउनु ? अब यसलाई के भनेर बुझ्ने भन्ने हो ।

एकताका जग्गा–जमिन बेचेरै पार्टीमा लगानी गर्नुभएको थियो ? जग्गा–जमिन बेचेर पार्टीका कुन–कुन शीर्षकमा खर्चनुभयो ?

एकदमै सही कुरा गर्नुभयो । मैले त्यसताका अर्थात् जनमोर्चाको केन्द्रीय सदस्य हुँदा मेरो नाममा रहेको २५ देखि ३० वटा घडेरी बेचेको थिएँ । त्यसताका जग्गा–जमिनको भाउ आकासिएको थिएन । जग्गा–जमिन बेचेर हात लागेको रुपैयाँ संगठन निर्माणलगायत विविध शीर्षकमा लगानी गरेको थिएँ । समग्रमा यसो भन्दा हुन्छ– मैले जग्गा–जमिन बेचेर हात लागेको रुपैयाँ पार्टी बचाउन र पार्टीको उठाउनमै लगानी गरें ।
त्यतिबेला गर्नुभएको लगानी अहिले सम्झँदा सही ठाउँमा सदुपयोग गरेछु भन्ने लाग्छ कि लाग्दैन ?

त्यतिबेलाको लगानी बालुवामा पानीजस्तै भयो । सबै उपलब्धिविहीन । त्यतिबेला लाग्थ्यो– मैले गरेको सहयोगले जनताको हित हुन्छ । म र मजस्तैहरूले गरेको सहयोगबाटै जनताले खोजेका वास्तविक समाजवाद आउँछ भन्ने सोचेको थिएँ । परिस्थिति बदलिँदै गयो । मेरो त के, अधिकांशको मूल्यांकन नै भएन । हामीले जे सोचेर राजनीतिमा लागेका थियौं, कोही कसैको सपना पूरा भएन । तसर्थ, पार्टीप्रतिको त्याग एकठाउँमा होला तर आफूले गरेको त्यत्रो संघर्ष, लगानी सम्झँदाचाहिँ हीनताबोध हुन्छ ।

हिजोआज आफूसम्बद्ध दलसँग तपाईंको धारणा ?

वैचारिक, सैद्धान्तिक पक्ष सुदृढीकरण गर्न सकेन भने नेकपा माओवादीको भविष्य जोखिम देख्छु । वर्तमान परिप्रेक्ष्यमा पार्टी संसदीय भासमा भासिँदै गइरहेको छ । तलदेखि माथि (केन्द्रसम्म)का सबै व्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठाको दलदलमा फस्दै गइरहेका छन् । त्यसैले पार्टीको नेतृत्वपंक्तिले वैचारिक, सैद्धान्तिक पक्ष अझ दरिलो बनाउँदै व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितका लागि राजनीति गर्नुपर्छ । पद र प्रतिष्ठाको मोहलाई चटक्कै भुलेर वास्तविक कार्यकर्ताको सही मूल्यांकन गरी असललाई प्रोत्साहन गर्दै अगाडि लैजाने र खराबलाई कारबाहीको दायरामा ल्याउँदै सच्चिन दिने हो भने पार्टी मजबुत बनाउन समय लाग्दैन ।

नत्र पुँजीपति, ठेकेदार र कहलिएका नेताका आसेपासेमात्रै नेतृत्वमा पुग्छन् । जसले जनताको भलाइ गर्न सक्दैनन् । त्यसैले यस्तो व्यवस्था बिल्कुलै गलत छ । यो व्यवस्था ठीक कि बेठिक भनेर जनमतसंग्रह गर्न आवश्यक छ ।

तपाईं कम्युनिस्ट नेता । म कम्युनिस्ट हुँ भन्ने कहिलेदेखि थाहा पाउनुभयो ?

कम्युनिस्ट र माक्र्सवाद भन्ने मैले अलि ढिलै थाहा पाएँ हुँला । सैद्धान्तिक र वैचारिक पाटो झन् परको कुरा भयो । हिजोआज सम्झँदा मैले राजनीति थालेदेखि नै म कम्युनिस्ट थिएछु ।

राजनीतिक प्रशिक्षण लिन थालेपछि, पार्टीका एजेन्डा बुझ्दै गएपछि, समाजमा निरंकुश, शोषक र सामन्तीविरुद्ध लड्दै गएपछि, सामन्तको जन्जिरमा बाँधिएका मध्यमवर्गीय श्रमजीवी सर्वहारालाई न्याय दिलाउँदै गएपछि म कम्युनिस्ट हुँ भन्ने अनुभूति गरें ।

प्रतिक्रिया दिनुहोस्