साहित्य पनि कलात्मक राजनीति



साहित्यलाई भोजनालयसँग तुलना गरिएको छ । नुनथला, खोटाङका नवीन संघर्ष पनि सहमत छन् । तर, उनी थप्छन्, ‘कलात्मक राजनीति हो– साहित्य ।’ साहित्यलाई कलात्मक राजनीतिसँग तुलना गर्ने संघर्ष २० वर्षदेखि साहित्यिक यात्रामा यात्रारत छन् । पाठकले २०५६/०५७ बाट उनलाई विभिन्न माध्यमबाट पढ्दै आएका छन् । उनको ठम्याइ छ, ‘कुनै पनि साहित्यिक सिर्जना निर्जीव वा प्राणहीन हुनुहुँदैन । साहित्य जीवन हो । मानिसको सजीव हुनुमा जति अर्थपूर्ण रहेको हुन्छ, साहित्य पनि त्यति अर्थपूर्ण हुनुपर्छ ।’ आफूलाई साहित्यका विद्यार्थी होइन, साधक भन्न रुचाउने नवीन संघर्षसँग तुवाचुङ डटकमका लागि सगरमाथा राईले गरेको कुराकानीको सम्पादित अंश :

राजनीतिलाई शौचालय र साहित्यलाई भोजनालयसँग तुलना गरिन्छ, तपाईं भने भोजनालयमै रत्तिनुभयो कसरी ?

पहिले त यो राजनीतिलाई शौचालय र साहित्यलाई भोजनालयसँग तुलना गरिएको दुई सन्दर्भलाई फरक–फरक तरिकाबाट विश्लेषण गर्न जरुरी देख्छु । राननीति एउटा सिंगो शरीर हो भने साहित्य शरीरको एक अंग हो । यो भनाइलाई मैले यसरी विश्लेषण गरें, नेपाली राननीतिको सन्दर्भमा अहिले राजनेताको बेइमानी राजनीतिका कारण हो । राजनीति फोहोरी हुन गयो र यसलाई शौचालयसँग तुलना गरिएको हो भने, सामान्य तथा सतही रूपबाट मनोरञ्जनको दृष्टिले हेर्नेले साहित्यलाई भोजनालयसँग तुलना गरिएको हो । तर, विनाराजनीति सुन्दर र सभ्य समाजको परिकल्पनासमेत गर्न सकिँदैन ।

अब म भोजनालय वा साहित्यमा रत्तिएको सन्दर्भ छ, राजनीति प्रस्ट दलीय आस्था वा विचार हो भने साहित्य पनि कलात्मक वा विम्बात्मक राजनीति नै हो । साहित्यले पनि कुनै न कुनै दलीय राजनीतिको पक्षपोषण गरेको हुन्छ । यसर्थमा मेरो पनि कुनै दलप्रति आस्था छ, यसो भन्दैमा दलको झण्डाको गीत गाउनैपर्छ भन्न खोजेकोचाहिँ होइन । मेरो व्यक्तिगत रुचि, प्रभाव र भविष्य राजनीतिमा भन्दा साहित्यमा देखेका कारण म साहित्यमै रत्तिएको हुँ ।

तपाईंको बुवा राजनीतिकर्मी, बोट गुनाको फल, आमा गुनको तामा भन्ने उखानै छ तर त्यो उखान तपाईंको हकमा लागू नहुनाका कारण ?

हो, मेरो बुवा पूर्वप्रधानपञ्च हुनुहुन्छ । हालसम्म पनि निष्ठाको समाजसेवा गर्नुहुन्छ । बुवाले हामी छोराछोरीलाई कहिल्यै राजनीति गर्नुपर्छ भन्नुभएन बरु राजनीतिले अफ्नो जीवन बर्बाद भएको बारम्बार सुनाइरहनुहुन्छ । तर, सादा जीवन उच्च विचारको सिकाइचाहिँ हामीले बुवाबाटै सिकेका हौं । अब तपाईंको प्रश्नानुसार, बोट गुनको फल र आमा गुनको तामा भन्ने उखानमा मेरो आमा त निरक्षर हुनुहुन्छ, राजनीति र साहित्यप्रति दाइ हेम र जीवनबाट प्रेरित भएको हुँ । तर, बोट गुनको फलबाट भने अछुतो रहिनँ ।

