९ कक्षा पढ्दा १० का विद्यार्थीलाई अंग्रेजी पढाउने मेयर


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ । तस्बिर : न्युज दैनिक

‘धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कक्षा ९ र १० कुहुडाँडा माध्यमिक विद्यालय खार्तम्छा, फेदी खोटाङमा पढेका हुन्,’ केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका वडाध्यक्ष मिलन राईले विगत सुनाए, ‘हामी क्लासमेट । धरान उपमहानगरपालिकाका मेयर साम्पाङ हाम्रो ब्याचको फर्स्ट बोई । उनी पढाइमा असाध्यै ट्यालेन्ट ।’

‘९ कक्षा पढ्दै गर्दा उनले १० कक्षाका विद्यार्थीलाई अंग्रेजी विषय पढाउँथे,’ केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका वडाध्यक्ष राईले थपे, ‘शिक्षकले उनलाई १० कक्षाका विद्यार्थीलाई पढाउन लगाउँथे ।’

त्यतिबेला कक्षाकोठामा जो पहिले पुग्थ्यो, ऊ अघिल्लो बेन्चमा बस्न पाउँथ्यो । हर्क बीचतिर बस्थे । उनका समकक्षी मिलनको रोजाइ सधैं पहिलो बेन्चमै हुन्थ्यो । संवत् २०५५ मा दुवैले एसएलसी परीक्षा लेखे । ‘सेन्टर बाक्सिला बजार परेको थियो । ऐंसेलुखर्कका विष्णु राजभण्डारी सुपरटेन्ट हुनुहुन्थ्योजस्तो लाग्छ,’ उनले प्रसंग जोडे, ‘नारायण गोपालको गीत गाउँदै हर्कले परीक्षा लेखेको देखेपछि सुपरटेन्टसमेत तीनछक परे । यो मान्छेले भविष्यमा केही न केही गर्छ है भनेर सुपरटेन्टले ठोकुवा गरेका थिए ।’

मेयर हर्क साम्पाङले खार्तम्छा खोटाङबाटै एसएलसी परीक्षा उत्तीर्ण गरे । पहिलो श्रेणीमा उत्तीर्ण साम्पाङ विज्ञान विषयको खोटाङकै ‘टपर’ हुन् । उनले ९९ नम्बर ल्याएको समकक्षी मिलनको भनाइ छ । मिलनले भने दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।

केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका वडाध्यक्ष मिलन राई । तस्बिर : तुवाचुङ डटकम

विद्यालयमा कहिल्यै नपढ्ने हर्क गीतमात्रै गाइरहन्थे । ‘तर, घरमा पढ्दारहेछन् । अहिले सम्झँदा त्यस्तो लाग्छ,’ समकक्षीले सुनाए, ‘पिसमात्रै भन्थे । ऊ र म पिस मास्टरजस्तै थियौं । मैले तापखोला (मामतिम) खार्तम्छावारिको पिस सुनाउँथें । उनले तापखोलापारि चोखानेतिरको सुनाउँथे । धरान बसेकाले उनलाई पिस भन्न धेरै आउँथ्यो । मैले पनि दाइहरूले भन्नुभएको पिस जोडजाड गरेर सुनाउँथें ।’

उनी चुलबुले । सानैदेखि गिटार समाइरहन्थे । ‘ऊ चोखानेको भए पनि वारि (मामतिम) तिरै बस्थे । चोखानेभन्दा मामतिमतिरकै साथी धेरै थिए । त्यतिबेला चोखानेबाट विद्यालय धाउने कमै थिए । चोखाने रहँदा घरैबाट स्कुल धाउँथे । उनी फुटबल र भलिबल खेल्थे । हाम्रै टोलबाट खेल्ने उनी पौडी खेल्न पनि त्यत्तिकै सिपालु । ‘एक दिन टिफिन टाइममा स्कुलबाट भागेर पौडी खेल्न तापखोला झ¥यौं,’ उनले सम्झे, ‘पौडी खेल्नेक्रममा म डुबें । हर्कले नै मलाई बचायो ।’

कक्षा ५ सम्म चोखानेमै पढेपछि उनी धरान झरे । ८ पास गरेर खार्तम्छा फर्के । एसएलसी गरेर पुनः धरान झरे । हात्तीसार क्याम्पसमा भर्ना भए । कलेज पढ्दै गर्दा धरानमा पर्फेक्ट इंग्लिस ल्याङ्वेज इन्स्टिच्युट खोले । ‘इन्टर’ पढ्ने उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत ऐच्छिक अंग्रेजीका विद्यार्थीलाई ट्युसन पढाउँथे ।

कम्प्युटरमा पनि त्यत्तिकै दख्खल । संवत् ०६५ तिर हर्क इराक पुगे । ‘इराकका लागि छनोट भएको छु भनेर मलाई जानकारी गराए,’ मिलनले पुछारमा साम्पाङको प्रशंसा गरे, ‘इराकमा अरूले चार सय डलर तलब पाउँदा उनले एक हजार डलर थाप्थे । उनी कार्यालयीय काम गर्थे ।’

तस्बिर : सेतोपाटी

नेपाल फर्केपछि मिलन राईलगायतलाई धरान बोलाए । निम्ता पाएपछि उनीहरू धरान झरे । हर्क साम्पाङ राजनीतिक दल दर्ता गर्ने तयारीमा थिए । ‘हामी दुईपटक धरान झर्यौं,’ मिलन राईले विगत प्रस्ट्याए, ‘बैठकमा हर्कले राष्ट्रिय एकता सञ्जालको विधान सुनाए । पार्टी दर्ता गर्ने सल्लाह सल्लाहमै सीमित रह्यो ।’

कार्यालयमा भेट्दा पदीय भूमिकाअनुसार सम्बोधन गर्ने उनीहरू बाहिर भेट्दा तँ–तँ भन्छन् । ‘पहाड घर आउँदा मेरो वडा कार्यालय पस्छस् कि पस्दैनस् भनेर सोधें,’ मिलनले भने, ‘हर्कले पस्छु भने । र, पसे पनि ।’

श्रमको कुरा पहिल्यैदेखि गर्ने हर्कले धरानमा श्रम संस्कृतिको जग बसाले । हिजोआज उनलाई श्रमपिता भनेर सम्बोधन गरिन्छ । गाउँघरमा रहँदा वडाका जनप्रतिनिधिलाई श्रम गराउँथे । पहिलोपटक धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिँदा ४४७ मत पाएका उनले दोस्रोपटक भने बाजी मारे ।

(खार्तम्छा, खोटाङबाट फर्केपछि ।)

प्रतिक्रिया दिनुहोस्