ढुंगाबाट पहिचान बनाउन लोभिएकी १९ वर्षीया कलाकार


तुवाचुङ टडकमका प्रबन्ध सम्पादक असल चरित्रका लागि दीपा मगरातीद्वारा निर्मित ‘स्टोन आर्ट ।

‘स्टोन आर्ट’ आफैंमा लोभलाग्दा कला । खोला–बगरका ढुंगा संकलन गरेर कलात्मक बनाउन त्यति सजिलो काम होइन । सजिलो काम त सबैले गर्छन् । अप्ठ्यारो काममा पहिचान बनाउनुको आनन्द दीपा मगराती (१९)लाई मात्रै थाहा छ । उनै कलाकार मगरातीसँग तुवाचुङ डटकमका लागि असल चरित्रले गरेको कुराकानीको सम्पादित अंश :

‘स्टोन आर्ट’मा भविष्य खोज्दै गरेकी दीपा मगरातीले स्टोन आर्ट थालेको कति भयो नि ?

दुई महिनामात्रै भयो ।

‘स्टोन आर्ट’ नै रोज्नुका कारण ?

‘स्टोन आर्ट’ गर्दा मलाई असाध्यै खुसी लाग्छ । जसले मलाई मेरा लागि पनि ‘स्टोन आर्ट’ गरिदिनूस् न भन्छन्, त्यतिबेला म आफूले आफूलाई संसारकै भाग्यमानी ठान्छु ।

‘स्टोन आर्ट’मा कस्ता दृश्य प्राथमिकतामा पर्छन् ?

‘स्टोन आर्ट’मा मलाई प्राकृतिक दृश्य समेट्न मन पर्छ । तर, हिजोआज भने विभिन्न विधाका किताबको ‘कभर’ बनाउन पनि समय खर्चेकी छु ।

अहिलेसम्म कतिवटा किताबको ‘कभर’ बनाइयो होला ?

आठ ।

आफूले बनाएको ‘स्टोन आर्ट’ कति पुगे ?

अहिलेसम्म ४५ वटा बनाइसकेकी छु ।

कतिलाई उपहारका दिइयो होला ?

‘स्टोन आर्ट’ बनाएर सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गरेकी छु । प्रत्यक्ष भेटेर युव सर्वनाम र योजना राईलाई उपहार दिन भ्याएकी छु ।

‘स्टोन आर्ट’ र उच्चशिक्षाबाहेक अतिरिक्त लेखपढ गर्ने विधा ?

‘स्टोन आर्ट’बाहेक म कविता, कथा, मुक्तक र टुक्कामा कलम चलाउछुँ । साथै हतुवागढी शब्दघर ‘अक्षरालय’को कार्यक्रम प्रस्तोता पनि हुँ ।

आफूले बनाएका ‘स्टोन आर्ट’बाट दीपा मगरातीले दिन खोजेको सन्देश के हो ?

मैले बनाएको ‘स्टोन आर्ट’ सबैलाई मन नपर्न सक्छ । म सुरुवाती चरणमा छु । जसले ढुंगालाई कुल्चेर हिँडिरहेको हुन्छ, उसले चाह्यो त्यही ढुंगाबाट भविष्य उजिल्याउन सक्छ । जुन सम्भव पनि छ । मैले प्रवाह गर्न खोजेको सन्देश त्यति हो ।

खोला–बगरको ढुंगाबाट पहिचान बनाउन लोभिएकी छु । हामी एकले अर्काको कलाको सम्मान गरौं ।

तुवाचुङ टडकमका प्रबन्ध सम्पादक असल चरित्रका लागि दीपा मगरातीद्वारा निर्मित ‘स्टोन आर्ट ।

यसो भनिरहँदा मेरा अभिभावकप्रति ऋणी छु । मेरी ममी, बाबा र हजुरआमाको गुन कहिल्यै बिर्सन्न । मेरी हजुरआमा ८० वर्षकी हुनुभयो । उहाँले मलाई सुन्दर सुन्दर ढुंगा खोजेर ल्याइदिनुहुन्छ । माघको जाडोमा ढुंगा घोटेर चिल्लो बनाइदिनुहुन्छ । घाँसदाउरा जाँदासमेत ममीबाबाले ढुंगा ल्याइदिनुहुन्छ । त्यही ढुंगामा म कला भरिरहेकी छु ।

कसैलाई सम्झनुपर्ने छ त ?

मैले ओम डीसीआर, विश्वजित चाम्लिङ राई, प्रकाश दिप्साली, मेघराज राई, रुद्र राई, प्रवीण गुरुङ, निरज खड्का, मुकुन्द प्रयास र कविता राईलाई असाध्यै सम्झिरहेकी हुन्छु ।

कुन तहमा अध्ययनरत हो ?

सप्तकोसी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत छु ।

सप्तकोसी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने कलाकारको पहाड घर ?

मेरो जन्मथलो हतुवागढी भोजपुर हो । हाल : सुनसरीको चतरामा बस्छु ।

सुन्दर ‘स्टोन आर्ट’ गर्ने कलाकारको उमेर सोध्न मिल्छ ?

म १९ वर्षकी भएँ ।

पट्नालीखोलामा ढुंगा खोज्दै दीपा मगराती ।

१९ वर्षमै यत्ति लोभलाग्दो कला ?

अभ्यास गर्दै छु ।

मैले सोध्न छुटाएको तर आफूलाई भनूँभनूँ लागेको केही छ ?

म ‘स्टोन आर्ट’मा पहिचान बनाउन लागिपरेकी छु ।

 

प्रतिक्रिया दिनुहोस्