२० वर्षदेखि निरन्तर साहित्य सिर्जनामा लागिरहनुभएको छ, उपलब्धिबारे बताइदिनुहोस् न ।

मैले साहित्यमा २०५३/०५४ बाट कलम चलाउन थालेको हुँ । साहित्यिक पाइला टेक्न सिकाउने परिवारमा माइला दाइ जीवन र विद्यालयमा मेरो नेपाली गुरु मकरचन्द्र राई, एमसी सुमित (जालपा मावि नुनथला) हुन् । त्यसैले उहाँहरू मेरो साहित्यिक जीवनको पथप्रदर्शक हुनुहुन्छ । साहित्य सिर्जनामा लागेर ठूलै उपलब्धि हासिल त गरेको छैन तर जिल्लाव्यापी खुला कविता वाचन, गजल लेखन, लघुकथा लेखन, निबन्ध लेखनमा धेरैपटक पुरस्कृत भएको छु ।

०५३/५४ बाट साहित्य लेखन थाल्नुभएको तपाईंको साहित्य सिर्जना ०५६/५७ बाट पाठकले विभिन्न पत्रपत्रिकामा पढ्दै आएका छन्, तपाईंको पाठकचाहिँ को हुन् ?

सिर्जनाका पाठक यही हो वा यति नै हो भनी सीमांकन गर्न त सकिँदैन होला । तर, मोफसलबाट प्रकाशित साप्ताहिक, हवाई, मासिक, द्वैमासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक पत्रिका तथा मुखपत्र र राष्ट्रियस्तरका युवा, नवयुवा, मूल्यांकन र गोरखापत्र दैनिकमा मेरा सिर्जना प्रकाशित छन् । प्रकाशित सिर्जना प्रायः प्रगतिशील विचार र भावका भएका कारण त्यस्ता पत्रपत्रिकाका पाठक तथा सर्जक नै मेरा सिर्जनाका पाठक हुन् भन्ठाछु ।

कविता, गीत, गजल, कथा तथा निबन्धमा समेत कलम चलाउनुहुन्छ, उल्लिखितमध्ये कुन विधामा लेख्न सजिलो लाग्छ यहाँलाई ?
साहित्यको सैद्धान्तिक आधार र लेखनको हिसाबले कुनै पनि विधालाई सजिलो र अप्ठ्यारोसँग तुलना गरिनुहुन्न । सबैको आ–आफ्नै सैद्धान्तिक बनोट, प्रकृति, संरचना, आधार र नियम हुन्छ । मेरो साहित्य सिर्जना पूर्ण सिद्धान्तममा आधारित छैनन् । किनभने म साहित्यको विद्यार्थी होइन, साधकमात्रै हुँ । यसो भन्दैमा मसँग साहित्य लेखनको कुनै पनि ज्ञान छैन भन्न खोजेकोचाहिँ होइन । कुनै पनि विधामा कलम चलाउँदा सामान्य नियम र आधारभित्र रहेर मात्रै सिर्जना गर्छु ।

मेरो साहित्य थालनी कविता लेखनबाट भएको हो । पहिले विद्यालय तहको विद्यार्थी हुँदा कवितामात्रै लेखें, क्याम्पस तहको विद्यार्थी हुँदा गजलको लहर चल्यो । त्यतिबेला गीत पनि लेख्न सुरु गरें । विशेषतः कविता, गीत र गजल तीन विधामै बढी कलम चलाउँछु ।

दुई दशकदेखि लेखनले निरन्तरता पाए पनि संग्रह प्रकाशित गर्ने रहर नभएको हो कि, बाध्यता ?

आफ्नो सिर्जनालाई जीवन्त र सुरक्षित राख्न संग्रह अनिवार्य हो भन्ने मेरो बुझाइ छ । दोस्रो जनआन्दोलन ०६२/६३ ताका राष्ट्रिय मुद्दाका समसामयिक विषयमा केन्द्रित रही प्रकाश खतिवडा (तत्कालीन शिक्षक जालपा मावि नुनथला, खोटाङ) र मैले ‘देश दुखेको छ’ नामक संयुक्त गजलसंग्रह प्रकाशित गर्न तीस÷तीस गजल लेखेर पाण्डुलिपि तयार गरी भूमिका लेखन आहुतिसमक्ष पुर्याएका थियौं । तर, त्यही समय राजतन्त्र अन्त्य भई लोकतान्त्रिक गणतन्त्रको जग बसाल्न जनआन्दोलनले त सफलता प्राप्त गर्यो । हाम्रो संग्रह जनआन्दोलन सफलता प्राप्तिसँगै समयसापेक्ष नहोला भनेर पाण्डुलिपिमै सीमित राख्यौं । अर्कोतिर हामी तीन दाजुभाइले पनि संयुक्त संग्रह प्रकाशन गर्ने सोचसाथ तयारी पनि गरेका हौं, संग्रहका लागि हामीसँग रचना पुग्दो पनि छ । विडम्वना संग्रहित गर्न सकिरहेका छैनौं, प्रयासरत छौं ।

लेख्नका लागि लेख्ने बाहुल्य छ, तपाईंद्वारा सिर्जित सहित्यमार्फत प्रवाह गर्न खोजेको सन्देश ?

मेरो विचारमा साहित्य लेखन लेखकको व्यक्तिगत सोच, बुझाइ, चेतना र व्यवहारको कलात्मक लिखित दस्तावेज हो । लेखनमा लेखकमा स्वतन्त्र र सर्वाधिकार रहेको हुनुपर्छ । संग्रहको प्रसंग ल्याउँदै गर्दा धेरै लेखकले सस्तो चर्चा र संख्याका लागि संग्रह प्रकाशन गर्ने तर प्रकाशित संग्रहभित्रका रचना निर्जीव तथा प्राणहीन हुने पनि प्रशस्त भेटिन्छन् । साहित्य जीवन हो । मानिसको जीवन हुनुमा जति अर्थपूर्ण रहेको हुन्छ, साहित्य पनि त्यति अर्थपूर्ण हुनुपर्छ । मैले साहित्यलाई जहिलेदेखि बुझें, त्यही समयदेखि समाजमा सकारात्मक परिवर्तनका लागि आफूले जाने बुझेको, भोगेको र कल्पना गरेको भाव साहित्य र कलाको माध्यमबाट समाजमा प्रवाह गर्दै आएको छु । र, मैले प्रवाह गर्न खोजेको सन्देश पनि त्यही हो कि मेरो साहित्यिक सिर्जनाले समाजमा सकारात्मक परिवर्तनका लागि सहयोगी भूमिका निर्वाह गरोस् ।

तपाईंको लेखनको निजत्वचाहिँ के हो ?

लेखनको निजत्व भन्नाले मैले दुई अर्थ बुझें । पहिलो, लेखन विधाको कुरा भने दोस्रो, लेख्ने विषयवस्तु, स्रोत वा सन्दर्भ । विधाबारे सोध्नुभएको हो भने माथि नै चर्चा गरिसकेको छु । लेखन विषयवस्तु, स्रोत वा सन्दर्भबारे हो भने समाजको यथार्थता, सकारात्मक तथा नकारात्मक परिवेशसँग भित्री मनको भाव परिवर्तनका लागि व्यक्त गर्ने शिल्प नै मेरो लेखनको निजत्व हो ।

समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ, लेखनका हिसाबले तपाईं साहित्यको विद्यार्थी हुनुपर्ने होइन र ?

कुरा सत्य हो । म समाजशास्त्रका विद्यार्थी हुँ । तर, अध्ययनको प्रसंग ल्याउँदा धेरै परिकार मिसाएर चटपटे बनाएजस्तै भएछ मेरो पढाइ । प्रवीणता प्रमाणपत्र तह नेपाली, स्नातक तह स्वास्थ्य तथा शारीरिक शिक्षा र स्नातकोत्तर समाजशास्त्रको विद्यार्थी भएँ । यसरी हेर्दा मेरो औपचारिक अध्ययन पनि चटपटेकै परिकारजस्तै लाग्छ । साहित्य, राजनीति, गीत–संगीत, खेलकुद, शिक्षण, समाज सेवामा कहीं कतै प्रभाव छ मेरो तर औपचारिक अध्ययन एकातिर रुचि र लगाव भने अर्कैतिर भएको पक्कै हो । यसरी आफैंलाई मूल्यांकन गर्दा साहित्य सिर्जना, कला र सीपजस्ता विषयलाई औपचारिक अध्ययन अनिवार्य रहेनछ । औपचारिक अध्ययनले रोक्दैन पनि रहेछ तर औपचारिक अध्ययन भएमा विषयवस्तु र सीपप्रति दख्खल राखिने कुराचाहिँ ध्रुवसत्य हो ।

साहित्य सिर्जना तथा गीत–संगीत त पक्कै पनि अतिरिक्त समयमा गर्नुहुन्छ, जीवन निर्वाहका लागि तपाईंको पेसाचाहिँ के हो ?

पेसाको प्रसंग गरिल्याउँदा पनि चटपटेको उदाहरणसँगै मिल्न जान्छ । मैले २०५८ मा एसएलसी उत्तीर्ण गरेको हुँ । एसएलसी उत्तीर्णलगत्तै नुनथलामा रहेको तत्कालीन पारिजात मोडल बोर्डिङ स्कुलमा शिक्षण पेसामा आबद्ध भएँ । त्यहाँ तीन वर्ष, त्यसपछि जालपा मावि नुनथलामै निजी शिक्षकका रूपमा तीन वर्ष पढाएँ । नेपाल स्वीस सामुदायिक वन परियोजना खोटाङ गैरसरकारी संस्थामा दुई वर्ष, जनसेवा समाज नेपाल जालपा, खोटाङमा दुई वर्ष काम गरें । त्यसपछि कालिका मावि खार्मी, खोटाङमा दुई, जनता मावि सल्ले, खोटाङमा एक वर्ष शिक्षकको भूमिका निर्वाह गरिसकेको छु । हिजोआज पनि काभ्रेपलाञ्चोकको एक विद्यालयमा अध्यापन गर्छु । यी सबै अवस्थाको भिन्नभिन्न समयमा निर्वाह गरेको भूमिकालाई हेर्दा मेरो जीवनको पेसा ज्यादै अनिश्चित देखिन्छ । अहिलेसम्म सबैतिर अनुभव सँगाल्नुका साथै त्यसैबाट जीवन निर्वाह गर्दै आएको छु । यसरी हेर्दा त जीवन चलेकै थियो, चल्दै छ र चलिरहने छ भनेजस्तै पनि लाग्छ ।

एकताका तपाईं आबद्ध गैरसरकारी संस्था कस्तो संस्था हो ? त्यो संस्थाले सञ्चालन गर्ने कार्यक्रममार्फत सर्वसाधारणले के–कस्तो सेवा सुविधा प्राप्त गरेजस्तो लाक्ष्छ ? त्यसमा तपाईंको भूमिका ?

एकताका म आबद्ध जनसेवा समाज नेपाल जालपा, खोटाङ समाज सेवामा समर्पित जिल्लाको अब्बल गैरसरकारी संस्था हो । सो संस्थाको कार्यक्रम नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत जिल्ला विकास समिति खोटाङ र स्थानीय गैससको साझेदारीमा सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) हो । यसलाई संक्षेपमा सामाजिक परिचालन कार्यक्रम भनिन्छ । खोटाङको हकमा यो कार्यक्रम तात्कालिक जिल्ला विकास समिति र सात गैरसंस्थाबीच साझेदारीमा सञ्चालित थियो । सात संस्थामध्ये जनसेवा समाज नेपाल पनि एक हो । संस्थाले अरू धेरै कार्यक्रम सञ्चालन गरिरहे पनि यो सामाजिक परिचालन कार्यक्रम भने जिल्लाका साबिक खार्पा, कुभिन्डे, हौंचुर, जालपा, खार्मी, सप्तेश्वर, बाक्सिला, बासपानी, खार्तम्छा, फेदी र सुङ्देल गाविसमा सञ्चालनमा थियो ।

त्यो कार्यक्रमले विशेषतः गरिबीका अन्तर्निहित कारणको खोजी समाजमा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछि पारिएका, परेका गरिब तथा उपेक्षित घरधुरी, दलित, महिला, जनजाति, फरक क्षमता भएका, ज्येष्ठ नागरिक, सीमान्तकृत तथा पिछडावर्ग जसलाई सरकारले नै लक्षित वर्ग भनेर परिभाषित गरेको छ । लक्षित वर्गलाई राज्य तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले दिने सेवा–सुविधाबाट वञ्चित भएका छन्, त्यस्ता समूहलाई उनीहरूले प्राप्त गर्ने आफ्नो हक–अधिकार प्राप्तिका लागि खोजी गर्न सचेतीकरण गर्दै राज्यको मूलधारमा ल्याउन सशक्तीकरणको पाटोमा सहयोग गरी जीविकोपार्जनका लागि विविध कार्यक्रम सञ्चालनमा सहयोग गर्नु नै कार्यक्रमको प्रमुख उद्देश्य थियो । उल्लिखित सेवा–सुविधा प्राप्तिका लागि म संलग्न कार्यक्रमले सर्वसाधारणलाई सेवा प्रदान गथ्र्यो ।

त्यस कार्यक्रममा मेरो भूमिका भनेको साबिक जिल्ला विकास समिति, साझेदारी संस्था र माथिका ११ साबिक गाविसका सामाजिक परिचालकबीच त्रिपक्षीय पुलको काम गर्नु थियो । पदीय जिम्मेवारीको हिसाबले कार्यक्रम संयोजकका रूपमा सरकारले तयार गरेको कार्यक्रम संस्था हुँदै सामाजिक परिचालकमार्फत लक्षित वर्गसमक्ष पुर्याई कार्यक्रमको नीति तथा उद्देश्यअनुसार सञ्चालन गर्न सामाजिक परिचालकलाई आवश्यकीय सहयोग र समन्वयकारीको भूमिका प्रमुख रहन्छ । अर्को प्रमुख कुरा भनेको नेपाल सरकारद्वारा अधिराज्यव्यापी कार्यक्रम सञ्चालनमा छ । त्यही स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) छ, जुन त्यतिबेला ७५ जिल्लाका सबै नगरपालिका र गाविसमा सञ्चालित थिए ।

तपाईं साहित्य, गीत–संगीत, खेलकुद, राजनीति, शिक्षण, समाजसेवा सबैसबैमा जानकार हुनुहुन्छ । उल्लिखित सबै क्षेत्रमा अगाडी बढ्ने प्रेरणाको स्रोतचाहिँ के हो नि ? उल्लिखित क्षेत्रमा लागेर तपाईंले के पाउनुभयो ? आफूले गरेको कामप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ ?

प्रथमतः उल्लिखित क्षेत्रमा म जे छु ती सबैमा मेरो परिवारको सकारात्मक वातावरणका कारण नै हो । बुवा त्यो जमानाको प्रधानपञ्च भए पनि प्रतिष्ठा र इमानदारी राजनीति गर्नुभएछ । दीपककुमार राईको छोरा हुँ भन्न पाउँदा आफूलाई गर्विलो ठान्छु । बुवाले बेइमानको राजनीति गर्नुभएको थियो भने सायद आज बुवा जीवित रहनुहुन्थ्यो या हुन्थेन थाहा छैन । तर, उहाँका दौंतेरी प्रधानपञ्चहरू दसवर्षे सशस्त्र द्वन्द्वमा विस्थापित भए । कैयौं अंगभंग बनाइएका छन् । कतिको त ज्यानै गएको थियो । तर, मेरो बुवालाई त्यस्तो अप्ठ्यारो अवस्थामा पनि तत्कालीन विद्रोही नेकपा माओवादीले सोधखोजसम्म गरेन । यसर्थ, बुवाबाटै निष्ठाको राजनीति गर्ने वंशाणु गुण हामी छोराछोरीमा सरेको हो । तपाईंकै शब्द सापटी लिँदा बोट गुनको फल भनेको यही रहेछ ।

सबै क्षेत्रमा अग्रसर हुने वातावरण मेरो जेठा दाइ हेमविक्रमले मिलाइदिनुभएको हो । ०५३ सालमा म कक्षा आठमा पढ्थें । दाइ त्यसबेलादेखि तत्कालीन जालपा प्रस्तावित मावि नुनथलामा शिक्षक बनेर आउनुभयो । उहाँले त्यसबेलादेखि विद्यालयमा हुने अतिरिक्त क्रियाकलापको माध्यमबाट सबै क्षेत्रमा अग्रसर हुने वातावरण बनाइदिनुभयो । खोटाङमा प्रत्येक क्रियाकलापमा अहिलेसम्म नुनथलाले आफ्नो प्रभुत्व जमाइरहेको छ । अध्ययनक्रममा गाउँ बाहिरिएर पुनः गाउँ फकिएपछिको दाइ हेमको उपस्थिति सँगै पारिवारकि पृष्ठभूमि, गाउँमा स्थापित वेदना सांस्कृतिक परिवार र जालपा मावि नुनथला नै मेरो सम्पूर्ण प्रेरणाका स्रोत हुन् भने ती सम्पूर्ण क्षेत्रमा अग्रसर हुन नेतृत्व गर्न सिकाउने गाउँका थुप्रै दाजुदिदीहरू हुनुहुन्छ । विद्यालयका गुरुहरू हुनुहुन्छ । दौंतरी साथीहरू पनि हुनुहुन्छ । उहाँहरूको पनि उत्तिकै सहयोग र प्रेरणा छ ।

साहित्य, गीत–संगीत, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा लागेर ठूलै पद्वी त हात पारेकोे छैन । त्यो प्राप्त गर्न लालायित पनि होइन । तैपनि जिल्लाव्यापी खुला प्रतियोगितामा धेरैपटक विजयी भएको छु । जिल्लाव्यापी उत्कृष्ट संगीतकार बनेको छु । गायन प्रतियोतिमा उत्कृष्ट बनेको छु । नृत्य प्रतियोगितामा पनि उत्कृष्ट भएको । जिल्लामा मात्रै नभएर पूर्वाञ्चल क्षेत्रीयस्तरको भलिबल प्रतियोगितामा तीनपटक छनोटमा परेको छु ।

यसैगरी, जागिरको सिलसिलामा मैले धेरै विद्यालय, संघ संस्था विभिन्न भूमिकामा रहेर अनुभव सँगालेको छु । अतिरिक्त क्रियकलापले शिक्षण सिकाइमा पनि शिक्षक, विद्यार्थी र अभिभावकसँग त्यत्तिकै सकारात्मक प्रभाव पार्दोरहेछ । मेरो अतिरिक्त क्रियाकलापको प्रभावकै कारण शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीको दृष्टिमा नौ वर्ष लामो शिक्षण पेसामा कहिल्यै अक्षम र अयोग्य शिक्षक भनेर अप्टिक खान परेन । बरु कहिल्य भुल्न नसक्ने आदर, सम्मान र माया पाएको छु । जालपा मावि नुनथला, कालिका मावि खार्मी र जनता मावि सल्ले छाड्दा त्यहाँका विद्यार्थी, शिक्षक, विव्यस, अभिभावकले गरेको माया, आदर, सम्मान र सद्भाव सम्झँदामात्रै पनि गला अवरुद्ध हुन खोज्छ ।

त्यसैले म आफूप्रति सधैं सन्तुष्ट छु । किनभने मैलेजस्तै सबैलाई मान–सम्मान प्राप्त गर्ने अवसर मिल्दैन । मलाई मेरो सीप, क्षमता र दक्षताभन्दा बढी आदर, सद्भाव, माया र सम्मान प्रदान गर्दै सधैं हौसला र सल्लाह सुझाव दिइरहनु हुने सम्पूर्णलाई बाँचुन्जेल भुल्ने छैन ।

प्रतिक्रिया दिनुहोस्